बैशाख १२, २०८१, बुधबार
               

छटपटाहट

चेतन पाण्डे
असोज १४, २०७७

ADVERTISEMENT

बाँच्नु पर्छ अनि पो जिन्दगीको आनन्द उठाउन पाइन्छ । जो मर्न चाहन्छन्, ती त काँतर हुन् । जिन्दगीमा जे व्यहोरिन्छ निर्धक्क सहन सक्नु पर्दो रहेछ । लुकाएर राख्दा जिन्दगीका कतिपय सम्झनाहरू मनको अँध्यारो कुना मै बिलाएरै जाँदा रहेछन् । तरपनि, ती सम्झनाहरू नै बेला मौका मनमा काउकुती लगाउन पर्याप्त बन्दो रहेछ । 

रमाइलो लाग्छ, कहिले काहीँ । हातमा रित्तिन लागेको पेग होस् अनि हृदयलाई तंरगित बनाउने सम्झना । अनि बजोस् कतैबाट कानसम्म ठोक्किन आइपुगोस् नारायण गोपाल र किशोर कुमारका रोमान्टिक गीत । अनि मस्तिष्कमा सङ्गीत नृत्य गर्न थालिहाल्छ । जीवनका हरेक पिडालाई निमेषभरका लागि भएपछि शरीरबाट ओझेल बनाइ दिन्छ । अनि सम्झनाका तरेलीले मनमा लगाउने काउकुतीको आनन्द पनि बेग्लै हुन्छ । अनि ओठमा अचानक तैरिन आउने गीतका लय पनि मिठा लाग्न थाल्दो रहेछन् । अनि ओठमा तैरिने मन्द मुस्कानको मूल्य कसैले पत्ता लगाउन सक्दैनन् पनि ।

अनि लाग्छ, कहिले काहीँ । फेरि एक पटक जन्मिन पाए हुने । फेरि एक पटक हुर्किन पाए हुने । ममीका माया र चड्कन फेरि मनमा सँगाल्न पाए हुने । बाबाका माया फेरि मनभरि अनुभूति गर्न पाए हुने । अनि आफ्ना प्रेमका कथाहरूलाई परिमार्जित गर्न पाए हुने । अनि त जीवन कै अर्कै संस्करण बनाउँथेँ । अनि आफू बाँचेको जीवनलाई आफ्नै ढाँचामा ढाल्थेँ ।

लाग्थ्यो, बाबु–आमा दुवै जागिरे भएपछि बालापन पनि विद्यालयको चौघेरा मै आउँदो रहेछ, जाँदो रहेछ । अझै सम्झना छ । पहिलो पटक बाल मन्दिरको बसमा चढेको । जिउ छाडेर जान्न भनेर रोएको । अनि त्यही बसमा रहेकी विद्यालयकी आया दिदीले फकाउँदै स्कुल लगेको । पढाउन त कमै पढाउँथे ।

गर्थेँ नि फेरि एक पटक बाबाको हात समातेर ताते ताते । बामे सर्दै आमाको काखमा लुट्पुटिन्थे पनि । बन्न नसकेकी प्रेमिकाका रेसमी केशलाई एक पटक भए पनि सहलाउथेँ । कुनै एकान्तमा मनका कुराहरू साटासाट गर्थेँ । पत्नीसँग बिताउन नपाएका कति अधुरा चाहनालाई पुरा गर्थेँ । अनि समय परिस्थितिका कारण हामी नमनाएको हनिमुन अब भने पक्कै मनाउँथेँ । वास्तवमा फेरि बाँच्थेँ जिन्दगी आफ्नै तालमा । आफ्नै पटकथामा ।

अनि फेरि विद्यालय जान्थे, पढ्न । बाल मन्दिरको त्यही पहेँलो सर्ट र निलो हाफ पाइन्ट लगाएर । जहाँ मैले सिकेको थिए, पहिलो पटक कखरा । अहिले जस्तो घर पिच्छे ‘प्ले स्कुल’ भइदिएका भए मैले पनि जानु पर्दैन थियो होला, बाल मन्दिरको शिशु स्याहार केन्द्रमा ।

लाग्थ्यो, बाबु–आमा दुवै जागिरे भएपछि बालापन पनि विद्यालयको चौघेरा मै आउँदो रहेछ, जाँदो रहेछ । अझै सम्झना छ । पहिलो पटक बाल मन्दिरको बसमा चढेको । जिउ छाडेर जान्न भनेर रोएको । अनि त्यही बसमा रहेकी विद्यालयकी आया दिदीले फकाउँदै स्कुल लगेको । पढाउन त कमै पढाउँथे । बाल मस्तिष्कले बुझ्न सक्ने विषय सीप सिकाउँथे । खाजा खान दिन्थे, अनि दिउँसै घर लगेर छाडिदिन्थे । तरपनि, साँच्चै उराठ लाग्थ्यो, त्यहाँ भित्रको वातावरण । सुकुलमा पलेँटी कसेर बस्दा आँखा सधैँ परिवार कै खोजीमा हुन्थे । तर, कहाँ भेटिन्थे र’ खै ? सधैँ टोलाउँथे मात्र आँखाहरू । 

फेरि फर्कन पाए, त्यो उमेरमा । जान्न थिएँ, बाल मन्दिरको शिशु स्याहार केन्द्रमा । टोलाउँदिन थिएँ, फेरि त्यसरी नै भित्ता हेरेर । जानै परेको भए पनि जिन्दगीका ती पट्यारलाग्दा दिनलाई पुनर्भाषित गर्ने थिएँ । भित्ता हेरेर टोलाउन छाडेर, केही नयाँ कुरा सिक्ने थिएँ ।

एक दिन ममीले त्यही शिशु स्याहार केन्द्रमा नै लिन आउने वाचा गरेर पठाइन् । मलाई के थाहा, त्यो वाचा झूटो थियो भन्ने । मलाई बसमा सजिलै चढाउने बहाना मात्र थियो भनेर । दिउँसो म बसमा चढिन । कसैले कर पनि गरेनन् । आँखा ममीको प्रतीक्षामा बस्न थाले । म ढोका समातेर उभिइरहेँ । केही बेर पाले दाइ मसँग कुरा गरेर बसे । केही बेरपछि त उनी पनि मलाई ममीको प्रतीक्षा गरिरहन अनि कतै नजान आदेश दिँदै घर पो गए । मानवीयता हराएका ।

घन्टौँ प्रतीक्षा गर्न त असह्य नै हुँदो रहेछ । त्यही थियो, जीवनमा कसैको पहिलो प्रतीक्षा । एक्लो र लामो प्रतीक्षाले आँखा पनि रसाइहाल्दा रहेछन् । दिन पनि बिस्तारै छिप्पिन थाल्यो । एक तमास शून्यताले मन नै बिथोल्न थाल्यो । म स्कुलको ढोका समातेर लगातार उभि नै रहेँ । लाग्यो, म कतै गएँ भने त कोही आएर पनि फर्किएलान् कि भन्ने डर । न पहिले झैँ स्कुलभित्रको सुरेली र पिङले नै आकर्षित गर्न सके । बरु कहिले हेर्थेँ आसाको नजरले, पर्खाल पारी रहेको सुस्त मनस्थितिका बालबालिका अध्ययन गर्ने स्कुलतिर । म एक्लै उभिरहेको त उनीहरूले पनि देखे होलान् । तर, मलाई सहानुभूति दिने र मलाई घर पुर्‍याइदिने क्षमता उनीहरूसँग पनि कहाँ थियो र’ । न उनीहरूका शिक्षकले नै मलाई ढाडस दिए । एकतमास शून्यताले मन विचलित भई नै रह्यो । 

