बैशाख ०८, २०८१, शनिबार
               

विष्णुको मृत्यु भएपछि नारायणी अस्पताल तोडफोड

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

वीरगन्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड भएको छ ।  

एक गम्भीर बिरामी (युवती) विष्णु लामालाई निजी अस्पतालले उपचार गर्न नमान्दा युवतीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरेका हुन् ।  

सरकारले केही दिनअघि मात्रै यस अस्पताललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेपछि सर्वसाधरणको आक्रोश चुलिएको थियो । 

अन्य रोगका बिरामीको निजी अस्पतालले उपचार गर्न नमानेको अवस्थामा नारायणी अस्पताललाई जनरल अस्पताल कायमै गर्नुपर्ने माग उठ्दै आएको छ ।

वीरगञ्‍जमा सञ्चालित नेशनल मेडिकल कलेजसहित कुनै अस्पतालले पनि ज्वरो आएकासहित कुनै पनि बिरामीको उपचार गर्न नमानेपछि सर्वसाधारणले नारायणी अस्पताललाई जनरलमा परिणत गर्नुपर्ने बताउँदै आएका छन् । 

यस्तोमा नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा वीरगञ्‍ज–२ छपकैया बस्‍ने २० वर्षीया युवतीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै तनाव बढेको हो । 

उनलाई वीरगञ्जका कुनै पनि निजी अस्पतालले उपचार गर्न अस्वीकार गरेका थिए । निजीले उपचार अस्वीकार गरेको अवस्थामा सरकारी अस्पताललाई जनरल बनाउन सकेमा अन्य रोगका बिरामीले यसरी मर्नु नपर्ने उनीहरुको मत छ । 

आइतवार बिहान आक्रोशित समूहले नारायणी अस्पतालमा तोडफोड गरेको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।  

तोडफोडबाट डा. उपाध्यायकै गाडीमा क्षति पुगेको छ। त्यसैगरी डा. उदयनारायण सिंहको गाडी पनि तोडफोड गरिएको छ । 

उक्त समूहले कोभिड–१९ को स्वाब संकलन गर्ने बुथ र सेनिटाइज गर्ने मेसिन पनि तोडफोड गरेका छन् । उनीहरुले अस्पतालमा राखिएका अन्य सामाग्रीमा पनि क्षति पुर्‍याएका छन् । 

ज्यान गुमाएकी ती युवतीलाई निजी अस्पतालले नलिएपछि नारायणी अस्पतालमा कोभिडको सिन्ड्रम अनुमान गरेर गण्डक कोभिड अस्पतालमा लगिएको थियो ।  

नारायणीमा पछिल्लो पटक ३८ जना स्वास्थ्यकर्मी आफैं संक्रमित भइसकेका छन् । नारायणी अस्पतालले सबै सेवा दिन नसक्ने अवस्था रहेको उपाध्यायले बताए । 

यसबीचमा  सरकारले वीरगञ्‍जमा कोरोना फैलिइसकेपछि पुनः कोभिड अस्पताल बनाउन भनेर पत्र पठाएको  छ ।  

वीरगञ्‍जमा हाल गण्डक अस्पताल र वीरगञ्‍ज हेल्थ केयरलाई कोभिड अस्पताल बनाइएको छ । गण्डकले थेग्न नसकेपछि वीरगञ्‍ज हेल्थ केयरलाई पनि कोभिड अस्पताल बनाइएको छ ।

यो पनि