बैशाख ०८, २०८१, शनिबार
               

प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको चिठी– ‘सुरक्षाकै कारण मलाई छोरी जन्माउन डर लागेको छ’

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री ऋचा शर्माले पीडितले न्याय नपाएको भन्दै प्रधानमन्त्रीलाई चिठ्ठी लेखेकी छन् । पछिल्लो समय बढ्दै गरेका बलात्कारका घटना र त्यसमा पीडितले न्याय नपाएको अवस्थाबाट भावनात्मक ठेस पुगेको भन्दै उनले प्रधानमन्त्रीलाई चिठी लेखेकी हुन् ।

चिठीमा उनले आफूलाई नारी भएकोमा आफूलाई लाज लाग्न थालेको र आफूलाई सन्तान जन्माउन पनि डर लाग्न थालेको बताएकी छन् । उनले चिठ्ठीमा आफ्नो छोरी भएमा असुरक्षित होलिन् र छोरा भएमा देशको कानुन नमानेर जे पनि गर्ला भन्ने डर रहेको बताएकी छन्,

उनको स्ट्याटस यस्तो छ,

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैँलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ ।

मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैँलाई लाज लाग्न थालेको छ ।

जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौँ झैँ लाग्छ । हामी टेक्नोलोजीमा चाहिँ विकसित भयौँ तर अफसोच ! सोचले अझै पिछडिएका छौँ ।

यहाँ बालिकाहरुलाई खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौँ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाई भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन रु म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदै छन् । बाँकी तपाईहरु बुझकी !

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा


कस्तो लाग्यो ?

यो पनि