बैशाख ०६, २०८१, बिहीबार
               

मर्नुभन्दा एक पलअघि हजारौँ सपना बाँच्ने रहर छ

चेतन पाण्डे
साउन २८, २०७७

ADVERTISEMENT

आज एक पटक मर्न मन लागेको छ ।

मर्नुभन्दा अघिको एक पलमा हजारौँ सपना बाँच्न पनि मन लागेको छ । वास्तवमा भन्ने हो दोधारमा छु म । मर्न मन लागेको छ कि बाँच्न ? अनि त्यही पलमा इतिहासका अपत्यारिला गल्तीहरूलाई पनि सच्याउन सपना जागेको छ । 

०००

सडक, बस्ती हेर्छु फेरि सुनसान बनेका छन् । मानिसका मन हेर्छु झन् कपटी पो बनेका छन् जस्तो लाग्न थालेको छ । बगैँचाका फूल पनि एक्लो बनेका झैँ देख्न थालेको छु । भँवरा पनि कतै बिलाएका हुन् कि जस्तो ? 

मन नै नरमाइलो भएपछि खुलेको आकाश देख्दा पनि झर्को लाग्दो रहेछ । पानी दर्कँदा पनि झिँजो लाग्दो रहेछ । मृत्यु कुन कुनाबाट हामीतिर दौडिएर आउँदै छ, कसैलाई थाहा छैन । कोरोना जस्ता रोग लाग्दा सबैले ज्यान नगुमाए पनि सङ्क्रमणबाट मुक्त नहुँदासम्म माया गर्ने सबैलाई पलपल रुवाइ नै रहन्छ । हाँस्दा पनि मुहारलाई रुन्चे बनाइदिन्छ ।

समय नै खराब पो छ कि ? कहीँ कतै हँसिलो मुहार देख्न सकिरहेको छैन । श्वास नफेरे ज्यान जान्छ रे । फेरे पनि जाने खतरा बढ्दो छ । कसैको मलामी गए, भोलि आफ्नै पछाडि अरू मलामी बनेर कुद्ने हुन् कि ? त्रास पनि बढ्दो छ ।

मन नै नरमाइलो भएपछि खुलेको आकाश देख्दा पनि झर्को लाग्दो रहेछ । पानी दर्कँदा पनि झिँजो लाग्दो रहेछ । मृत्यु कुन कुनाबाट हामीतिर दौडिएर आउँदै छ, कसैलाई थाहा छैन । कोरोना जस्ता रोग लाग्दा सबैले ज्यान नगुमाए पनि सङ्क्रमणबाट मुक्त नहुँदासम्म माया गर्ने सबैलाई पलपल रुवाइ नै रहन्छ । हाँस्दा पनि मुहारलाई रुन्चे बनाइदिन्छ ।

हो, त्यो मर्ने पल अघि यो रोग नै मरेको हेर्ने चाहना जागेको छ ।

जिन्दगी कुन हलोमा अड्किएको छ । पत्तो पाउन कठिन छ । अनि मृत्यु कहाँ लुकेको छ, झन् रहस्य मै छ ।

मर्नुभन्दा एक पल अगाडि त्यो थाहा पाउन पनि मन लागेको छ । जिन्दगी र काल कहाँ लुकेको हुँदा रहेछन् अनि उनीहरूका गन्तव्य कसरी  मिल्दो रहेछन् । चाहे सूर्य होस् वा चाहे चन्द्र । मृत्यु र समयको आहटलाई गनेर बस्न सक्छन् तर, रोक्न सक्दैनन् । बस्, सक्छन् त समयको गतिलाई नियाली रहन मात्र । अनि त्यही समयचक्रमा कालको ताण्डव हेर्न मात्र । मुकदर्शक बनेर ।जसरी जीवन र मृत्युको सङ्गमले एउटा मानिससँगै उसका अनेकौँ चाहना र सपनाको पनि अस्तित्व मेटाउँछ । अनि हरेक जन्म र मृत्युको साक्षी पनि उभिई नै रहेका हुन्, त्यही चन्द्र र सूर्य बनेर । समय र कालले न कसैलाई माया गर्न जानेको हुन्छ, नतै घृणा ।

०००

मलाई महाभारत मन पर्दैन । तर, कृष्ण र राधाको प्रेम मन पर्छ । जसलाई महाभारतमा वर्णन गर्न वेदव्यासलाई पनि कठिन भएर होला, उनले पनि त्यो प्रेम कथा बारे चुँसम्म गर्न सकेनन् ।त्यसैले होला महाभारतमा कृष्ण र राधाका प्रेमका कथा नअटेका वा नलेखिएका । हुनसक्छ, वृद्धावनमा छरिएका प्रेमका सुभाष र कुरुक्षेत्रमा बनेका रगतका आहालको दुर्गन्ध एउटै ग्रन्थमा उतार्ने हिम्मत वेदव्यासले पनि नगरेका । अनि एउटै व्यक्ति कृष्णका हृदयमा कसरी अटाउँदो हो,  रगतको रातो र प्रेमको सुनौलो, दुई भिन्न रङ्ग । अनि वेदव्यासले पनि माया र घृणाका चक्रव्युहमा हाम फाल्न सकेनन् होला । आफूले लेखेको ग्रन्थ कमजोर नबनाउन महाभारतमा कृष्ण र राधाको प्रेमलाई स्थान नदिएका ।

महाभारतले मृत्युलाई सहज मानेको छ । एक पटक आज मेरो बस्ती हेर्ने हो भने मृत्यु सहज हुँदैन भन्ने पक्का हुन्छ । मृत्युले त सबैलाई उकुस मुकुस बनाउँदो रहेछ । हिजोसम्म मस्त चलिरहेको सहर आज ठप्प बनेको छ । फेरि एक पटक मृत्युको भयले । 

कुरुक्षेत्र पनि लासको पहाड उभ्याएर शान्त बनेको थियो । जो लास बने कमजोर कहलिए, पापी मानिए । जसले लासको पहाड बनाउने कथा रचे, ऊ भगवान बने । एउटै व्यक्तिको हृदय कसरी त्यस्तो भिन्न बन्न सक्यो होला ? जो राधा र हजारौँ गोपिनीलाई एकसाथ माया गर्न सक्छ । उनीहरूको मनमा मायाको समुन्द्र रित्याउन सक्छ ।

अनि  त्यही पात्र कुरुक्षेत्रको युद्धको पनि निर्माण गर्न सक्छ । त्यही हृदय भएको व्यक्तिले कसरी लासका पहाड माथि चढेर बाँसुरी बजाउन सक्छ होला ? लासका पहाड बनाउने कथा रच्न सक्छ होला ? कसरी पत्याउने ?

जसले राधाको अन्तिम इच्छाका लागि बाँसुरी बजाए । अनि राधाको प्राणसँगै कहिल्यै बाँसुरी नबजाउने निधो गरे । प्रेमका खातिर प्रियतमा र प्रिय वस्तुको एकसाथ विरह भोगे । एउटै व्यक्तिमा यस्तो फरक चरित्र कसरी लुकेको हुन सक्ला ?

०००

म मर्नेभन्दा त्यो एक पलअघि कृष्ण भएर पनि बाँच्न चाहन्छु । हजारौँ गोपिनीसँग रासलीला पनि मनाउन चाहन्छु । महाभारतमा रहेका प्रेम बाहेक घृणाका हरेक अक्षर मेटाउन चाहन्छु । घृणालाई इतिहासबाटै मुक्त गराउन चाहन्छु । नसके कुरुक्षेत्रका विभत्स युद्धलाई मात्र भए पनि महाभारतबाट हटाउन चाहन्छु । मायाले नै दुर्योधनको मनमा परिवर्तन पनि ल्याउन चाहन्छु । द्रौपदीको चीरहरणलाई पनि रोक्न चाहन्छु । पाण्डवको वनवासको पाना च्यातेर दुखान्त कथालाई सुखान्त पनि बनाउन चाहन्छु । बस्, एक पटक यो सपना बाँच्न चाहन्छु ।