जब उज्यालो अँध्यारोमा विलीन हुँदै थियो, त्यही बेला एउटा ट्याक्सी टाढाबाट हेडलाइट बाल्दै आयो । मेरो अनुमान सही साबित भयो, ममी नै रहेछिन् । देख्ने बित्तिकै घर्लप्प अँगालो मारिन् । म भक्कानिएर रुन थालेँ । दिनभरि आफन्तहरू कहाँ मलाई खोज्दै हिँडेकी रहेछिन् । अनि बल्ल अन्त्यमा स्कुलमा आएकी रहेछिन् । आफूले बिहान गरेको बाचा भुलिसकेकी पो रहेछिन् । मैले सम्झाएपछि पो झसङ्ग भइन् । 

फेरि फर्कन पाए मेट्ने थिएँ, आङ नै जिरिङ बनाउने त्यो प्रतीक्षाको घडीलाई । बरु कहानीलाई नयाँ मोड दिन्थेँ । दिउँसै ममी लिन आएको पटकथा लेख्थेँ । तरपनि बाँकी नै राख्थेँ, आमाको त्यो हृदयदेखि निस्किएको ममतालाई । अनि बचाएर राख्थेँ, मेरा आँखाबाट डाको छाडेर बगेका आँसुलाई पनि । तर, कायम नै राख्थेँ मेरो ढिपी कस्ने बानीलाई । जसले आज पनि मलाई शिर झुकाउन होइन आँखा जुधाउन सिकाएको छ ।

०००

मलाई बाबाको कार्यालयमा दिन बिताउन पनि साह्रै रहर लाग्थ्यो । जब फुर्सद हुन्थ्यो, बाबाको हात समातेर सँगै अफिस जाने ढिपी कसी हाल्थेँ । नाइँ भन्न सक्दैन थिए, लिएरै जान्थे । स्कुल छुट्टी हुँदा ताका । यति गइन्थ्यो कि नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालय बालुवाटारका गार्डदेखि गभर्नर सबैले चिन्थे, मलाई । मेरा बाबाको अधिकांश जागिरे जीवन गभर्नर कार्यालय वा गभर्नरसँग निकै नजिक हुनुपर्ने काम मै बित्यो । त्यसमाथि उनी राष्ट्र बैङ्कका पहिलो र अवकाश नपाएसम्म प्रवक्ता कै भूमिकामा रहे । जहिलेसम्म उनले अवकाश पाएनन् तबसम्म अर्को व्यक्ति नेपालको केन्द्रीय बैङ्कको प्रवक्ता बन्न पाएनन् । 

लाग्थ्यो, राष्ट्र बैङ्कको भित्ता–भित्ता पनि मसँग परिचित थिए । पुराना माटो र चुनमा ढुसी आएका गन्ध पनि साह्रै वासनादार लाग्थे । त्योभन्दा वासनादार लाग्थे त्यही बैङ्कको क्यान्टिनमा पाक्ने खाजा । खासमा राष्ट्र बैङ्कमा खान पाइने मिठो खाजाले पनि मलाई त्यहाँ आकर्षित गरेको हुनुपर्छ । 

एक दिन दिउँसो ममी मलाई लिएर केही काम विशेषले बाबाको अफिस गइन् । खाजा खाने समय पनि भइसकेको थिएन । ममीको काम केही बेर मै सकियो, मलाई पनि लिएर फर्कन खोजिन् । मैले साँझ बाबासँगै फर्कने ढिपी कसेँ । त्यस बेला राष्ट्र बैङ्कको मूल गेट अगाडिबाटै मिनी बस चल्थे । बाबाले ढाँट्न खोजे मलाई । ममीलाई बस चढाएर फर्कने आश्वासन दिँदै मलाई पनि बसमा चढाए । म पनि के कम गुड्न सुरु गरेकै बसबाट हाम फालिदिएँ । बाबाको केही लागेन, मेरो ढिपी अगाडि । अफिस लगे, खाजा खुवाए । सँगै घर ल्याए । गाली गरेनन्, बरु हाँसे मात्र साँझ एक पेग लगाएपछि मेरो ढिपी सम्झिएर ।

जब एक पेग रित्याइन्छ । अनि पो आउँछ, उसको याद । मनको त्यही कुनाबाट निकालेर घुम्टो ओढाइ दिऊँ झैँ लाग्छ । मायाले उनको निधारमा चुमूँ झैँ लाग्छ । अनि लाग्छ, भगवानले उनको मनको कुनै कुनामा मलाई पनि बास दिएकै हुनुपर्छ । नत्र आजसम्म उनको यादले किन सताउँछ ? उनको आँखाको त्यो चञ्चलताले अहिले पनि मनलाई किन तड्पाउँछ ?

आज लाग्छ, फेरि एक पटक बालापनमा फर्कन पाए । बाबासँग गरेका ढिपीलाई यथावत् राख्थेँ । नत्र मेरा जिन्दगीमा बिम्ब नै के पो बन्थ्यो र’ ।

०००

जिन्दगीमा दोहोरो प्रेम त खासै भएनन् । जति भए, वियोगान्त कथा मै टुङ्गिए । एकोहोरो माया भने निकै गाँसियो । अधिकांश मुटुका कथा झैँ । मेरो कथा पनि फरक लेखिएन ।

माया भन्ने पनि अजिब कै हुँदो रहेछ । मन कलिलै भए पनि । गुलाफको कोपिला झैँ फक्रने क्रममा रहे पनि । कसै न कसैसँग आकर्षित भइहाल्ने । चाहे त्यो चलचित्रकी नायिका हुन् वा आफ्नै कक्षाकी सहपाठी । म पनि आकर्षित नहुने कुरै थिएन । फूलमा भँवरा झैँ ।  आखिर मेरो मुटु पनि सबैको झैँ साढे दुई सय÷तीन सय ग्राम मासु कै टुक्राले नै बनेको नै हो । अनि आँखाले बोल्ने भाका पनि अरूको भन्दा के न फरक हुन्थ्यो र’ । मन नै चञ्चल भइदिएपछि ।

मेरो पहिलो प्रेमकी नायिका । मेरो एकतर्फी प्रेमकी नायिका । शायद उनलाई पत्तै भएन होला म उनको पहिलो प्रेमी हुँ भन्ने । आकर्षित त धेरैसँग भइयो होला । तर, स्कुले जीवनभर उनी बाहेक कसैलाई माया गर्न सकिएन । अहिले पनि मनको कुनै कुनामा उनले बास गरेकी नै छन् । जुन दिन बुढीसँग ठाकठुक पर्छ । जब एक पेग रित्याइन्छ । अनि पो आउँछ, उसको याद । मनको त्यही कुनाबाट निकालेर घुम्टो ओढाइ दिऊँ झैँ लाग्छ । मायाले उनको निधारमा चुमूँ झैँ लाग्छ । अनि लाग्छ, भगवानले उनको मनको कुनै कुनामा मलाई पनि बास दिएकै हुनुपर्छ । नत्र आजसम्म उनको यादले किन सताउँछ ? उनको आँखाको त्यो चञ्चलताले अहिले पनि मनलाई किन तड्पाउँछ ?

मेट्दिन थिएँ, ती यादहरू । जिन्दगीलाई रिबाइन्ड गर्न पाए पनि । बरु मेटाइदिन्छु, ती सम्बन्ध र यादहरू जसको निकटताले आँखामा आँसु र मनमा काँडा मात्र रोपिए । जसको हेराइबाट प्रेमको पहिलो पाठ सिकियो । कसरी भुलाउन सक्छु र’ त्यो नयनलाई । त्यो मायालाई । त्यो चञ्चलतालाई । जसको यादले हरेक साँझ मेरा मनलाई विचलित बनाउथेँ । भत्काउँदिन थिएँ, मेरो मनको ढिपी कस्ने बानीलाई पनि ।

०००

कति सम्झना त चाहेर पनि मन कै अन्तर कुन्तरमा लुकाउनु पर्ने रहेछन् । मैले पनि लुकाएकै छु । बोटबाट चुँडिएर जाँदा फूलले समेत सुवास साथ लिएर जान्छ । तर, सम्झना त विचित्र कै हुँदो रहेछ । छुट्टिएर जाँदा पनि सुवास छाडेरै जाने । मनलाई तड्पिने बहाना दिएर जाने । 

अस्तु ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि