चैत १६, २०८०, शुक्रबार
               

रेमिट्यान्स २३ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

चालु आर्थिक वर्षको पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ । सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो । बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९ प्रतिशतले घटेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले मात्रै बढेको थियो ।


कस्तो लाग्यो ?

यो पनि