असोज ०९, २०७७, शुक्रबार
               

धुवाँका अक्षरहरू र हरियो साइकल

नयनराज पाण्डे
भदौ १९, २०७७

ईश्वर, प्रेम र वर्तमान भन्ने कुरा हुँदै हुँदैन भन्नेहरू प्रशस्त छन् । मभित्रको एउटा तानाशाहले यसै भन्थ्यो । किनभने यो तानाशाहले आफ्नो नाडीमा बाँधेको थियो, एक दिनमा दुईपल्ट बाह्र बजाउने घडी । त्यसैले मात्तिएर भन्थ्यो- 'वर्तमान मेरो नियन्त्रणमा छ ।'

तानाशाहले के बुझ्थ्यो, वर्तमान त भेन्टिलेसन नभएको नियतिको बन्द कोठामा थाहै नपाई फैलिरहेको कार्बन मोनोअक्साइड हो, जसले मीठो निन्द्राको भ्रममा हामीले थाहै नपाउने गरी थमाइदिन्छ वान वे टिकट । फेरि फर्केर आउन नसकिने गन्तव्यको । मृत्यु भन्छौँ हामी सबैले त्यो गन्तव्यलाई ।

तर किन गोविन्द वर्तमानका निबन्धहरूले मलाई निबन्धप्रति यति आत्मीय बनाएँ ? किन यो विधाप्रति मरिसकेको मेरो विश्वासलाई फेरि पुनर्जीवित तुल्याए उनका निबन्धले ? के कुनै हनुमानबुटी छ यसमा ?

तर यति जान्दाजान्दै पनि गोविन्दले आफ्नो उपनाम नै वर्तमान राखे । त्यसैले पनि मलाई आफ्ना पूर्ववर्ती मान्यताहरूलाई मस्तिष्कको पोर्टेबल हार्डडिस्कबाट एकैपटक डिलिट गर्न मन लागेको छ । र त्यहाँ फेरि नयाँ वर्ड फाइल तयार गर्न मन लागेको छ, जसमा लेख्न मन लागेका छ- वर्तमान हुन्छ ।

हो त । वर्तमान त हुँदो रहेछ । वर्तमानले जहिले पनि आफ्नो समयसित झगडा गरिरहँदो रहेछ । यसले त आफ्नो समयसित गजबले  सरोकार राखिरहेको हुँदो रहेछ । यसले त हरेक समय समयकै कहानी कहँदो रहेछ । वर्तमान त भूत र भविष्यसित लगातार लडिरहने, हारिरहने, फेरि उठ्ने, फेरि हार्ने र फेरि जम्जमाएर उठिरहने एउटा योद्धा पो रहेछ ।

भगवान् भनिने श्रीकृष्णले गीतामा बकाइदा भनेका छन्- न यो शरीर तिम्रो हो । न तिमी यो शरीरका हौ । यो शरीर त पञ्चतत्त्वले बनेको छ । अग्नि, वायु, जल, पृथ्वी र आकाश । एकदिन यो शरीर यिनै तत्त्वमा विलीन हुन्छ ।

मानिसको शरीर त विलीन हुन्छ । ल मानियो । तर मानिसको सिर्जना त बाँकी रहँदो रहेछ । उसले लेखेका अक्षर र ती अक्षरहरूबाट निस्कने भावहरू, चिन्तनहरू त गतिशील नै रहँदो रहेछ । चिन्तनहरूले, विचारहरूले हल्ला गरिरहन्छन् । त्यसैले लेखक त आफैँले गरेका हल्लाहरूमा पनि जीवित रहँदो रहेछ । अहिले, यो वर्तमानमा पनि हाम्रा कानमा कति धेरै स्रष्टाहरूको हल्ला आइरहेछ । भगवान् श्रीकृष्ण साहित्यका पाठक रहेनछन् । तर उनले भन्ने थिए- लेखक सिर्जनामा बाँचिरहन्छ । ऊ जैले पनि वर्तमानमा भइरहन्छ । हल्ला गरिरहन्छ ।

तर वर्तमानको एउटा धोकेबाज छवि पनि छ । किनभने त्यो हेर्दाहेर्दै लुसुक्क बेपत्ता भैदिँदोरहेछ । हाम्रै खल्तीबाट कहिलेकाहीँ हामीले थाहै नपाई पोखिने चानचुन जस्तो । अथवा, चाल्नोमा भरिने पानी जस्तो । अनि त बाँकी रहँदो रहेछ वर्तमानको एउटा भ्रम मात्र । आर्यघाटमा धुवाँसितै उडिरहेको एउटा भ्रम । समयको यो मेटामोर्फोसिसमा यतिखेर केही धुवाँ मभित्र पनि उडिरहेछन् । म यतिखेर त्यो धुवाँ पन्छाउँदै छु । धुवाँ पन्छाउँदा पन्छाउँदै मेरो अगाडि देखा पर्छ- हरियो साइकल । अढाई सय पृष्ठको किताबको पहिलो संस्करणको रूपमा । धुवाँकै अक्षरमा । त्यही अक्षरको धुवाँमा म यतिखेर निसास्सिएको छु । यो धुवाँको कपिराइट अहिले पनि वर्तमानकै नाउँमा छ । गोविन्द वर्तमानको नाउँमा ।

०००

गोविन्द वर्तमानले आफ्ना छ्यालब्याल छरिएका शब्दहरूलाई फेरि सोहोरिएर एकमुष्ट किताबमा जम्मा भएको दृश्य यस पटक आफ्नै आँखाले हेर्न पाएनन् । वर्तमानलाई वर्तमानले नै धोका दियो । अन्तिम समयमा किन हेरेनन् उनले आफ्नो नाडी घडी ? हेरिदिएको भए उनको जीवनको पटकथाको अन्तिम दृश्य फेरिन्थ्यो कि ? र फेरिन्थ्यो कि हाम्रै जीवनको पटकथामा नसुहाउँदो गरी थपिएको एउटा दुःखद दृश्य । तर के गर्ने ? पटकथा त लेखियो । जसले लेख्यो, त्यसको दाँत भाँच्ने मन छ । तर त्यही पटकथा लेखक दृश्यमा आइदिन्न र पो । त्यसैले म मेरो क्रोधलाई यति बेला नियन्त्रित गर्न बाध्य छु । हेर्नुस्, मेरा दाँतहरू कसरी कट्कटाइरहेछन् । जाडोले होइन । त्यही क्रोधले ।

तर मान्नुस्, लेखक (तर असल लेखक) जति ज्याद्रो प्राणी धरोधर्म कोही नहुँदो रहेछ । पटकथाकार महोदयले उसको जीवनको अन्तिम दृश्यमा जति गोलमाल गरे पनि असल लेखक त आफ्ना अक्षर र शब्दहरूको पिरामिडमा सुरक्षित बाँचिरहँदो रहेछ । त्यसैले बिन्ती, वर्तमान मरेको कुरा नगर्नुस् । उनी बाँचेको सबुत हो- हरियो साइकल । यो भन्दा बलियो दसी प्रमाण के चाहिन्छ तपाईँलाई ?

०००

छब्बीस निबन्ध र एउटा कविता । हिसाब गर्दा त सत्ताइस भयो । चानचुन पचास हजारको हाराहारीमा होलान् यसमा अटाएका शब्दहरू । तर यो किताबका शब्दहरू मिलेर पाठकलाई दिने झट्का नाप्ने यन्त्र उपलब्ध छ छैन मलाई थाहा छैन । कमसेकम त्यो यन्त्र मसित छैन । त्यसैले मलाई यो किताबका शब्दहरूले लगातार दिइरहेका इलेक्ट्रिक शकको हिसाब भने मैले ज्यान गए पनि गर्न सकिनँ । सरी ।

तर पनि म यी झट्काहरूले दिएका असरहरूको बारेमा भने अलिकति केही भन्ने हिम्मत देखाउन चाहन्छु । निबन्ध भनेर के गर्ने, बन्धनमा गजबले पार्दो रहेछ यसले । शंकर लामिछानेले यसरी नै बाँधेका थिए । कृष्णचन्द्रसिंह प्रधानले पनि बेलाबेलामा बाँध्थे । अचेल रोशन शेरचनले पनि बाँध्छन् । केही स्वनामधन्यहरूले बन्धनबाट दिक्कलाग्दो गरी फुकाउने काम पनि गरे । यसरी कहिले बन्धनमा पार्ने र कहिले बन्धनबाट फुत्किने झन्झटिलो काइदाका कारण यो निबन्ध भन्ने कुरा मभित्रको पाठकको भोक मेट्ने स्वादिलो रेसिपी बन्नै सकेन । निबन्धको नाममा थुप्रैले शब्दको सत्यानाश गरेका छन् । कतिपयलाई त कागज खेर फालेको आरोपमा वन मुद्दा लगाउने आधारहरू पनि छन् । समयले तिनका नाममा तिनपुस्ते खोलेर कुनै न कुनै बेला किटानी जाहेरी पक्कै देला । त्यो जाहेरीमा मैले पनि फड्के किनाराको साक्षी भएर ल्याप्चे लगाउने सोच बनाएको छु । त्यसका आवश्यक शब्द मैले आफूसित सुरक्षित राखेको छु । आवश्यक पर्ने नागरिकताको फोटोकपी अहिले पनि मेरो खल्तीमा भेटिने सम्भावना छ ।

तर मलाई लाग्छ उनले निबन्ध लेख्दा शब्दहरू हात जोडेर उनका अगाडि उपस्थित हुन्छन् र भन्छन्- 'तपाईँको रचनामा अभिव्यक्त हुने एक मौका मैले पनि पाउँ हजुर ।'

तर किन गोविन्द वर्तमानका निबन्धहरूले मलाई निबन्धप्रति यति आत्मीय बनाएँ ? किन यो विधाप्रति मरिसकेको मेरो विश्वासलाई फेरि पुनर्जीवित तुल्याए उनका निबन्धले ? के कुनै हनुमानबुटी छ यसमा ? कसैले सोधे त म भन्ने थिएँ, निबन्ध विधाप्रति मलाई मादकताको हदसम्म मोहित पार्ने र लामो मुर्छनाबाट ब्युँताउने बुटी नै हुन् वर्तमानका निबन्धहरू । निबन्धप्रति अति आत्मीय बनाउँछन् वर्तमानका निबन्धले । यसोभन्दा कसैलाई आपत्ति होलाजस्तो लाग्दैन मलाई त । आपत्ति कसैको छ भने, उसले आफूलाई जतिसुकै गतिलो पाठक भनोस्, म भने ठान्ने छु, त्यो बालक हो र त्यसले नर्सरीको किताबदेखि आफ्नो पठन यात्रा दोहोर्‍याएर सुरु गर्नुपर्छ । गोविन्द वर्तमानका निबन्धप्रति आफ्नो यो अतिशय आत्मविश्वास प्रकट गर्नुका पछाडि मेरा केही मान्यताहरू पनि छन् । वर्तमान कनिकुथी निबन्ध लेख्दैनन् । पाठकलाई सास्ती दिँदैनन् । साहित्यको सामान्य अनुरागीदेखि रजिस्टर्ड मानिएका पाठकसम्मले उत्तिकै आनन्दका साथ उनका निबन्धरुपी जुसको भारी मात्रामा रसास्वादन गर्न सक्छन् । यो रसले युरिक एसिड उत्पन्न गर्दैन । त्यसबाहेक वर्तमानका नितान्त निजी अनुभूति पनि निजी गन्थन जस्तो लाग्दैन । वर्तमान भाषालाई एक सय असी डिग्रीको दृश्य समेट्न सक्ने फिस आई लेन्स फिट गरिएको क्यामराका रूपमा प्रयोग गर्न सक्छन् । त्यसैले त विषय अनि चरित्रलाई हेर्ने, अवलोकन गर्ने र अभिव्यक्त गर्ने मामिलामा उनी कति फराकिलो देखिन्छन् ।

सुन्दर निबन्ध बन्नलाई के के तत्त्व हुनुपर्छ । म अदनालाई यसबारेमा रत्तिएर पनि थाहा छैन । तर गोविन्द वर्तमानका निबन्ध पढ्दा मलाई जहिले पनि लाग्छ, उनी कति सुन्दरताका साथ निजी विषयलाई सार्वजनिक र सार्वजनिक विषयलाई निजी सरोकारको पनि विषय बनाइदिन्छन् । शब्दको गिमिक्स गर्दैनन् उनी । वाक्यहरूको एक्रोब्याटिक्स पनि देखाउँदैनन् । तर मलाई लाग्छ उनले निबन्ध लेख्दा शब्दहरू हात जोडेर उनका अगाडि उपस्थित हुन्छन् र भन्छन्- 'तपाईँको रचनामा अभिव्यक्त हुने एक मौका मैले पनि पाउँ हजुर ।'

'हिउँ ओढेका रंगीन गुराँसहरू'मा म पनि एउटा क्यारेक्टरको रूपमा आएको छु । अलिअलि नेगेटिभ क्यारेक्टरकै रूपमा । तर त्यस निबन्धमा मैले पाएको भूमिकाप्रति मलाई आपत्ति छैन । लेखक कहिलेकाहीँ एकदमै नजिकका साथीहरूसित अलिक बढी नै अपेक्षा राख्दछ । तर अपेक्षा पूरा नहुँदा उसको मनमा पर्ने घा खतले पनि कति सिर्जनात्मकताका साथ अभिव्यक्तिको निकास पाउँदो रहेछ भन्ने कुराको एउटा बान्की पनि हो यो निबन्ध । तर यसै निबन्धको अन्त्यका केही लाइन त मलाई उद्धरण नै गर्न मन लाग्यो । यस्तो छ त्यो-

'यत्तिकैमा करंगहरू भत्किएको एउटा रातो छाता ओढेर सात आठ वर्षका दुइटी केटीहरू सडकमा आइपुगे । हामी उनीहरूलाई हेरिरहेका थियौँ । सायद उनीहरू अलि मास्तिरको घरमा पुग्न खोज्दै थिएँ । थोत्रो छाताले उनीहरूलाई भिज्नबाट बचाइरहको थिएन । त्यसमाथि हामीले एकटकले हेरिदिएकोले उनीहरूलाई एकतमासको लाज लागेझैँ देखिन्थ्यो । त्यसैले रातो छाताको लल्याकलुलुक भएको कपडालाई बाटोमै मिल्काएर तिनीहरू दौडिए । ठीक त्यही बेला बर्सादीले सुरक्षित भएर नारायण ढकाल आइपुग्नु भयो ।'

धेरै ठुलो कुरा केही लेखिएका छैनन् यी लाइनहरूमा । तर यी लाइनहरूमा निबन्धकार वर्तमानको दृश्य चेत गजबैको लाग्यो मलाई । उनले साना साना विवरणमार्फत एउटा कन्ट्रास्टको पो निर्माण गर्दा रहेछन् । दुइटी केटी छाता छोडेर भाग्नु र नारायण ढकाल बर्सादी ओढेर आउनुको यो चित्रले सिनेमामा मोन्टाजले सिर्जना गरेजस्तै असर पैदा गर्दछ । भिन्न भिन्न दृश्यांशको चित्रणले एउटा भिन्न खालको भावको निर्माण गर्ने यस्ता मोन्टाजहरू वर्तमानका निबन्धमा कति भेटिन्छन् कति । यही चित्रमयता वर्तमानको निबन्धकारिताको धुनधानको शक्ति हो ।

आख्यानको जस्तो असर दिने निबन्ध बढी पढिँदो रहेछ कि क्या हो । वर्तमानका निबन्धहरूमा आख्यान कलाको भरपुर प्रयोग भएको छ । 'हरियो साइकल' पीडा र अभावको भयंकर आख्यानै त हो नि । यस्ता आख्यान निबन्धहरूले यो सङ्ग्रहलाई अग्घोरै स्वादिष्ट बनाएका छन् । त्यसैले कतिपय निबन्धलाई कथाकै रूपमा पनि लेख्न सकिन्थ्यो कि भन्ने पनि लागिरह्यो मलाई कतिपटक । आख्यानका आफ्नै सीमाहरू छन्, निबन्धका पनि आफ्नै खालका बोर्डर लाइनहरू होलान् । तर कहिलेकाही सीमा अतिक्रमण गर्दा त्यसले पनि मीठो असर पैदा गर्दो रहेछ । सिर्जनात्मक अतिक्रमण गर्दा विस्तारवादको आरोप पनि त लाग्दैन । गोविन्द वर्तमान बारम्बार सीमा अतिक्रमण गर्ने र बोर्डरहरू भत्काइरहने जब्बर लेखक हुन् भन्नेमा मलाई पहिला पनि शंका थिएन । अहिले पनि छैन ।

यो संग्रह पुरै पढिसकेपछि मलाई एउटा गतिलो उपन्यास पठनले दिने चरम सन्तुष्टि पनि दियो । यसभित्रका अक्रमबद्ध सिर्जनाहरूले कमजोर आर्थिक हैसियतको एउटा संघर्षशील, फिरन्ते, अन्तर्मुखी, हठी, निर्भीक र पूर्वाग्रहहीन एउटा व्यक्तिको जीवन, जगत् र सिर्जनाप्रतिका दृष्टिकोणलाई एउटा बलियो क्रममा ल्याएर उभ्याइदिन्छन् । हरेक निबन्ध त्यसैले एउटा बलियो उपन्यासका गतिला अध्यायहरू जस्ता पनि लाग्छन् । त्यसैले मनमा सत्यतथ्यको एकखाले सत्याख्यान नै तयार हुन्छ । एकसाथ फिक्सन र ननफिक्सनको आनन्द दिने सामर्थ्य राख्छ हरियो साइकलले । त्यसैले मलाई लाग्यो यसलाई हाम्रो समयको पढ्नै किताब किन नभन्ने ?

०००

हरियो साइकल पढिसकेपछि गोविन्द वर्तमान आफ्नो सम्पूर्ण आनीबानीसहित मेरा अगाडि उपस्थित भएका छन् । गए राति उनी मेरो सपनामा पनि आए । हामीले हात पनि मिलायौँ । चाबहिलको चिया पसलमा हामीले एक एक कप ब्ल्याक टी पनि खायौँ । उनले एक खिल्ली चुरोट पनि खाए । छुट्टिने बेलामा उनले चुरोटको धुवाँ उडाउँदै भने- 'फेरि भेटौँला ।'

त्यसैले म विश्वस्त छु, अबका दिनमा निबन्धको राजमार्गमा मेरो र उनको भेट भइरहनेछ । उनी मेरा लागि सधैँ वर्तमान नै रहिरहनेछन् । उनलाई अतीत त उनका सिर्जनाले हुनै दिनेछैनन् । उनलाई उनकै सिर्जनाले जीवन दिइरहनेछन् । हिजोको सपनामा भेट हुँदा अन्त्यमा उनले मलाई भने, उसरी नै धुवाँ उडाउँदै- 'धोकेबाज ।'

हो । धोकेबाज नै भने वर्तमानले मलाई ।

किन भने ?

त्यो बुझ्नको लागि त तपाईँले अक्षरहरूले लेखिएको हरियो साइकल पढ्नै पर्छ । त्यसपछि मलाई पक्का विश्वास छ, वर्तमानसित तपाईँको आजीवन जम्काभेट भइरहनेछ । त्यो भेटमा बस् उनले तपाईँका केही प्रश्नहरूको जवाफ दिने छैनन् ।

तपाईँ अब के लेख्दै हुनुहुन्छ ? तपाईँ अचेल कुन पुस्तक पढ्दै हुनुहुन्छ ? कसको किताबको रिभ्यू गर्दै हुनुहुन्छ ?

हो, यी प्रश्न अब तपाईँले गोविन्द वर्तमानसित नसोधेकै जाति ।

(२०६९ पुस २३ गते सोमबार । बिहान ।)

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि