बैशाख १३, २०८१, बिहीबार
               

पहिरोमा ज्यान गुमाएका एकै परिवार ९ जनाको सामूहिक दाहसंस्कार

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका ९ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

९ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित संघ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवार भित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।

‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह्रौँ प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ’, अध्यक्ष रनपालले भने ।

एकै परिवारका ९ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए । दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका ९ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि