चैत १६, २०८०, शुक्रबार
               

बाढीले सुत्केरी र गर्भवती प्रभावित

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

टीकापुर । कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो । 

ती किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी रहेका छन् ।

नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान दिन थालेको छ भने गर्भवती र सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला नै दिन थालेको उपप्रमुख छाया देवकोटाले बताइन् ।

‘महिलालाई बढी समस्या हुन्छ, यस्तो समस्यामा महिलालाई सरसफाइका लागि सामग्री चाहिन्छ’, उनले भनिन्, ‘महिलालाई पानी शुद्धीकरणका लागि चाहिने पियुससमेत दिएका छौँ, यस्तो बेलामा शुद्ध पानी आवश्यक हुन्छ ।’

बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरुका लागि पोषण सहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ । उनले भनिन्, ‘हामीले विभिन्न संघ संस्थासँग पोषण प्याकेज सहयोगका लागि समन्वयसमेत गरिरहेका छौँ, गर्भावस्था र सुत्केरी अवस्था विशेष अवस्था भएकाले हामी गम्भिर छौँ ।’

भजनी–८ की रुपा चौधरीको दुई महिनाकी छोरी छन् । दुई महिनाकी सुत्केरी रुपा बाढी आएपछि परिवारसँगै विस्थापित भइन् । रुपाको परिवार पाँच दिन पथरैया पुलमा पाल टाँगेर बसे । ‘पालमुनि बस्दा निकै कठिन भयो, त्यहाँ खान पनि पाइएन’, उनले भनिन्, ‘पानी घटेपछि घर फर्कियौँ तर घरमा सबै खाद्यान्न नष्ट भइसकेको छ ।’

उनको परिवारलाई शनिबार नगरपालिका र केही संघ संस्थाका प्रतिनिधि आएर राहतस्वरुप खाद्यान्न दिए । ‘बच्चाको सरसफाइ पनि राम्ररी गर्न पाएकी थिइन’, रुपाले भनिन्, ‘साबुन पाएपछि बच्चालाई नुहाइदिए, अनि लुगा पनि रहेछ, नयाँ लुगा फेरिदिए ।’ सुत्केरी महिलालाई बढी आवश्यकता र समस्या हुने भएकाले विशेष राहत दिनुपर्ने उनको माग छ ।

भजनी–५ की रत्ना धामी गर्भवती छन् । गर्भवती भएदेखि नियमित अण्डा, दूध खाने उनलाई आजभोलि भात खानै समस्या भएको छ । ६ महिनाकी गर्भवती रत्ना आफूजस्ता महिलालाई सरकारले बिशेष सहयोग गर्नुपर्ने माग गर्छीन् । ‘हामीले राम्ररी खान पाएका छैनौँ, बाढीले जताततै दुर्गन्ध छ, स्वास्थ्य परीक्षण, पोषिलो खानेकुरा खाने अवस्था छैन । हामीलाई सरकारले हेरोस्’, उनले भनिन् ।

भजनी नगरपालिकामा बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका थिए । पानी घटेपछि उनीहरु घर फर्कने क्रम जारी छ । सामान्य बाढीले प्रभाव पारेका परिवार त दुई हजार बढी छन् ।


कस्तो लाग्यो ?

यो पनि