बैशाख ०७, २०८१, शुक्रबार
               

गीत सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

रामबहादुर थापा, बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो । 

उक्त गीतमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीले मीठो स्वर भरेका छन् । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन् । स्रोता–दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ । पछिल्लो एक महिनामा झण्डै दश लाख पटक हेरिएको छ । ‘स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो’, सङ्गीतकार वसन्त थापाले भने ।

झ्याउरे लयमा ठेट जनजीब्रोका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका छन् । हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । ‘मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो’, उनले भने ।

गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए । उनको साङ्गीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । एक लाख सब्सक्राइबर युट्युब च्यानलको समूह सदस्य पुगेपछि उक्त च्यानलले अर्वाडसमेत पाइसकेको छ । 

अहिले उक्त च्यानलको सब्सक्राइब झण्डै ६ लाख पुगेको छ । गीतका बारेमा युट्युबमा १३ हजार बढीले प्रतिक्रिया जनाएका छन् । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सब्सक्राइबर युट्युब च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । अमेरिका, युरोपलगायतका देशबाट हेर्दा बढी पैसा आउँछ ।

सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने कलाकार बताउँछन् । श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । सालको पातले पनि सम्बन्धित लगानीकर्ता–कलाकारलाई आकर्षक कमाइ दिलाएको छ । गायक विश्वकर्मा र सङ्गीतकार थापाबीच अर्को लोकदोहोरीमा पुनः सहकार्य हुँदैछ । ‘शब्द रचना प्रल्हाद सुवेदीले गरेका छन् भने गायिका को राख्ने निश्चित भइसकेको छैन’, वसल्त थापाले भने । - रासस


कस्तो लाग्यो ?

यो पनि