बैशाख १३, २०८१, बिहीबार
               

देशभरका आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सकहरुको निर्णय

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल चिकित्सक संघले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । 

संघले एक विज्ञप्ति जारी गर्दै भोलि (आइतबार) देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । 

साथै संघले आइतबारसम्म पनि डा. केसीको सत्याग्रह अन्त्य नभए थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ । 

यसअघि संघले डा. केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । तर, केसीको माग हालसम्म पनि पूरा हुन नसकेपछि संघ फेरि आन्दोलित बनेको हो । 

‘वार्ता र सवादलाई तार्किक निष्कर्षमा पुर्याई डा. केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको व्यहोरा अवगत गराउँदै डा. केसीको जीवन रक्षाका निम्ति यस संघ बाध्यताबस मिति २०७७ आश्विन २२ गते बिहीबार वार्ता सकारात्मक रुपमा अगाडि बढेको हुनाले आश्विन २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ आश्विन २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ’, संघका महासचिव डा बद्री रिजालद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केसीको १९ औं आमरण अनशन आज (शनिबार) २७ औं दिनमा पुगेको छ । तर केसी पक्षका वार्ता टोली र सरकारी वार्ता टोलीबीच डा. केसीले उठाएका मागको सम्बन्धमा सहमति जुट्न सकेको छैन । डा. केसीले अनशन जारी राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि