बैशाख १३, २०८१, बिहीबार
               

निरन्तर छलफलमा स्वास्थ्यमन्त्री, के फेरि हुन्छ लकडाउन ?

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । 

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका थिए ।

सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताए । 

नजिकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै उनले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिए । 

उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिए । 

छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो । उनहरूले कोभिड–१९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषयमा मन्त्रीसँग जिज्ञासा राखेका थिए । 

लकडाउनको सम्भावना ?

मन्त्री ढकालले स्वास्थ्यविज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवलाहरूसँग पनि नियमित रूपमा छलफल गरिरहेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस तीव्र रुपमा फैलन थालेसँगै 'पुनः लकडाउन गर्ने कि नगर्ने?' भन्ने विषयमा मन्त्रालयले छलफल गरिरहेको छ ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना नहुँदा उपत्यकामा पछिल्ला केही दिनयता दैनिक १५ सयभन्दा बढी संक्रमित थपिन थालेका छन् ।

उपत्यकामा दिनप्रतिदिन संक्रमित बढ्न थालेसँगै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले विभिन्न विकल्पमा छलफल गरिरहेको र त्यसमध्येको एक विकल्प लकडाउन रहेको मन्त्रालय स्रोतले बतायो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा उपत्यकामा कोरोना संक्रमण झनै बढ्ने र विभिन्न अस्पतालले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएमा स्थिति भयावय बन्नेमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।

कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन प्रभावकारी माध्यम भए पनि स्वास्थ्यमन्त्री ढकाल भने सकभर लकडाउन नगर्ने पक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।

लकडाउनका विषयमा सबै सरोकारवाला पक्ष तथा विज्ञहरुसँग छलफल गरेर मात्रै सरकारले आवश्यक निर्ण गर्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २३ हजार पाँच सयभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि