चैत १५, २०८०, बिहीबार
               

कोरोना उपचार निःशुल्क भएपछि परिवारलाई राहत

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिका–५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल भए । लामो अस्पतालको बसाइपछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम चार लाख रुपैयाँभन्दा माथि भयो । चितवन मेडिकल कलेजबाट बुवाको डिस्चार्ज गर्दैगर्दा तिर्नुपर्ने रकम देखेर भट्टराई झसङ्ग भए ।

उनले अस्पतालमा राखेको धरौटी ३३ हजारबाहेक बिल चार लाख दुई हजार ४० रुपैयाँ थियो । उनलाई अस्पतालमा भर्नापछि छातीमा सङ्क्रमण देखिएपछि सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेरसमेत उपचार गरिएको तर, रकमको जोहो गर्न नपाउँदै उनलाई थाहा भयो ।

चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितका लागि निःशुल्क उपचार गर्दै आएको छ । भट्टराईले बुवालाई खाना नरुचेर कमजोर भएपछि भदौ ११ गते चितवन मेडिकल कलेज लगेका हुन् । त्यसको भोलिपल्ट उनमा कोरोना सङ्क्रमण देखिएको थियो ।

भट्टराईले भने, ‘मेडिकल कलेजले सङ्क्रमितको उपचार निःशुल्क गरेकै कारण मजस्ता धेरैले उपचार खर्च जुटाउनु परेन ।’ वृद्ध बुवाले कोरोना जितेको र निःशुल्क उपचार पाएकामा उनले खुशी प्रकट गरे । सो मेडिकल कलेज कोरोना उपचार र परीक्षणमा अग्रणी स्थानमा रहेको छ । अस्पतालले हालसम्म २२९ सङ्क्रमितको उपचार गरेको छ । जसमध्ये अस्पतालमा ७२ जना उपचाररत रहेका छन् । 

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले सरकारले गरेको निर्देशन अनुरुप कोरोना सङ्क्रमितको उपचार सम्बन्धित बिरामीको परिवारलाई निःशुल्क गरिएको बताए ।

कोरोना सङ्क्रमित बढ्दै गएका कारण अस्पतालको स्रोत साधन उनीहरुको उपचारमा लगाइएको उनको भनाइ छ । कतिपय बिरामीले अन्य समस्या पनि कोरोना सङ्क्रमण देखिएपछि निःशुल्क गर्न दबाब दिएको भन्दै उनले त्यो सम्भव नरहेको बताए । जिल्लामा सो मेडिकल कलेजसहित कोरोनाको उपचार भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालले गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि