बैशाख १४, २०८१, शुक्रबार
               

कर्णाली प्रकरणले पार्टी एकतामै गम्भीर असर पर्ने प्रचण्डको चेतावनी

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सरकारमा उत्पन्न समस्याले पार्टी एकतामा नै गम्भीर असर पर्ने चेतावनी प्रचण्डले दिएका छन् ।

सोमबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले पार्टी एकताको स्प्रिटबाहिर गएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको र सो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णालीमा प्रदेश सरकारमा जे भएको छ त्यो पार्टी एकता र स्थायी कमिटीका बैठकको भावना विपरित भएको भन्दै मुख्यमन्त्रीविरुद्ध भएको प्रस्ताव फिर्ता हुनुपर्ने धारणा राखेका थिए ।

दाहालले समस्या समाधानका लागि पहल थाल्न ओलीसँग आग्रह गरेका छन् ।

केन्द्रका नेताहरुकै निर्देशनअनुसार प्रदेशका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा पुगेको पूर्वमाओवादी पक्षको बुझाइ छ । छलफलमा यस विषयमा प्रचण्डले प्रस्ट रुपमा ओलीलाई जानकारी गराएका छन् । 

नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने निचोडमा भने पुग्न सकेका छैनन् । 

कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि प्रचण्डले बिहानै खुमलटारमा आफू निकटका नेताहरुसँग गोप्य छलफल गरेका थिए । 

शाही तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।  

कर्णालीमा पूर्व माओवादी पक्षका तीन र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

खुमलटारमा भएको छलफलमा नेताहरुले ओली र नेपालकै निर्देशनमा कर्णालीमा सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएको बताएका थिए ।

नेकपाका १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि तरंग ल्याएको छ । 

तत्काल कर्णालीको विवाद समाधान नभए नेकपाभित्र केही मत्थर हुन थालेको विवाद पुनः चर्किने सम्भावना देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि