बैशाख ०८, २०८१, शनिबार
               

एनआरएनएको एसिया प्यासिफिक विज्ञ सम्मेलनको तयारी अन्तिम चरणमा

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलन भर्चुअल माध्यमबाट भव्य रुपमा हुने भएको छ । आगामी सेप्टेम्बर २६ र २७ मा तय भएको सम्मेलनलाई विगतको भन्दा फरक रुपमा सम्पन्न गर्न बुधबार भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बैठकको तयारी अन्तिम चरणमा पुगेको विज्ञ सम्मेलनका संयोजक डा. देवी बस्नेतले दिए ।  एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिकविज्ञ सम्मेलन पहिलोपटक अनलाइनमार्फत हुन लागेको हो । यसअघि नेपालमै भेला भएर हुँदै आएको सम्मेलन अहिले कोरोना महामारीको संकटका कारण जुम मिटिङमार्फत हुन लागेको हो ।

दुईदिने सम्मेलनको, पहिलो दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको मूल विषय ‘आप्रवासी नेपाली कामदार स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार’  रहेको एसिया प्रशान्त क्षेत्र गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पहिलो दिनमा कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारका विषयमा सरकारी पक्ष सरोकारवाला तथा एनआरएनहरूबीच गहन छलफल हुनेछ ।’ सम्मेलनको पहिलो दिन परराष्ट्रमन्त्रीसँगै श्रममन्त्री र कांग्रेस नेतृ डा डिला संग्रौलाको समेत सहभागिता रहने बताइएको छ ।

एसिया प्रशान्त क्षेत्र गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक श्रेष्ठले सम्मेलनमा कोरोना संकटपछि रोजगारी गुमाएका नेपाल फिर्ता भएकालाई कसरी रोजगारी दिन सकिन्छ भन्ने मुख्य ऐजेण्डा रहेको बताए । यस्तै, विदेशमा भएका नेपालीलाई कसरी सहज रुपमा रोजगार तथा व्यवासाय गर्ने वातारण गराउन सकिन्छ भन्ने एजेण्डा रहेको पनि जानकारी गराए ।

सम्मेलनमा एनसिसी तथा आइसिसीका प्रगति विवरण, यस क्षेत्रमा देखा परेका समस्या र सावधानी तथा एनआरएन आसीसीले परिवर्तन गर्नका लागि प्रस्तावमा ल्याएका नयाँ एजेन्डाहरूबारे पनि छलफल हुनेछ । 


दोस्रो दिन पहिलो विज्ञ सम्मेलन

सम्मेलनको दोस्रो दिनविज्ञ सम्मेलन हुनेछ । क्षेत्रीयविज्ञ तथा ज्ञान सम्मेलनमा एसिया क्षेत्रका साथै अन्य क्षेत्रमा रहेका विज्ञ, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य, संरक्षक परिषद्का सदस्य, सल्लाहकार, मानार्थ परिषद्का सदस्य र अन्य विशिष्ट व्यक्तित्वहरूका साथै नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

 ‘ज्ञान सिप क्षमता बाँडफाडका लागि यो कम्फरेन्स गरिन लागिएको हो,’ विज्ञ सम्मेलनका संयोजक डा. बस्नेतले भने, ‘यसमा स्वास्थ्य शिक्षा, विज्ञान तथा प्रविधि, मेडिकल साइन्स, कृषि, पर्यटन, वातावरण, प्रवासी नेपाली कामदार, विद्यार्थी, सामाजिक विकासलगायत विषयहरूमा छलफल हुने गरी सत्रहरू सञ्चालन गरिने तयारी छ  ।’

प्रत्येक सत्रका संयोकहरूले सम्बन्धित सत्रमा के कस्ता विषयवस्तुमा छलफल गरिने र त्यसबाट स्वदेश तथा विदेशमा रहेका नेपालीहरू तथा समग्र रूपमा नेपाल विकासमा के कसरी टेवा दिन सकिन्छ भन्ने बारेमा जानकारी गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
छोटो समयका लागि आर्थिकोपार्जनका लागि नेपालबाहिर आएको युवा समूह रहेको यस क्षेत्रमा युवाले आफूले आर्जन गरेको ज्ञान, सीप तथा कलालाई कसरी देश विकासमा लगाउन सक्छ भन्ने विषय छलफल हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि