कात्तिक ०७, २०७७, शुक्रबार
               

'प्रधानमन्त्रीमा सबैभन्दा जान्ने मै हुँ भन्ने गलत चिन्तन हुनु दुर्भाग्यपूर्ण'
'कांग्रेसमा अब गतिशील नेतृत्व चाहिन्छ'

नेपाल फ्ल्यास
असोज ०२, २०७७

नेपाली कांग्रेसभित्र वैचारिक र तार्किक नेताको रूपमा चिनिन्छन् नेता डा. मिनेन्द्र रिजाल । लामो समयदेखि राजनीतिमा होमिए पनि उनी प्रत्यक्ष निर्वाचनमार्फत मतदाताको तराजु जोखिन पाएका थिएनन् । २०७४ सालको संसदीय निर्वाचनमा पहिलोपटक उनी प्रत्यक्ष निर्वाचनमा होमिए । मोरङको पूर्वीदक्षिण भागमा पर्ने कुनैबेला गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उनी उम्मेदवार बने । देशभर कांग्रेसले पराजय भोगिरहँदा मोरङ-२ बाट उनले बाजी मारे । अघिल्लोपटक कम्युनिस्टले जितेको क्षेत्रमा कांग्रेसलाई पुनर्स्थापित गराए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएसँगै उनले ग्रासलेबलमा सम्पर्क र सम्बन्ध नभएको नेता भन्ने आरोपबाट मुक्तिमात्र पाएनन्, संसदमा पनि 'भोकल' केही नेताहरूमध्येमा आफूलाई स्थापित गराएका छन् । यतिबेला नेपाली कांग्रेस महाधिवेशनको तयारीमा छ । कांग्रेस राजनीतिक गुटबन्दी चुलिएको अवस्थामा छ । मुलुक भने कोरोना महामारीबाट ग्रस्त छ । यतिबेला सरकारको कारबाहीबारे पटकपटक प्रश्न उठ्ने गरेका छन् । बेथिति र अनियमितता बढेको आरोप लागिरहेको छ । प्रमुख प्रतिपक्षी दलको भूमिका प्रभावकारी नबनेको आरोप पनि लाग्ने गरेको छ । यही मेसोमा कांग्रेस महाधिवेशन र सरकारको कामकारबाहीबारे सांसद एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग नेपाल फ्ल्यासका अर्जुन खड्काले गरेको वार्ताको सम्पादित अंश :

नेपाली कांग्रेस इतिहासकै कमजोर भूमिकामा देखिएको छ । यति नै बेला महाधिवेशनको चटारोमा होमिँदै हुनुहुन्छ । कस्तो तयारी भइरहेको छ ?

पहिलो त कांग्रेस जीवनकै कमजोर अवस्थामा होइन । कांग्रेसले जनमत गुमाएको छैन । मतको आधारमा कांग्रेस बलियो अवस्थामै छ । पहिलो संविधानसभा निर्वाचनको तुलना गर्ने हो भने हामी जनमतमाझ निकै माथि छौँ । गएको संसदीय निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ लगभग ३६ प्रतिशत मत प्राप्त गर्‍यो । मतदाताले कांग्रेसलाई विश्वास गरेकै छन् । गएको उपनिर्वाचनमा कांग्रेसको मत थपियो । संसदीय निर्वाचनमा कांग्रेस र कम्युनिस्टबीच १० प्रतिशतभन्दा बढीको मतान्तर थियो । त्यो दुई प्रतिशतभन्दा कममा झरेको छ । कांग्रेसले उपनिर्वाचनमा ४१ प्रतिशतभन्दा बढी मत पायो । यो कांग्रेसले अहिलेसम्म पाएको सबैभन्दा बढी मत हो । तीनै तहको उपनिर्वाचन पनि एउटा जनमतको संकेत हो । किनकि यसमा हिमाल,पहाड र तराईमा निर्वाचन भई सिंगो देशकै प्रतिनिधित्व भएको थियो ।त्यसैगरी, सो उपनिर्वाचनमा ग्रामीण र सहरी दुवै भूभाग परेको थियो । मधेसी, पहाडी, आदिवासी-जनजाति सबैखालको र्‍यानन्डमजस्तो थियो उपनिर्वाचन ।
तर, पनि तपाईँले भनेजस्तो कांग्रेसबाट जे जति अपेक्षा आममानिसले गरेका थिए, त्यो भने पूरा नभएको गुनासो छ । अगाध विश्वास र माया कांग्रेसप्रति छ । कांग्रेस र कांग्रेसी नेता अझ गतिशील हुन्, राष्ट्रिय मुद्दामा मुखरित गर्न सकून् र जनताका समस्या समाधानका सारथि बनून् भन्ने चाहना जनतामा देखिएको छ । त्यो चाहनालाई पूरा गर्न हामीले सकेका छैनौँ ।

जनताको अझै विश्वास र भरोसाको पार्टी बन्ने र बनाउने क्रममा हामी जुटेका छौँ । आसन्न १४औँ महाधिवेशन त्यसैका लागि हुनेछ । कोरोना महामारीका कारण हामी केही प्रभावित हुन पुगेका छौँ । तर, कोभिड १९ को जोखिम कम भएका ठाउँमा महाधिवेशनका गतिविधि बढाउँदै लग्नेछौँ । सबै वडा, पालिका र निर्वाचन क्षेत्र तथा जिल्ला हुँदै हामी संगठनलाई अझ गतिशील बनाएर अघि बढ्ने छौँ ।

म सभापतिजीलाई यति भन्न चाहन्छु:- गुट उपगुटहरूले पार्टीलाई प्यारालाइज्ड गर्छन् । ध्रुवीकृत गतिविधिको अन्त्य गर्ने पहिलो र प्रमुख जिम्मेवारी सभापतिजीको हो ।

यो महाधिवेशन कांग्रेसको जीवनमा कति महत्त्व छ ?

जनताले कांग्रेसलाई भरोसाको दल ठानिरहेका छन् । कम्युनिस्ट सरकारको कार्यशैलीबाट जनता दिक्क भइसकेका छन् । बेथिति चुलिएको छ । महामारीका कारण जनता समस्यामा पर्दा पनि ठोस राहत प्याकेज आउन सकेको छैन । यसभित्र पनि कमिसनका खेल पर्दाफास भएका छन् । राज्य प्रशासन र संयन्त्रहरूलाई केन्द्रीकृत गर्ने काम भइरहेको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने चेष्टा भएको छ । प्रेसमाथि नियन्त्रणको प्रयास भएको छ । ठुला मिडियामा आफ्नो पक्षमा नआउने सम्पादकीय नेतृत्व परिवर्तनसम्ममा सरकारले दबाब दिएको खुल्न थालेको छ । यस्तो बेलामा कांग्रेसको आसन्न महाधिवेशन मुलुक, लोकतन्त्र र कांग्रेसको आन्तरिक जीवनका लागि महत्त्वपूर्ण रहेको छ ।

कांग्रेसको अबको बाटो के हुन्छ ?

पहिलो त हामी आफ्नै दलको संगठन र व्यवस्थापन मजबुत बनाउने छौँ । कांग्रेसभित्र जहाँजहाँ समायोजनको काम सकिएको छैन, त्यहाँ समायोजन छिटो होस् भन्नेमा छौँ । पार्टीको माथिल्लो तहका पदाधिकारीहरूको बढी प्रभाव भएका जिल्ला छन्, त्यहाँ बढी अलमलिएको अवस्था छ । समायोजन वैध तरिकाले गर्दा बेफाइदाको चिन्ता पनि होला । अर्कोतर्फ अब हामी प्रतिपक्षीको भूमिका अझ सशक्त ढंगले निर्वाह गर्नेछौँ । जनताका मुद्दालाई उठाउनेछौँ । सरकारले गरेका अनियमितता र भ्रष्टाचारलाई जनतासामु पुर्‍याउनेछौँ ।

कोभिड १९ को महामारीमा पार्टी गतिविधि गर्न सहज अवस्था त छैन नि ?

हो । कतिपय कामकारबाही कोभिडका कारण प्रभावित भएका छन् । तर, कतिपय वडा, गाउँ-नगर, क्षेत्र तथा जिल्लामा अनुकूल स्थिति पनि छ । समायोजनका काम छिटो पूरा गर्नुपर्छ । क्रियाशील सदस्यता नवीकण रोकिएका ठाउँमा त्यो काम सुरु गर्नुपर्छ । कांग्रेसको काम कोभिडबाहेक अरू कुनै किसिमले प्रभावित हुनुहुँदैन ।

महाधिवेशन जति आउँदै छ, ध्रुवीकरण पनि बढ्दो छ नि ?

अहिले विश्वमै ध्रुवीकृत राजनीति देखिएको छ । हाम्रो पनि चुनावमा पराजयपछि ध्रुवीकरण बढ्यो । हाम्रा सभापतिजीले जुन खालको नेतृत्व दिनुपर्ने थियो, त्यो दिन सक्नुभएन । चुनावमा दुई कम्युनिस्ट पार्टी मिलेपछि त्यसै पनि हाम्रो अवस्था खराब थियो । परिणाम अपेक्षाभन्दा पनि खराब आयो ।

हामीले नारा त 'सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस' भनेर बनायौँ । तर, कांग्रेसमै सबै आपसमा नजोडिएको अवस्था छ । कांग्रेसलाई ससाना गुटको कोठामा सीमित बनायौँ । यो परिस्थिति अन्त्य गर्नुपर्छ । कांग्रेसभित्र विश्वासको वातावरण बनाउनुपर्छ । सबै अट्ने देश भन्ने, तर सबै नअट्ने कांग्रेस नबनाउने भएपछि समस्या त आउँछ नि ! अब झन् कोभिडको जोखिमले महाधिवेशन समयलाई असर पर्ने परिस्थिति देखा पर्दै गएको छ । यसबाट झन्झन् ध्रुवीकरण बढ्ने खतरा देखिएको छ । म सभापतिजीलाई यति भन्न चाहन्छु- गुट उपगुटहरूले पार्टीलाई प्यारालाइज्ड गर्छन् । ध्रुवीकृत गतिविधिको अन्त्य गर्ने पहिलो र प्रमुख जिम्मेवारी सभापतिजीको हो ।

यस्तो अवस्थामा कांग्रेसले कसरी फड्को मार्छ त ?

कांग्रेसका लागि गतिशीलता र उत्साह भनेको महाधिवेशन नै हो । हाम्रो पार्टीमा अझ बढी ऊर्जा कसरी प्रवाहित गर्ने भन्नेमा म छु । १४औँ महाधिवेशनले त्यो ऊर्जा ल्याउनेछ । यो कामलाई पार्टीको नीति र कार्यक्रमको बहसले मद्दत पुर्‍याउँछ । निर्वाचनमा जित र हार पनि हुन्छ । जित्नेभन्दा हार्ने मानिस बढी होलान् । तर, पनि एउटा जीवन्तता आउँछ । पद्धति बस्छ । ६ हजार ७४३ वडामा क्रियाशीलता आउँछ । ७५३ गाउँपालिका-नगरपालिकामा पार्टीले गतिशिलता लिनेछ । ३३० प्रदेश निर्वाचन क्षेत्रमा छलफल हुन्छ । १६५ निर्वाचन क्षेत्रमा बहस हुन्छ । ७७ जिल्ला र सातवटै प्रदेशमा भएको बहसले पार्टीलाई महत्त्वपूर्ण सुझाव र मार्गनिर्देशन प्राप्त हुनेछ । त्यहाँ प्रतिस्पर्धा पनि हुन्छ । बहस पनि हुन्छ । त्यसैले १४औँ महाधिवेशनले हामीमा नयाँ उत्साह र ऊर्जा ल्याउनेछ । यस क्रममा पार्टीको नीति र कार्यक्रमबारे बहस हुन्छ । केन्द्रमा पनि आफ्नै अग्रसरता र नेतृत्वमा ल्याएको संविधान जोगाउने बहस हुनेछ । लोकतन्त्र र यसका आधार स्तम्भलाई दिगो बनाउनेबारे छलफल हुनेछ । सरकारका गलत कामहरूविरुद्ध आवाज उठ्नेछ । कांग्रेसमा देशलाई कसरी नेतृत्व दिने भनेर बहस हुन्छ । यसबाट कांग्रेसलाई पुनर्उत्थान गर्न निकै ठुलो टेवा पुग्नेछ । हो चुनावमा कोही जित्ला र कोही हार्ला । तर, यो नीतिमाथिको बहस र नेतृत्वका लागि हुने प्रतिस्पर्धाले कांग्रेस फेरि टाकुरामा पुग्ने निश्चित छ ।

कतिपय दलमा त महाधिवेशनको परिणामसँग तिक्तता बढ्ने गरेको देखिन्छ नि ?

कांग्रेसमा त्यस्तो परिस्थिति आउँदैन भन्नेमा म विश्वस्त छु । महाधिवेशन स्वतन्त्र निष्पक्ष र धाँधलीरहित होस् । वडादेखि केन्द्रसम्म कहीँ पनि औँला ठड्याउने परिस्थिति नबनोस् । विश्वासको वातावरण बनोस् । यति गर्न सकेमा समस्या आउँदैन । चुनाव कसले जित्छ र कसले हार्छ भन्ने प्रमुख विषय कदापि होइन । भरोसा गर्नलायक कांग्रेस बन्छ कि बन्दैन भन्ने मुद्दा प्रमुख हो । उपलब्धि संस्थागत गरेर लोकतन्त्र बलियो बनाउने सवाल मुख्य हो ।

एकथरी मानिसहरू आगामी महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउनुपर्छ भन्दै छन् । माहौल त्यसतर्फ जान लागेको हो ?

कांग्रेसमा धेरै नेता छन् । प्रतिस्पर्धालाई रोकेर नेतृत्व चयन हुन्छ भन्ने मलाई विश्वास लाग्दैन । हाम्रोजस्तो लोकतान्त्रिक दलमा आन्तरिक प्रतिस्पर्धा हुँदैन भनेर म ठान्दिनँ । धेरैभन्दा धेरै नेताबीच प्रतिस्पर्धा भएकै राम्रो । सभापतिका लागि ५० प्रतिशत प्लस एक भोट चाहिन्छ । पहिलो चरणमा नभए दोस्रो चरणमा शीर्ष दुईमध्ये प्रतिस्पर्धा होला । प्रतिस्पर्धा हुन्छ र हुनुपर्छ ।

विमलेन्द्रजीको उम्मेदवारीले पार्टीको १४औँ महाधिवेशनको नेतृत्व छनोटमा गुणात्मक परिवर्तन आउँछ भन्ने मलाई विश्वास छ । त्यस्तो परिवर्तन कांग्रेसको हितमा हुनेछ ।

त्यसो भए तपाईं सहमति नेतृत्वको विपक्षमा ?

मलाई सहमतिमा नेतृत्व आउँछ भन्ने विश्वास छैन । अहिलेको कांग्रेसमा त्यस्तो हुन सक्दैन । हुनुहुँदैन पनि ।

तपाईंले भनेको गतिशील नेतृत्व को हो त ?

कांग्रेसमा धेरै साथी छन् नि ! कांग्रेसका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलहरूले सबैभन्दा बढी योगदान गर्नुभएको छ । उहाँहरूभन्दा ४० वर्षभन्दा कम उमेरका साथीहरु पनि नेतृत्व तहमा पुगिसकेका छन् । उनीहरूलाई पनि पार्टीको मुख्य नेतृत्वमा पुग्न सक्छु र नेतृत्व दिन सक्छु भन्ने आत्मविश्वास छ । त्यसैले कृत्रिम रूपमा सहमति निर्माण र स्वार्थ व्यवस्थापन गर्नेभन्दा सहज प्रतिस्पर्धाबाट कांग्रेसमा गतिशील नेतृत्व आउँछ ।

गतिशील नेतृत्व भनेर धेरैपटक भन्नुभयो । कांग्रेसमा धेरै सभापति भए । धेरै नेता बने । सबै बिपी कोइराला हुन सक्छन् र ?

सक्दैनन् । तर, अहिले जनताको आशा र भरोसालाई हामीले मर्न दिनुहुँदैन । विश्वासलाई कायम राख्न सक्नुपर्छ । त्यसैले जनताको मन जित्नसक्ने गतिशील नेतृत्व चाहिएको हो । आशा र भरोसा टुट्न नदिने नेतृत्व चाहिएको हो ।

नेता विमलेन्द्र निधिले पनि नेतृत्वमा दाबी गर्नुभएको छ । उहाँको पक्षमा तपाईंले खुलेर लेख्नुभयो । के कांग्रेसभित्र समीकरण फेरिन लागेको हो ?

मैले उहाँलाई व्यक्तिगत रूपमा समर्थन गरेको होइन । उहाँ शेरबहादुरजीकै समूहको नेता हो । म अर्कै समूहमा छु । तर, उहाँले नेतृत्वमा जुन दाबी गर्नुभयो, मैले त्यसलाई सकारात्मक रूपमा लिएको हो । उहाँको उम्मेदवारीले पार्टीको १४औँ महाधिवेशनको नेतृत्व छनोटमा गुणात्मक परिवर्तन आउँछ भन्ने मलाई विश्वास छ । त्यस्तो परिवर्तन कांग्रेसको हितमा हुनेछ । त्यसैले मैले उहाँको उम्मेदवारी र त्यसबाट उत्पन्न हुने प्रभाव र प्रतिक्रियाको समर्थन गरेको हुँ ।

इतिहास हेर्दा त धेरै जनाबीच प्रतिस्पर्धा त कांग्रेसलाई झनै बोझिलो हुन सक्छ नि ! अघिल्लो महाधिवेशनमा कृष्णप्रसाद सिटौलाजी उठ्नुभयो । उहाँको छुट्टै गुट बन्यो । यसबीचमा उहाँलाई हरेक तह र निकायमा भाग छुट्याउनुपर्‍यो । पार्टी सञ्चालन झन् झन्झटिलो भयो नि ?

त्यस्तो होइन । महाधिवेशनमा धेरै नेता मैदानमा आए भने अहिले भएका गुटहरु विघटन हुनेछन् । गुट तथा कोटरी-कोटरीको कांग्रेस नबनेर सबल, सग्लो र अग्लो कांग्रेस बन्ने अवस्था आउँछ ।

मुलुकलाई शान्तिको मार्गमा डोहोर्‍याउने र देशमा युगीन परिवर्तन गराउने कामको नेतृत्व लिएको कांग्रेस किन २०६२/६३ सालको परिवर्तनपछि कमजोर हुन पुग्यो ?

जनताको सबैभन्दा भरोसाको दल नेपाली कांग्रेस नै हो । मैले पहिले पनि भनिसकेँ । हामीले विश्वासको वातावरण बनाउँदै जानुपर्छ । कसले जित्यो वा हार्‍यो भन्ने मुख्य कुरा होइन । लोकतन्त्रको जित हुनुपर्छ । हो, अहिले सरकारको कामकारबाहीले संविधानप्रति पनि प्रश्न उठेको छ । तर, यत्रो परिवर्तनको नेतृत्व गरेको कांग्रेस हार्दैन । कांग्रेसले जित्नुपर्छ । जनताको जित हुनुपर्छ । त्यसपछि कांग्रेस बलियो र विश्वासिलो बन्नेछ ।

अख्तियारका प्रमुख आयुक्त (नवीनकुमार घिमिरे) ले भर्खरै अवकाश पाउनुभएको छ । उहाँले आफ्नो करिअरमा एक सक्षम र इमानदार व्यक्तिको छवि बनाउनुभएको थियो । उहाँसँग मेरो व्यक्तिगत रूपमा पनि असल सम्बन्ध रहेको छ । उहाँबाट धेरैले सकारात्मक परिणामको आशा गरेका थिए । किन हो कुन्नि उहाँबाट त्यसअनुसारका काम भएनन् । कारबाहीको सट्टा ठुलठुला काण्डका फाइल थन्काउने (तामेलीमा राख्ने) काम भएको छ । कोरोना महामारीमा भएका अनियमितता र बेथितिमा पनि कारबाही हुन सकेन ।

सत्तासीन दल नेकपा पनि विवादमा छ । कांग्रेसमा पनि असंगति, द्वन्द्व र बेमेलमा छ । अब नयाँ शक्तिको उदय हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

सरकारका काम तथा निर्णयहरूले केही पुराना शक्तिलाई मलजल नमिलेको होइन । केहीले नयाँ शक्तिको रूपमा उदाउने कसरत गरेकै हुन् । तर, पछिल्लो उपनिर्वाचनको परिणामबाट मतदाताले कांग्रेस र कम्युनिस्टलाई नै एक-अर्काको विकल्पको रूपमा लिएको प्रस्ट देखिन्छ । त्यसैले नयाँ शक्ति आउलान् वा पुराना विस्थापित होलान् भन्ने मलाई लाग्दैन । त्यस्तो आधार मैले देखेको छैन ।

नीति सही भए पनि नेतृत्व गलत भयो भने गन्तव्यमा पुग्न कठिन हुन्छ नि । कांग्रेसलाई अब कस्तो नेतृत्व चाहिन्छ ?

कांग्रेसमा सभापति हुन सक्ने नेता एकसेएक छन् । नामै लियो भने एक दर्जनभन्दा बढी त तपाईं नै भन्न सक्नु होला । त्यो महत्त्वपूर्ण होइन । नयाँ नेतृत्वले गतिशील ढंगले पार्टी चलाउनुपर्छ । जनतामा आशा, भरोसा र विश्वास जगाउनुपर्छ । महाधिवेशनकै मैदानमा जाऔँ, कार्यकर्ताले जसलाई मन पराउँछन्, उनै निर्वाचित भएर आउने हो । कांग्रेसमा ४० वर्षभन्दा बढी उमेर अन्तरका व्यक्ति नेतृत्वमा छन् । नेतृत्वका लागि चिन्ता गर्नुपर्ने अवस्था छैन ।

कांग्रेस अहिलेको नेतृत्वबाट अगाडि बढ्ने क्षमता राख्छ ?

मेरो विचारमा अब नयाँ  नेतृत्व आउनुपर्छ । आमजनताले भरोसा गर्नसक्ने खालको आउनुपर्छ । पार्टीले अहिले ज्येष्ठ राजनीतिज्ञसभाको व्यवस्था गरेको छ । त्यसमा ६५ वर्ष उमेर पुगेका र पार्टीको कुनै पनि सक्रिय जिम्मेवारीमा नरहेका, तर पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिनसक्ने व्यक्ति रहने व्यवस्था छ । त्यसैले ६५ वर्ष उमेर पुगेकाहरूले अब म कांग्रेसको क्रियाशील नेतृत्वमा रहने वा ज्येष्ठ राजनीतिज्ञसभामा जाने प्रश्न आफूले आफैँलाई गर्नुपर्छ । आफैँ क्रियाशील रहनुपर्ने वा अरू कसैलाई जिम्मेवारी दिएमा पार्टी कमजोर बन्छ भन्ने लाग्यो भने मात्रै पार्टीका विभिन्न तहमा बसेर नेतृत्व प्रदान गर्ने सोच राख्नुपर्छ । अन्यथा पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिनका लागि ज्येष्ठ राजनीतिज्ञसभामा बस्न उपयुक्त हुन्छ ।

तपाईंको भनाइलाई मान्ने हो भने त सभापतिमा शेरबहादुर देउवाजी नै दोहोरिनुपर्‍यो नि ! उपनिर्वाचनको नतिजाहरूले पनि त्यही भनेको देखियो । जनताले त विश्वास नै गरेकै देखियो नि ?

मलाई त्यस्तो लाग्दैन । कांग्रेसमा धेरै नेता छन् । धेरैको रगत र पसिना बगेको छ । अहिलेको जनमत र विश्वास एक  व्यक्ति विशेषका लागि होइन । विचारका लागि हो । मुद्दाका लागि पनि यो विश्वास हो । दर्बिलो र गर्विलो इतिहासका आधारमा पनि विश्वास गरिएको हो । लोकतन्त्र बलियो गर्नका लागि कांग्रेसप्रतिको भरोसा पनि हो । र, परिवर्तनलाई दिगो बनाउन कांग्रेसप्रतिको अपेक्षा पनि हो ।

अब अर्को प्रसंग, ओली सरकारको कामकारबाहीलाई कसरी लिनुभएको छ ?

सरकारको कामकारबाहीसँग सन्तुष्ट हुने ठाउँ छैन । मिड अप्रिलमा डब्लुएचओले नेपालमा १५ सयदेखि १० हजारसम्म संक्रमित हुन्छन् भनेर प्रक्षेपण गरेको थियो । बोर्डर व्यवस्थापन एवं अन्य सुरक्षित प्रबन्ध मिलाउँदा १५ सयसम्म संक्रमित हुने अनुमान थियो । अन्यथा १० हजारसम्म संक्रमित हुने प्रक्षेपण थियो । तर, अहिलेसम्म संक्रमितको संख्या करिब ६२ हजार छ । यो संख्या एक लाख पुग्न धेरै दिन लाग्दैन । यस्तो अवस्थामा सरकारलाई असफलबाहेक के भन्ने ? सरकारले सफलता प्राप्त गर्‍यो भनेर कसरी भन्ने ?

समस्या कहाँ छ ? सरकारको पूर्वतयारी वा कार्यशैलीमा ?

प्रधानमन्त्रीमा एउटा गलत चिन्तन छ । त्यो के भने- म नै सबैभन्दा जान्ने हुँ । मैले नजानेको केही छैन र म नै विज्ञ हुँ भन्ने सोच उहाँमा देखिएको छ । एकथरी जनतालाई अर्कोथरीसँग जुधाउँदा फाइदा हुन्छ भन्ने मानिस पनि देखिएका छन् । लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने, समाजलाई कमजोर बनाउने तथा डरको भाव कायम राख्न सकेमा आफ्नो पकड बलियो हुन्छ भन्ने प्रवृत्ति पनि देखिएको छ ।

प्रधानमन्त्रीले पटकपटक के भन्नुभएको छ भने सत्य त एउटै हुन्छ नि ! कि सत्यको पक्षमा उभिनुस् कि अर्को पक्षमा उभिनुस् भनेर प्रधानमन्त्रीले भन्ने गर्नुहुन्छ । सैद्धान्तिक र दार्शनिक धरातलमा पनि हाम्रो त्यस विषयमा असहमति र विभेद छ । बिपी कोइरालाले जेल जर्नलमा लेख्नुभयो- सत्य बहुआयामिक हुँदो रहेछ भनेर । नेल्सन मण्डेलाले लामो जेल जीवनपछि लङ वाक टु फ्रिडममा लेख्नुभएको छ- नो वन ह्याज मनापोली ओभर ट्रुथ अर्थात् सत्यमाथि कसैको एकाधिकार छैन ।

समाजले के भनिरहेको छ ? जनताले के भन्दै छन् ? सरोकारवालाहरूको धारणा के छ ? सञ्चार जगतले के औँल्याइरहेको छ ? अनि विज्ञ के भन्दै छन् । यसबारे सुन्ने बानी छैन । प्रधानमन्त्रीसँग रिसेप्टिभिटी छैन । उहाँलाई लाग्छ कि डाक्टरभन्दा बढी जान्ने मै हुँ । लाग्छ कि विषय विद्वानभन्दा बढी ज्ञान उहाँलाई छ । यस्तो लाग्छ कि मिडियाबारे उहाँले मिडियाले भन्दा बढी जान्नुभएको छ । आजको हाम्रो दु:खद पक्ष नै यही भएको छ । पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूको प्रवचन सुन्न पाएको छैन । त्यसैले आशा गर्छु प्रधानमन्त्रीमा अब करिब ६२ हजार संक्रमित भइसकेपछि विवेकको चेत खुल्यो होला ।

कांग्रेसजस्तो नरम र सहज प्रतिपक्ष भएर यो अवस्था आएको आरोप छ नि ?

कांग्रेसको भूमिकाप्रति प्रश्न उठेका छन् । तर, पनि हामीले सरकारलाई झकझकाएका छौँ । बाटो पनि देखाइरहेकै छौँ । राष्ट्रलाई अप्ठेरो पर्दा सहयोग पुर्‍याउने प्रयास पनि गरेकै छौँ ।

तपाईंहरूले बनाएको संविधानमा चेक एन्ड ब्यालेन्सका मेकानिजम छन् । संसदमा प्रमुख प्रतिपक्षी दलको रूपमा तपाईंहरू नै हुनुहुन्छ । संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्छ । र, पनि किन यस्तो परिस्थिति आउनु गयो ?

हो । हामीले अपेक्षित भूमिका खेल्न नसकेको हो । यो आरोपलाई अस्विकार गर्नुपर्ने अवस्था छैन । अबका दिनमा कांग्रेसले आफ्नो भूमिका र उपस्थितिलाई अझ सशक्त बनाउनुपर्छ । महाधिवेशनपछिको नेतृत्वले यस्ता आवाज नआउने परिस्थिति निर्माण गर्ने मेरो विश्वास छ ।

ठुलाठुला भ्रष्टाचारका काण्ड भइरहँदा प्रमुख प्रतिपक्ष किन मौन ?

हामी मौन छैनौँ । वाइडबडी काण्डमा सार्वजनिक लेखा समितिले छानबिन थाल्न अख्तियारमा लेखी पठायो । तर, संवैधानिक अंग भएर पनि अख्तियारले अपेक्षित काम गर्न सकेन । अख्तियारका प्रमुख आयुक्त (नवीनकुमार घिमिरे) ले भर्खरै अवकाश पाउनुभएको छ । उहाँले आफ्नो करिअरमा एक सक्षम र इमानदार व्यक्तिको छवि बनाउनुभएको थियो । उहाँसँग मेरो व्यक्तिगत रूपमा असल सम्बन्ध छ । उहाँबाट धेरैले सकारात्मक परिणामको आशा गरेका थिए । किन हो कुन्नि उहाँबाट त्यसअनुसारका काम भएनन् । कारबाहीको सट्टा ठुलठुला काण्डका फाइल थन्काउने (तामेलीमा राख्ने) काम भएको छ । कोरोना महामारीमा भएका अनियमितता र बेथितिमा पनि कारबाही हुन सकेन । धेरैजसो काण्डमा प्रधानमन्त्री न्यायाधीशजस्तो गरी बोल्ने र संवैधानिक निकायहरूबाट त्यसैअनुसार काम भएजस्तो देखिएको छ ।

यो पनि