कोही मर्नु वा कसैलाई मार्नु समस्याको समाधान होइन । हाम्रो धर्म संस्कारले त्यही सिकाउँछ । तर, हाम्रा हाम्रा धर्म भित्र जति कथा रचिएका छन्, ती सबै कसै न कसैको मृत्युमा नै टुङ्गिन्छन् । हाम्रो धर्मले संसारको हरेक समस्याको समाधान मृत्युलाई मान्छ कि जस्तो लाग्छ । यी सबै मिथक हुन् । कुनै धर्मले हत्यालाई स्वीकार गर्दैन । त्यसमाथि हाम्रो जस्तो माया र करुणाले भरिएको धर्मले त झन् यस्ता कुरालाई कसरी स्वीकार गर्न सक्ला र ? सधैँ मनमा प्रश्न खेल्छ । कतै केही गलत त भएकै छ ! मन हुँडलिन्छ ।

हुन त अध्यात्मको अध्ययनमा म कमजोर छु । तर, जति पढेको छु, सुनेको छु, हाम्रो सनातन धर्म झैँ माया र करुणाको व्याख्या अरू कुनै धर्मले गर्न सक्दैन । मानिसले पो स्वार्थका खातिर यसको अपव्याख्या गरेका छन् । समाजलाई चिरेका छन् । जातमा, वर्गमा ।

लाग्छ, भगवानले कसरी कुनै जीवको रगत स्वीकार गर्छन् होला ? तर, मासुको चोक्टा लुछ्न चाहनेले बलिको नाममा कुरीतिको सुरुवात गरे । यस्तै लाग्छ । एउटै मूर्तिको शिरमा कसरी पवित्र शीत मुस्कुराइ रहेका फूल र मन–मस्तिष्कलाई नै अस्थिर बनाउने रगत एकसाथ चढ्छन् होला ? एउटै मूर्तिमा कसरी दूध र रगत चढाउन मिल्छ होला ? कसरी स्वीकार गर्छन् होलान् भगवानले, दुई भिन्न सन्देश बोक्ने वस्तु । फूलले माया मात्र छर्छ, हत्याले त घृणा मात्र । तर, धर्मको अपव्याख्या गर्नेले दूध र रगतको मिश्रणबाट बन्ने रङलाई पनि नाम दिई सकेका छन् । त्यसैले त हाम्रो धर्मका कमजोरीको अपव्याख्या गर्नेहरूले यो धर्मलाई कमजोर बनाउँदै छन् । हामीलाई हाम्रै धर्मबाट टाढा लैजाँदै छन् ।

अनि भेट्न सक्दिन, म मेरो धर्मको भाका र कथामा समानता । संसारमा जति धर्म छन्, ती सबैले माया र करुणालाई प्रोत्साहित गर्नु पर्छ भन्ने लाग्छ । कुनै पनि धर्मले आफैँ पाप गर्दैन । त्यसमाथि भगवानले त झन् कसरी पाप गर्दा हुन् कुन्नि ?

अनि कति कुरो मनमा गाँठो भएर बसेका छन् नै । राधालाई छाडेर रुक्मिणीसँग लगन गाँठो कसेका कृष्णलाई धोकेबाज भन्ने कि नभन्ने ? अनि एउटा नागरिकको सामान्य अभिव्यक्तिमा दुई जिउकी पत्नीलाई चटक्क घर निकाला गर्ने रामलाई पनि हृदय नभएका भन्ने कि नभन्ने ? हाम्रो धर्मको व्याख्या गर्नेहरूले त्यो छुट हामीलाई दिएका छैनन् । भगवान मानिएपछि उनका हरेक गल्तीलाई पनि जीवनको सार बनाउनु पर्छ र ? गलत ।

हाम्रो सनातन धर्मले त प्रेमलाई पुण्य मानेको छ । घृणालाई मन र मस्तिष्क मै वर्जित गरिएको छ । म त्यही सनातनी बन्न चाहन्छु । मर्नुभन्दा अगाडिको एक पल त्यही सनातनी भएर बाँच्न चाहन्छु । 

रामले सीता त्यागेको र कृष्णले राधालाई अपनाउन नसकेको विषय कुनै पनि धर्ममा धर्मको परिभाषासँग मेल खाँदैन । अनि सियाराम र राधेकृष्णको उच्चारण जीवनको सार हो भनेर पनि कसरी मानूँ । 

अनि आफ्नो सन्तानको मायामा रामलाई वनवास पठाउने कैकेयीलाई बिचरी भन्ने छुट पनि छैन हामीसँग । अनि हाम्रो धर्म संस्कारलाई समयानुरुप परिस्कृत गर्ने र व्याख्या गर्ने छुट पनि हामीलाई छैन । तर, अब हुनु पर्छ । नत्र होली वाइनको सेवन गर्नेलाई कोरोना जस्ता रोगबाट लाग्दैन भन्ने जमातले हाम्रा डाँडा काँडा ढाक्ने छन् । अनि हामी पुरानै राग गाएर त्यो दृश्य मूकदर्शक बनेर हेरिरहेका हुन्छौँ । गलतलाई सही भनिरहेका हुन्छौँ । 

जसरी धर्मग्रन्थ मानिसको उत्कृष्ट सिर्जना हुन् । जसरी मूर्ति पनि मानिस कै सिर्जना हो । हो त्यसैगरी पाप र पुण्यको व्याख्या पनि हामी मानिस कै दिमागी उपज हो । कुनै कथाका केन्द्रीय पात्रलाई नायक मान्न सकिन्छ, भगवान मान्न सकिँदैन । त्यसैले मर्नुभन्दा एक पलअघि हाम्रो धर्मको समयसापेक्ष व्याख्या गर्ने व्यक्तिको पहिचान गर्ने चाहना पनि पलाएको छ ।

हाम्रो सनातन धर्मले त प्रेमलाई पुण्य मानेको छ । घृणालाई मन र मस्तिष्क मै वर्जित गरिएको छ । म त्यही सनातनी बन्न चाहन्छु । मर्नुभन्दा अगाडिको एक पल त्यही सनातनी भएर बाँच्न चाहन्छु । 

मलाई बुद्ध र रामलाई मानिसले कोरेका भूमिको सीमाभित्र बाँध्नु छैन । उनीहरू सारा संसारका हुन् । उनीहरू कहाँ जन्मिए भन्ने प्रश्न पनि ठुलो होइन । उनीहरू जन्मेका र मरेका स्थान त व्यापारीका लागि मात्र हो । जसलाई देखाएर अर्बौको व्यापार गर्न सकिन्छ । बस्, उनीहरू हाम्रा मनका सीमाभन्दा बाहिर नजाउन् त्यही प्रार्थना छ । 

०००

मेरो मन कोरोनाले मात्र होइन, सिरियामा मर्नेहरूको चित्कारले पनि दुखाउँछ । धर्मका नाममा पाकिस्तान र भारतमा मर्नेहरूको चित्कारले पनि दुखाउँछ । अनि मैले कहिल्यै नसुनेको र नदेखेको भूगोलमा मर्नेहरूको चित्कारले पनि मनलाई उद्वेलित बनाउँछ ।

मलाई गर्व लाग्छ, कम से कम मेरो हिन्दु धर्मको नाममा मनै दुखाउने गरी हिंसा हुँदैनन् । यो धर्मका खातिर ठुलो सङ्ख्यामा दूधे बालकहरू बेसहारा बन्नु पर्दैन । तरपनि, यही धर्मले रचेका जातभातका सीमा रेखाले भने मनलाई चसक्क बिझाउँछ ।

त्यसैले म मर्नुभन्दा त्यो एक पल अगाडि यो सारा संसारमा सबैले सबैलाई माया मात्र बाँडिरहेको हेर्न चाहन्छु । सारा हतियारहरूमा खिया लागेको हेर्न चाहन्छु ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि