चैत १६, २०८०, शुक्रबार
               

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, स्थानीयले जलाए चालकको घर

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

जाजरकोटमा हिजो (बुधबार) भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । 

आज (बिहीबार) जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिका जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका नरबहादुर बुढाको सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चालकको लापरबाही र मापदण्ड विपरीत सडक खनेका कारण जिप दुर्घटना भएको मृतकका आफन्त तथा स्थानीहरुहरुले आरोप लगाएका छन् । मृतकका आफन्तहरुले आफूहरुको माग पूरा नभएसम्म मृतकको शव उठाउन नदिने बताएका छन् । 

उनीहरुले दुर्घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उच्च स्तरीय छनबिन समिति गठन गर्नुपर्ने, मापदण्ड विपरित सडक खन्नेलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, चालकलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

स्थानीय जनप्रतिनिधिहरुले छलफलबाट सहमतिको प्रयास गरिरहेका छन् ।

यसैबीच, आक्रोशित मृतकका आफन्तले गाडी चालक गोर्खबहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन् । जुनीचाँदे–५ स्थित मटेलमा रहेको चालकको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसल जलाइदिएको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि