चैत १६, २०८०, शुक्रबार
               

एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् । राष्ट्रिय प्रसारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धवलागिरिका चार जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । 

दैनिकजसो चार जिल्लामध्ये कतै न कतै समस्या भएको हुन्छ, तर त्यस जिल्लाको समस्याले मोदी फिडर नै बन्द गर्नुपर्ने कारणले चार जिल्लामै विद्युत् आपूर्ति बन्द हुन्छ । 

लोडसेडिङमुक्त भए पनि विभिन्न जिल्लामा आउने समस्याका कारण विद्युत् अनियमित भइरहने विद्युत् प्राधिकरण वाग्लुङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर शिवनारायण गोशलीले जानकारी दिए । लोडसेडिङ होइन, विद्युत् आपूर्ति अनियमित भएको हो, केन्द्र प्रमुख गोशलीले भने, मोदी पावरहाउसबाट एउटै फिडरबाट क्रमशः पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ वितरण हुन्छ, कुनै जिल्लामा सानो समस्या आउँनासाथ मोदीबाटै विद्युत् काट्नुपर्ने समस्या छ ।

चार जिल्लामध्ये कुनै एक जिल्लामा विद्युत् पोल, तार तथा सबस्टेशनको ब्रेकरमा समस्या आउँनासाथ अन्य जिल्लामा समेत विद्युत् आपूर्ति नहुनु नै मुख्य समस्या रहेको गोशलीको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि चार जिल्लाका छुट्टाछुट्टै फिडर निर्माण गर्नुको विकल्प नरहेको गोशलीको भनाइ छ ।     

उनका अनुसार पुरानो विद्युत् वितरणको संरचना हटाएर चार जिल्लामा नयाँ प्रसारण लाइन विस्तार गर्न अर्बौँ बजेट लाग्नेछ । अहिले वाग्लुङको रामरेखा सबस्टेशनभन्दा अगाडि प्रसारण लाइनका अवरोध, रुख तथा अन्य संरचना हटाउनुपरेमा मोदीबाटै विद्युत् बन्द गर्दा अन्य जिल्लामा समेत विद्युत् जान्छ । 
 
अहिले प्रत्येक जिल्लामा बाढीपहिराका कारण विद्युत् पोलमा क्षति हुँदा बढी अनियमित भइरहेको, विद्युत् प्रसारणको अवरोधका रूपमा रहेको रुख हटाउने कार्य भइरहेका कारण चार जिल्लामा पटक–पटक विद्युत् आपूर्ति अनियमित भइरहेको छ ।

पछिल्लो समय प्रत्येक शनिबारको दिन भने चारै जिल्लाका विद्युत् कार्यालयले सूचना निकालेर मर्मतका लागि विद्युत् बन्द नै गर्दै आइरहेका छन् । यसरी चार जिल्लाका सबस्टेशन, ब्रेकरलगायतका उपकरणमा समस्या आउँदा विद्युत् नियमित हुनसकेको छैन । 

विद्युत उत्पादन र क्षमताका हिसाबले एक मिनेट पनि विद्युत् सेवा अवरुद्ध हुन नपर्ने अवस्थामा दिनमै पटक–पटक विद्युत् आउनेजाने समस्याले व्यवसायमा समेत नराम्रो असर पर्ने वाग्लुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । 

यो पनि