बैशाख १३, २०८१, बिहीबार
               

बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

बागलुङ । बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् ।

कोरोना भाइरस संक्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेकामध्ये दुई जनाले बीमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जना लिने प्रक्रियामा रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार बागलुङमा हालसम्म ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीमा गरेका दुई जनाले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमाबापत एक लाख रकम भुक्तानी लिनुभएको छ भने बागलुङ काठेखोलाको क्वारेन्टाइन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बीमाबापतको रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको उनले बताए ।

 बीमा समितिले निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीसँग समन्वय गर्दै २० वटा निर्जीवन बीमा कम्पनीलाई कोरोना बीमा गर्ने अनुमति प्रदान गरेको थियो । तीमध्ये बागलुङमा १३ वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको काम गरिरहेका छन् । निर्जीवन बीमा कम्पनीहरूले बिक्री गरिरहेको बीमा पोलिसी बागलुङमा एक लाख र ५० हजारको छुट्टाछुट्टै रकमको बीमा तोकेका छन् । एक लाखको बीमाका लागि प्रतिव्यक्तिले रु एक हजार प्रिमियम (बीमा शुल्क) तिर्नुपर्छ । सामूहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति ६०० तिरे पुग्छ । त्यस्तै ५० हजार बीमांकको बीमांलेखका लागि प्रतिव्यक्ति ५०० र सामूहिक रुपमा प्रतिव्यक्ति ३०० मा बीमा गर्न सकिन्छ । यी दुवै बीमालेख गर्दा सरकारले ५० प्रतिशत अनुदान दिन्छ ।

बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि पीसिआर परीक्षणबाट कोरोना भाइरस संक्रमण भएको पुष्टि भएमा बीमालेख बमोजिमका कम्पनीहरूले दावी भुक्तानी गर्ने छन् ।


कस्तो लाग्यो ?

यो पनि