बैशाख ०७, २०८१, शुक्रबार
               

यस्तो छ चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

भरतपुर । थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै  छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम सुरु हुन्छ । तर, यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ ।

जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ । यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको छ । समुदायले चाडपर्व मनाउन कार्यविधिसमेत जारी गरेको छ । 

शनिवार थारु समुदायका विज्ञ र अगुवाहरुलाई राखेर (भर्चुअल बैठक) छलफलमार्फत कार्यविधि तयार गरिएको थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले बताउनुभयो ।

‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भई पर्व मनाऔँ र कोरोना संक्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि–२०७७’ जारी गरेको चौधरीले जानकारी दिए ।

‘कोभिडको महामारीको अवस्थामा समुदायलाई कोरोना संक्रमणबाट जोगाउँदै चाडपर्वको रक्षा गर्न कार्यविधि आवश्यक ठानेका हौँ’, उनले भने । चितवनका थारु समुदायले जितिया, यमोसा, दसइँ, सोहराई, एकादसी, खिचरा, फगुवा आदि पर्वहरु विशेष महत्वका साथ मनाउँछन् । हरेक चाडपर्वमा नातागोता एवं आफन्तहरुसँग भेटघाट गरी सामूहिकरूपमा खुसी साटिन्छ ।

यो वर्ष भिडभाड हुने गरेर सामूहिकरूपमा कुनै पनि पर्व नमनाउन थाकस चितवनले अपिल गरेको छ । थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन ।

यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पाहुर)  पुर्याउने चलन पनि  छ । कार्यविधिमा सामूहिकरूपमा केही पनि नगर्न भनिएको छ । 

कार्यविधिमा भिडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताए । ‘हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ’, उनले भने । साथै थाकसले आआफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भर्ई मनाउन आग्रह गरेको उनले बताए ।

थारु समुदायले दिवङ्गत पितृको सम्झनामा सोह्रश्राद्धको अन्तिम दिन ‘एमोसा’ (पितृ औँसी) मनाउँछन् । यसमा समूह बनाई एकअर्काको घरमा खाना खाने प्रचलन छ । यो पटक त्यो पनि नगर्न भनिएको छ ।

दशैँ अनि त्यसपछि तिहारका बेला हुने सोहराई पूजामा पनि घर परिवारमै सीमित हुन सभाले कार्यविधि बनाएको छ । सामूहिकरूपमा भेला भएर मनाइने छठ, बड्का एकादशी ९ठुलो एकादशी० मा पनि यस्तै अनुरोध छ । नयाँ वर्षको रूपमा मनाउँदै आएको माघे सङ्क्रान्तिको खिचरामा मेला महोत्सवसमेत आयोजना नगर्न भनिएको चौधरीले बताए ।

फागु र चैतनवमीमा पनि सामूहिक भेटघाट र पर्वको अनुष्ठानहरु नगर्न कार्यविधिले जोड दिएको उनले बताए । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो, हामी सुरक्षित रह्यौँ भने पूरै जिन्दगी मनोरञ्जन गर्दै चाडपर्व मनाउँदै गरौँला तर, अहिले ‘अड्कोपड्को तेलको धूप’ भने झैँ रीत मात्र पूरा हुनेगरी चाडपर्व मनाऔँ’, थाकसको अपिल छ । 

चैते दसैँका बेलामा चितवनको थारु बहुल क्षेत्रमा मेला लाग्ने गर्दछन् । चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन विक्रम बाबाको मेला लाग्छ । नवमीका दिन माडीमा गोदक मेला लाग्ने गर्दछ । तर, कोरोनाका कारण यो वर्ष कार्यविधिमार्फत मेला महोत्सव नगर्ने भनिएको छ । थारु समुदाय चितवनका मुख्य आदिवासी हुन् । 


कस्तो लाग्यो ?

यो पनि