बैशाख ०८, २०८१, शनिबार
               

ऐनविपरीतको लेखापरीक्षक नियमावली खारेजीको माग

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसनले लेखापरीक्षकहरूले पाउँदैआएको सुविधा कटौती गर्ने गरी नियमावली लयाइएको भन्दै त्यस्तो नियमावली खारेजीको माग गरेको छ ।

एसोसिएसनको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले यस्तो माग गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ का दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन २०३१ बमोजिम पाइ आएका
सुविधाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था विपरीत नियमावली ल्याइएको एसोसिएनको आरोप छ । एशोसिएसनले सो कार्य कानुनको सामान्य सिद्धान्त विपरीत भएकोले जनाएको छ ।

यस्ता छन् बैठकका निर्णयहरु :

मिति २०७६ माघ २५ गते, काठमाडौँ  

 प्रेस विज्ञप्ति

नेपाल अडिटर्स एसोसिएसन(अडान) को २०७६ माध २४ र २५ गते काठमाडौँमा केन्द्रीय कार्य समितिको तेस्रो पूर्ण बैठक अध्यक्ष मोहन राज रेग्मीको अध्यक्षतामा नयाँ बानेश्वर, काठमाडौँ स्थित अल्फाबिटाको हलमा सम्पन्न भयो । 

बैठकमा महासचिव झलकमणि लम्सालले प्रस्तुत गर्नु भएको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । सो बैठकमा अडानका देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार, विशेषज्ञहरूको उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णयहरू गर्दै पेसागत दक्षता अभिबृद्घि, क वर्गमा वर्ग बृद्धि, गैर लेखापरीक्षकहरु माथि बन्देज गर्न, आईक्यानमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने, स्थानीय तथा प्रदेशमा रहेको सुचीकृत गर्नु पर्ने गलत परिपाटीको अन्त्य गर्न, चीन लगायत विश्वभर त्रासदीको रूपमा फैलिएको कोरोना भाइरसका कारण चीनको हुआनमा रहेका नेपाली बिद्यार्थीहरु समेत नेपाल ल्याई उचित व्यवस्थापन गर्न माग गर्दै बैठकले निम्नानुसारका विशेष प्रस्तावहरू पारित गरी नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरू तथा सम्बन्धित सवैमा सोको कार्यान्वयनमा विशेष ध्यानाकर्षण गराएको छ ।

पारित विशेष प्रस्तावहरू

१. वि सं २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन जारी हुँदाका बखत नै दर्तावाला लेखापरीक्षकहरुका सम्बन्धमा विभेदकारी प्रावधानहरू कायम भएकोले अडानले आफ्नो स्थापनाकाल देखिनै यसमा सुधार गर्नुपर्ने माग जोडदार रूपमा उठाउँदै आएको कुरा सवैमा विदितै छ । यसर्थ निम्न अनुसारका कुराहरू कायम हुने गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को व्यापक संशोधन गर्न वा परिवर्तित परिस्थितिमा नयाँ ऐन जारी गर्न जोडदार माग गर्दछौंः

क.    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ का दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन २०३१ बमोजिम पाइ आएका सुविधाबाट वञ्चित गरिने छैन  भन्ने व्यवस्था भए तापनि  सो ऐन विरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानुनको सामान्य सिद्धान्त विपरीत भएकोले त्यस्ता प्रावधान  तत्काल  खारेज गर्न सवद्ध निकायहरूसँग यो बैठक जोडदार माग गर्दछ । 
ख.     नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले जारी गरेका सबै प्राविधिक मानहरू र आचारसंहिता सिए तथा आर ए सबै सदस्यहरूका लागि समान रूपमा लागु हुन्छन् र सबै सदस्यहरूले यसको पालना गर्नु पर्दछ । साथै अन्य कानुनहरूको परिपालना (Compliance) पनि सबै सदस्यको लागि उत्तिकै जरुरी छ । कानुनतः बहन गर्ने दायित्व पनि समान छ तर लेखापरीक्षण गर्ने कारोबारको सीमा फरक छ । यस्तो अवस्थामा बजारले पत्याएका सबैलाई बिना रोकटोक समान हुने गरी सीमा विहीन लेखापरीक्षण गर्ने व्यवस्था गर्न सवद्ध निकायहरूसँग यो बैठक जोडदार माग गर्दछ ।

ग. क्षमतावान आर.ए.हरूलाई चार्टर्ड एकाउन्टेन्सी (सिए) मा सहज प्रवेश गर्ने वातावरण बनाउन तथा हालसम्म १ जना पनि सदस्य नरहेको क वर्गको लेखापरीक्षकमा योग्यता पुगेका र अनुभव भएका सदस्यहरूलाई वर्ग बृद्घि गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था समक्ष यो बैठक जोडदार माग गर्दछ । 

घ. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३मा भएका विद्यमान सबै विभेदको अन्त्य गरी समान हक कायम हुने व्यवस्था गर्न तथा सङ्घीयताको मर्म र भावना अनुसार उक्त ऐनमा आईक्यानको क्षेत्रीय परिषद्को समेत व्यवस्था गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँग यो बैठक जोडदार माग गर्दछ ।

ड. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका हाल विद्यमान करिब ९००० रजिष्टर्ड अडिटर्श तथा चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरूको समानुपातिक प्रतिनिधित्व काउन्सिलमा हुने गरी व्यवस्था गर्न तथा संस्थाका जो कोही योग्य सदस्यले संस्थाको अध्यक्ष वा उपाध्यक्षको रूपमा चुनिन सक्ने गरी व्यवस्था गरी रजिष्टर्ड लेखापरीक्षकहरुलाई नेतृत्वमा पुग्न नदिने गरी लगाइएको बन्देज हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था समक्ष जोडदार माग गर्दछौँ । 

२.    तटस्थता कायम गरी सम्पन्न गर्नुपर्ने लेखापरीक्षकहरुको पेसागत कार्य अत्यन्त चुनौतीपूर्ण छ । यस क्रममा लेखापरीक्षकले कतिपय दबाबहरूसमेत खेप्नुपर्ने हुन सक्छ । हालै मोरङको विराटनगरमा यस एसोसिएसनका मोरङ जिल्ला समितिका कोषाध्यक्ष तथा लेखापरीक्षक प्रबल घिमिरेको मृत्युलाई हेर्दा सम्बद्ध पक्षहरूबाटै नियोजितरुपमा ज्यान लिने सम्मको काम भएको हो कि भन्ने आशङ्काहरू विद्यमान रहेकोले यस्तो जिउज्यान नै लिने खालको गम्भीर कार्यको वास्तविक दोषी पत्ता लगाई सत्यतथ्य अविलम्ब प्रकाशित गर्न र दोषीलाई हदै सम्मको कारबाही गर्न नेपाल सरकारसँग जोडदारमाग गर्दछौ ।

३.    सहकारी ऐन २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले देशभरका अन्य कुनै पनि सहकारीहरूमा समेत लेखापरीक्षण गर्न नपाउने भनी गरेको व्यवस्थाले स्वतन्त्र रूपमा पेसा व्यवसाय गर्न पाउने व्यक्तिगत नैसर्गिक अधिकार समेत कुण्ठित हुन जाने हुँदा एवं अन्य कुनै पेसामा यस्तो प्रकारको व्यवस्था नरहेको हुँदा सो बन्देज तत्काल खारेज गर्न यो बैठक माग गर्दछ ।

४.    गैर लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणसंग सम्बन्धित कार्यहरू अनधिकृत रूपमा काम भइरहेको अवस्थालाई अडान एक्लैले मात्र नियन्त्रण गर्न सक्ने अवस्था नरहेकोले नेपाल सरकारका सम्बन्धित निकायहरू तथा प्रशासन समेतले त्यस्ता कार्यलाई तत्काल रोक्न र कारबाही गर्न कुरामा लागिपर्न यो बैठक जोडदार माग गर्दछ ।     

५.    कतिपय ऐन कानुन, नियमावली र निर्देशिकाहरूमा सम्बन्धित संस्थाको लेखापरीक्षण ”मान्यताप्राप्त लेखापरीक्षक” बाट लेखापरीक्षण गरिनेछ भन्ने शब्द उल्लेख गर्नु पर्नेमा एकपक्षीय हिसाबले सरोकारवालाहरूसँग छलफल नगरी ”चार्टर्ड एकाउन्टेन्ट” बाट लेखापरीक्षण गरिनेछ भन्ने शब्द लेखिने गरेको पाइएकाले  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सबै सदस्यहरूको भावना, कानुनको भावना बमोजिम ”मान्यताप्राप्त लेखापरीक्षक” शब्दको प्रयोग गर्न गराउन सम्बद्ध पक्षहरूसँग जोडदार माग गर्दछौ ।

६.    यस एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बिच विगतमा पटक पटक भएका सम्झौतहरुको सबै बुँदाहरूको शीघ्र कार्यान्वयनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष यो र्बठक जोडदार  माग गर्दछ ।

७.    बदलिँदो परिस्थितिमा कार्य गर्न सक्ने गरी सदस्यहरूको क्षमता अभिबृद्घि गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ को दफा ११ (द) मा रजिष्टर्ड अडिटर्सको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आवश्यक तालिम गोष्ठी र सेमिनार सञ्चालन गरिनेछ भनी गरिएको व्यवस्था अनुरूप पेसागत दक्षता अभिबृद्घि सम्बन्धी अन्तरक्रिया, तालिम, कार्यशाला गोष्ठी, एवं प्रकाशनमा जोड दिई विभिन्न थप कार्यक्रमहरू सञ्चालनका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष यो बैठक जोडदार  माग गर्दछ ।

८. नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाबाट विभिन्न लेखामान तथा लेखापरीक्षणमानहरू जारी भैसकेका छन् । उद्योगी, व्यापारी तथा सङ्घसंस्थाहरूले लेखामान अनुसार वित्तीय विवरण तयार गर्नु पर्दछ । लेखापरीक्षणमानका आधारमा लेखापरीक्षकले लेखापरीक्षण गर्नु पर्दछ तर उद्योगी व्यापारीहरूले लेखामान अनुसार वित्तीय विवरण तयार नगरी रहेको अवस्थामा लेखापरीक्षकले गुणस्तरीय लेखापरीक्षण गर्नु  चुनौतीपूर्ण  बनेकोले यसको सचेतनाकालागी नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरू तथा सम्बन्धित सवैमा सोको कार्यान्वयनका विशेष ध्यानाकर्षण गराउन चाहन्छौँ ।

९. लेखापरीक्षण गर्नकै लागी कतिपय संस्थाहरूमा सूचीकृत गर्नुपर्ने प्रावधान हालसम्म पनि कायमै रहेको पाईकोले सोको स्थायी समाधान गर्न तथा स्थानीय, प्रादेशिक र संघीय सरकारबाट जारी हुने र भैसकेका सबै ऐन, कानुन, नियमावली र निर्देशिकाबाट त्यस्तो प्रावधान हटाई स्थायी रूपमा सोको समाधान गर्न हामी सम्बन्धित सवैमा बिशेष ध्यानाकर्षण गराउन चाहन्छौँ ।

१०. नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले यही २०७६ श्रावणबाट NFRS for SMEs लागु  भइसकेकोले सो को पूर्ण कार्यान्वयनको लागि सम्बन्धित सबै सरोकारवालामा यो बैठक हार्दिक अपिल गर्दछ ।

११. चीन लगायत विश्वभर त्रासदीको रूपमा फैलिएको कोरोना भाइरसका कारण चीनको हुआन प्रान्तमा अध्ययनको क्रममा रहेका विद्यार्थीहरू समेत १८० जनाले नेपाल फर्कन पाउ भनिएको अनुरोध अनुसार तुरुन्त नेपाल फर्काई उपयुक्त स्थानमा उपचारसहितको अस्थायी बसाइको व्यवस्था मिलाउन यो बैठक जोडदार माग गर्दछ ।
                                                  
(डोलप्रसाद दाहाल)
उपाध्यक्ष, संयोजक- प्रचारप्रसार विभाग
 


कस्तो लाग्यो ?

यो पनि