बैशाख १३, २०८१, बिहीबार
               

जसले जनताको मुक्तिको लागि काँधमा हलोदेखि बन्दुकसम्म राखे

ADVERTISEMENT

हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खडा रहेका बोगटी गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहनेछन्

सादगी नेताको पहिचान बनाएका तत्कालीन एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले यो संसारबाट बिदा लिएको ६ वर्ष बितिसकेको छ । सर्वहारावर्गको मुक्तिका लागि काँधमा हलोदेखि बन्दुकसम्म राखेका बोगटीका जीवनका धेरै अनुकरणीय पाटा छन् ।

गणतन्त्रका लागि उनले गरेका त्याग, तपस्या र संघर्षको गाथा इतिहासका पानामा सुनौला अक्षरमा लेखिएका छन् । हिमालयझैं अग्लो व्यक्तित्व, विशाल र उदात्त अनि चट्टानसरह अडिग स्वभावका कारण बोगटीलाई धेरैले आदर्श नायकका रूपमा सम्झिरहेका छन् । ‘हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खडा रहेका बोगटी गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहनेछन्’ भनेर धेरैले टिप्पणी गर्छन् ।

कहिल्यै पनि विवादमा नपरेका लोकप्रिय नेता पोष्टबहादुर बोगटी सरल र मिलनसार स्वाभावका थिए । बोगटीलाई एमाओवादीको ७र्औँ महाधिवशेनले महासचिव बनाएको थियो । विराटनगरमा राष्ट्रिय भएको पदाधिकारी चयनमा उनले उपाध्यक्षमा शतप्रतिशत मत प्राप्त गरेका थिए । नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ का बासिन्दा बोगटी कुनै विवादमा नपरेका र निष्कलंक छवि बनाएका नेताको रुपमा चिनिन्थे ।

किशोरावस्थामा भारतीय सेनामा जागिर खाने सपना साँचेका बोगटीले भारतमा भौतारिँदा धेरै दुःख झेल्नुपर्‍यो । पछि उनले स्वदेश फर्केर माछा फार्म र घरेलु उद्योगमा नोकरी गर्न थाले । कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका उनले भाल्चेमा रहेको सरकारी भेडा फर्ममा केही वर्ष नोकरी गरे ।

बाहुनले हलो जोत्नुहुँदैन भन्ने समयमा जन्मेका बोगटीले नुवाकोटमा बाहुनले हलो जोत्ने अभियानको नेतृत्व गरेका थिए ।

हलो जोत्ने नेता

मंसिरमा काटेको धान खलियाबाटै साहुलाई तिर्दा ठिक्क हुने उनको जग्गा जमिन थियो । धादिङ, रसुवा र नुवाकोटको माओवादी इञ्चार्ज हुँदासम्म उनले पुरानो ऋण चुक्ता गर्न सकेका थिएनन् । आफूले पैतृक सम्पत्तिको रुपमा पाएको एक टुक्रो जमिन त्रिशूली जलविद्युत् आयोजनाले अधिग्रहणमा परेपछि बोगटीको परिवारले झनै दुःख पायो । अधिग्रहणबाट बचेको केही सम्पत्ति पनि विद्यालयलाई दान दिएपछि उनी भूमिहीन भए ।

बाहुनले हलो जोत्नुहुँदैन भन्ने समयमा जन्मेका बोगटीले नुवाकोटमा बाहुनले हलो जोत्ने अभियानको नेतृत्व गरेका थिए । साथै, उनले पञ्चायतकालमा गाउँमा विभिन्न क्लब र पुस्तकालय निर्माण गराएका थिए ।

बोगटीले आफ्नो घर र जग्गाजमिन चण्डेश्वरी माध्यमिक विद्यालयलाई दान दिएका थिए । सबै जग्गाजमिन विद्यालयलाई दान दिएपछि परिवार माओवादी युद्धमा होमियो । बोगटी पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका थिए । 

युद्धमा छोरा गुमाउने एकमात्र माओवादी हाइकमाण्ड

बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला मारिए । २०५८ सालमा धादिङको सत्यदेवीमा तत्कालीन शाही नेपाली सेनासंगको दोहोरो भिडन्तमा उनी मारिए ।

त्यतिबेला पोष्टबहादुर बोगटी पश्चिम नेपालको कमाण्ड सम्हाल्दै आएका थिए । तर, छोरासमेत गुमाउने गरी युद्धमा होमिएको बोगटी परिवार आर्दशको मानक बनेको छ । पोष्टबहादुर बोगटीले चाहेको भए छोरालाई सुरक्षित ठाऊंमा खटाउन सक्थे । लुकाउन सक्थे । प्रचण्डजस्तै बलियो जनमुक्तिको सुरक्षा खेरासंगै आफैंसंग लिएर हिड्न सक्थे । अरु नेताले पनि सुरक्षित शैली खोजेकै थिए ।

रक्तमुछेल यात्रा र बलिदानीको कथा अरुका छोराछोरीलाई जति नै पढाएपनि आफ्ना छोराछोरी सुरक्षित रहुन् भन्ने धेरै नेतालाई थियो । तर, पोष्टबहादुर अपवाद थिए । किनकी उनले  आफ्नो छोरालाई संगै राखेनन् । गृहजिल्ला नुवाकोट र धादिङतिरै पठाएका थिए । 

पार्टीमा सबैको विश्वासपात्र भएकैले बोगटीले पार्टीभित्रको सम्पत्ति छानबिन आयोग एवं लडाकुको भ्रष्टाचारसम्बन्धी छानबिन समितिको नेतृत्व गर्ने जिम्मा पाएका थिए ।

प्रचण्ड निकट तर सबैको विश्वासपात्र 

पार्टीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने बोगटी पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट अत्यधिक मतले निर्वाचित भए । त्यसपछि उनी सूचना तथा सञ्चार, संस्कृति पर्यटन एव नागरिक उड्यनमन्त्री र ऊर्जामन्त्रीसमेत भए । बोगटी पहिलो संविधानसभामा सदस्य हुँदा एमाओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक समेत थिए ।

पार्टीमा सबैको विश्वासपात्र भएकैले बोगटीले पार्टीभित्रको सम्पत्ति छानबिन आयोग एवं लडाकुको भ्रष्टाचारसम्बन्धी छानबिन समितिको नेतृत्व गर्ने जिम्मा पाएका थिए । तर, दुःखको कुरा सन्तुलित नेताको पहिचान बनाएका बोगटीले तयार पारेको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन गरिएको छैन ।

राजनीतिलाई कमाउने पेशा बनाउनु हुन्न भन्ने पक्षमा सधै उभिरहन्थे बोगटी । मन्त्री भइसकेपछिपनि उनी सादगी जीवन बिताउन रुचाउँथे । जहाँ पनि सहज रुपमा प्रस्तुत हुने उनको स्वभावका कारण धेरैको प्रिय थिए ।

बोगटीले तत्कालीन माओवादीमा प्रचण्डका अत्यन्तै निकट भएर काम गरेका थिए । अहिले पनि बेलाबेला पार्टीमा अप्ठ्यारो पर्दा प्रचण्डले बोगटीलाई सम्झिने गरेका छन् । यो कुरा उनैले पटक पटक भन्दै आएका छन् । 

पलपलमा प्रचण्डले सम्झने नेता 

मंगलबार बोगटिको छैटौँ स्मृति सभामा आयोजित कार्यक्रममा प्रचण्डले अहिले पनि पार्टीमा समस्या पर्दा उनैलाई सम्झिने गरेको सुनाए ।

प्रचण्डले भने ‘मलाई कमरेड पोष्टबहादुर बोगटीको अभाव हरेक कदममा खड्किने गर्छ । यदी उहाँ भएको भए अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष कमरेड केपी ओली र म दुईजना पार्टी अध्यक्षको रुपमा रहेका छौं । अरु पनि हामी नेताहरु छौं । हाम्रो बीचमा कहिलेकाहीँ समस्या पनि हुनसक्छ, कतिपय विषयमा कुरा मिलाउन अफ्ठ्यारो हुन पनि सक्छ, म कमरेड पोष्टबहादुरलाई विशेष रुपमा यसअर्थमा सम्झिन चाहन्छु कि उहाँको यस्तो व्यक्तित्व थियो, उहाँको इमादारी, उहाँको पारदर्शिता, उहाँको सरलताले गर्दा पनि ठूल्ठूला नेताहरु पनि उहाँका कुरा गम्भीर रुपले सुन्नैपर्ने, त्यो अवस्थामा हामी यो पार्टी एकतालाई पनि पूर्णता दिने प्रक्रियामा उहाँ जस्तो नेता भएको भए धेरै सजिलो हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

बोगटीको राजनीतिक यात्रा

औपचारिक शिक्षा उनले कक्षा ८ सम्म मात्रै गरेका उनको परिवार स्रोतले बताउँदै आएको छ । विद्यार्थी नेता शरणविक्रम मल्लले उनलाई कम्युनिष्ट पार्टीमा ल्याएका भनेर समकालिन नेताहरुले बताउँछन् । पुष्पलाल समूहबाट ०३४ सालदेखि राजनीतिमा लागेका थिए । उनी ०३७ सालको अन्त्यतिर पुष्पलाल समूह छाडेर चौम समूहमा आबद्ध भए । चौममा लागेपछि तत्कालै उनी नुवाकोट जिल्लाको पार्टी सचिव बनेका थिए ।

नुवाकोटमा तत्कालीन पञ्च प्रकाशचन्द्र लोहनीसँग द्वन्द्व बढ्यो । उनलाई ज्यान मुद्दामा जेल हालियो । ०४२ सालमा रामराजाले गराएको बमकाण्डपछि बोगटी पुनः पक्राउ परेका थिए । अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य हुँदा ०४२ सालतिरबाट बोगटी र प्रचण्डबीच सम्पर्क भएको हो ।

त्यतिबेलादेखि प्रचण्डसँग उनको सहकार्य र सम्बन्ध जारी रह्यो । बोगटीका छोरी प्रचण्डका छोराले विवाह गरे । बोगटी र प्रचण्ड सम्धी बने पनि यो पारिवारिक सम्बन्धचाँहि राजनीतिक सम्बन्धजस्तो सुमधुर रहेन । पछि उनीहरुको सम्बन्धबिच्छेद् भयो ।

बोगटी ०४५ सालमा पूर्णकालीन कार्यकर्ता बनेका हुन् । ०४५ सालमा मोटो मसालको केन्द्रीय सदस्यमा मनोनित भएका उनी ०४८ सालको एकता महाधिवेशनबाट उनी निर्वाचित केन्द्रीय सदस्य भए ।

जनयुद्धकालमा बादल र बाबुराम भट्टराईमाथि समय समयमा कारवाही हुन्थे । उनीहरुलाई भएको कारवाहीबाट माथिल्लो जिम्मेवारी पाउँदै आएका बोगटीले भने कसैको मन नदुखाउने मृदुभाषी नेता मानिन्थे ।

बोगटीले बिराटनगर सम्मेलनपछि भनेको आन्तरिक चुनावमा सबैभन्दा मत पाएका थिए । यसले पनि पार्टीभित्र उनको लोकप्रियता प्रष्ट हुन्छ । हेटौटा महाधिवेशनबाट उनी महासचिव चुनिएका थिए । उनी बिराटनगर सम्मेलनपछि एमाओवादीको उपाध्यक्ष थिए ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि