बैशाख १३, २०८१, बिहीबार
               

गरिबीमाथि लकडाउनको कारण सिंगो परिवार ओडारमा बस्न बाध्य

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

तनहुँ । गरिबीमाथि लकडाउनको कारण तनहुँको एक सिंगो परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् ।

लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उनिहरुले बताए । मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा गत बिहीबारदेखि बस्दै आएको छ । कोभिड–१९ को सङ्क्रमणले भएको पटक–पटकको बन्दले काम गर्न नपाएपछि समस्या परेको मनवीरले बताए । 

‘दैनिक ज्यालादारीमा भारी बोक्नेलगायत काम गरेर जीवनयापन गरेका थियौँ, तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ’, मनवीरकी श्रीमती उदाशियाले भनिन् । उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बसेका थिए । आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएको उनले आफ्नो पीडा व्यक्त गरिन् ।

चार जनाको परिवारमध्ये एक जना शारीरिक अपाङ्गतासमेत रहेकाले उनीहरुलाई बिहान बेलुकाको छाँक टार्न थप समस्या परेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आर्थिक विपन्नताले उदाशिया गुरुङका परिवार गुफामा आएर बस्न बाध्य भएका हुन् । 

स्थानीयवासीले दिएको अन्नको भरमा उनीहरुको जीवन चलिरहेको उदाशियाले बताइन् । ओडारमा बसेका परिवारलाई उद्धार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । ‘जङ्गली जीवन बिताउँदै आएको कुसुण्डा, राउटेले जङ्गल छाडिसके, तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाइलो लागिरहेको छ’, पुल्चोक निवासी डा. एचबी क्षेत्रीले भने, ‘उद्धारको लागि सरकारको विशेष ध्यान जान जरुरी छ ।’ 

गरिबीले गर्दा छोरीको पढाइ पनि अवरुद्ध भएको सोही ठाउँ निवासी राधा बस्न्यातले जानकारी दिए । उनले भने, ‘पूजा कक्षा ६ मा पढ्थिन्, उनीमा पढ्ने रहर थियो, तर कापी र कलम किन्ने पैसा नभएकाले पढाइ अधुरो भएको छ । शारीरिकरुपमा अशक्त भएकाले काम गर्न नसक्ने अवस्थामा छन् । गणेशको नागरिकता बनाएर अपाङ्गता परिचयपत्र दिलाउने प्रयास भइरहेको टोल विकास संस्थाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि