बैशाख ११, २०८१, मंगलबार
               

निजी अस्पतालले सहयोग नगरे सरकारले लिएर चलाउँछ : डा. जागेश्वर गौतम

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

कोरोना महामारी बढेसँगै काठमाडौं उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । सरकारले संक्रमण नफैलियोस् भनेर सङ्क्रमित देखिएका ठाउँ सिल गर्नेदेखि अनेकौँ प्रयास गर्दै आएको छ । उपत्यकाका नाकामा कडाइ गरिएको छ । तापनि पछिल्लो समय सङ्क्रमित एवं मृतकको सङ्ख्या लगातार बढ्दै गइरहेको छ । यसअघि १२० दिनसम्म लकडाउन गरिएको थियो ।

लकडाउन मात्र समाधान होइन भन्दै सर्वत्र आवाज उठ्न थालेपछि सरकारले लकडाउन खुकुलो पारेको थियो । सरकारले संक्रमण बढ्दै गए पछि निषेधाज्ञाको नीति लिएको हो । कोरोना संक्रमण बढेका क्षेत्रमा गरिएको निषेधाज्ञा अहिले तोकिएकै समयमा अन्त्य हुन्छ कि थपिन्छ भन्ने धेरैको चासो छ । अर्कोतर्फ निषेधाज्ञा नै समाधान हो त यो प्रश्न हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई राखेका छौँ ।

अहिले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण दर बढेका धेरै जिल्लामा निषेधाज्ञा लगाइएको छ । सङ्क्रमणबाट जोगाउने विकल्प यही मात्रै हो ?

संक्रमण बढेको ग्राफ हेरेर यो निषेधाज्ञा नीति लिइएको हो । संक्रमण समुदायस्तरमा फैलिएका वा फैलिन सक्ने खतरा भएका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यसको मुख्य काम सार्वजनिक ठाउँमा भीडभाड रोक्नु हो । यसबाट भीडभाड नियन्त्रण भएको छ । जसबाट कुनै व्यक्ति सङ्क्रमित भएको रहेछ भने अर्कोलाई सर्ने खतरा कम हुन्छ । यसैले निषेध गर्ने आदेश जारी गरेर मात्रै कोरोना नियन्त्रण हुने होइन । मान्छेलाई मान्छेको बीचमा नजान, भीडमा नजान, सामाजिक दूरी कायम गरेर बस्न र स्वास्थ्य मापदण्ड पालना गराउन निषेधाज्ञा गरिएको हो । 

लामो लकडाउनपछि अहिले निषेधाज्ञा जारी गरियो । यसपछि कोरोना नियन्त्रण गर्न के गर्ने तयारी छ ?

कोरोना संक्रमण फैलिएपछि विश्वका विभिन्न देशमा गरिएका प्राक्टिसलाई नै नेपालले पनि प्रयोग गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले जेजे नियम अवलम्बन गर्दै आएको थियो, त्यसैलाई अब पनि निरन्तरता दिइने हो । निषेधाज्ञा गर्नुपर्ने कारण भनेको मानिसले दूरी कायम नगरेकाले हो । लकडाउनचाहिँ तयारीका लागि गरिएको थियो, निषेधाज्ञाचाहिँ कुनै तयारीका लागि होइन । मानिस सबैजना आफैँ सचेत भएर व्यक्तिव्यक्तिबीचको दूरी कायम गरे भने यो निषेधाज्ञा गर्नुपर्ने थिएन । लकडाउन खोलेपछि मानिसहरु बाहिर निस्किए तर सतर्कता अपनाएनन् । जसका कारण संक्रमण फैलिएको हो । र, अहिले निषेधाज्ञा जारी गर्नुपरेको हो । अब स्वास्थ्य मन्त्रालयले संक्रमण दरअनुसार नीति लिँदै जानेछ ।

कोरोना रोकथाममा सरकारले लगाएको नीति जनताले पालना गर्दै आएका छन् । लकडाउन र निषेधाज्ञामा मात्र होइन सधैभरी व्यक्तिगत भौतिक दूरी टाढा गर्नुपर्छ, सर्कता अपनाउनुपर्छ यसमा धेरैले लापरबाही गरेका हुन् ?

हो । कोरोना रोकथाम तथा नियन्त्रण सरकारले मात्रै गरेर सम्भव हुँदैन । सबैले आफू सचेत भएर विश्व स्वास्थ्य सङ्गठन तथा हामीले जारी गरेका निर्देशिक पालना नगरेसम्म रोकथाम हुँदैन । यसमा ढुक्क हुनुस् ।

अब सरकारले गर्नुपर्ने काम के–के हुन् ?

सरकारले गर्नुपर्ने काम भनेको परीक्षणको दायरा बढाउने हो । विगतको तुलनामा हामीले संक्रमण बढेका क्षेत्रमा स्रोत साधनाले भ्याएसम्म परीक्षणको दायरा बढाइरहेका छौँ । 

अहिले आवश्यक परेजति, संक्रमतिको सम्पर्कमा आएका मानिसलाई टेस्टिङ गराइरहेका छौँ । टेस्टिङ गरेका मानिसलाई आइसोलेसनमा राख्छौँ । स्रोतसाधना र सुविधा भएकालाई घरमा पनि राख्छौँ । 

काठमाडौं उपत्यकामा सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको छ । तर, आइसोलेसन र भेन्टिलेटरचाहिँ निक्कै कम छन् ? कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

अहिले सङ्क्रमित बढेको तुलनामा यहाँ स्रोत साधन कमै छ । यसैले हामीले निजी अस्पताललाई पनि आइसोलेसन बेड बनाउन भनेका छौँ । त्यो पालना नगर्नेलाई विभिन्न सेवा सुविधाबाट वञ्चित गर्ने चेतावनी दिएका छौँ । 
अर्को कुरा काठमाडौं उपत्यकाको हकमा तुरुन्त ६ हजार आइसोलेसन बेडको बन्दोबस्त गर्दैछौँ । त्यसपछि जो सिरियस छन्, उनीहरूलाई अस्पतालमा राख्छौँ । के बुझ्नुस् भने कोरोनाको उपचार छैन । यसैलै रोगप्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प छैन । 

कोरोना नियन्त्रणमा निजी अस्पतालहरूले सहयोग नगरेका हुन् ?

महामारीका बेला निजी र सरकारी भन्ने कुरा हुँदैन ।बरु जरुरी पर्दा सरकारले निजी अस्पताल पनि लिएर चलाउँछ । उनीहरूले सहयोग गरुन्जेल सहयोग लिन्छ, यदि नदिने अवस्था भयो भने आफैँ लिएर चलाउँछ । किनकि यो सरकारको एक्लो प्रयासले नियन्त्रण हुँदैन । 
त्यसैले सबैले आफैँलाई कोरोना लाग्न सक्ने भन्ने सोचेर नियन्त्रणका लागि दिन सकिने योगदान दिनुपर्छ । आफैँ सचेत र सकर्त पनि हुनुपर्छ । 

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा कति समय जान्छ ?

यो निषेधाज्ञा स्वास्थ्य मन्त्रालयले लगाएको होइन । स्थानीय प्रशासनले लगाएको हो । कति जान्छ, के जान्छ भन्दा पनि कोरोना संक्रमण दर कम हुँदै गएमा निषेधाज्ञा हटाउने हो । १० गतेसम्म हामी घरमा बस्यौँ र सरकारले जारी गरेको सूचनालाई अक्षरशः पालना गर्‍यौँ भने भाइरस धेरैमा सर्दैन । त्यसपछि संक्रमण कम हुन्छ । निषेधाज्ञा तथा लकडाउन गर्नैपर्दैन ।

यो पनि