बैशाख १३, २०८१, बिहीबार
               

हाइकुमा राजनीतिक, सामाजिक व्यंग्य

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । कवि, समालोचक तथा उपप्राध्यापक तेजविलास अधिकारीले लेखेको हाइकु संग्रहको ‘उच्छलन’ विमोचन भएको छ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठको नेपाली विभागले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा गरेको कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले उक्त कृतिको सार्वजनिक गरे ।

प्राज्ञ डा. नेपालले समाजको समसामयिक परिवेश चित्रण संग्रहमा रहेको बताए । उनले भने, ‘संग्रहमार्फत नेपाली साहित्यमा सुन्दर हाइकु सिर्जना आएका छन् ।’ उनले समसामयिक चेतका साथ आएका हाइकु निकै चोटिलो रहेको बताए । उनले भने, ‘हाइकुमा राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन हुन नसकेको अनुभूतिलाई समेटिएको छ ।’ 

संग्रहमाथि टिप्पणी गर्दै डा. लेखप्रसाद निरौलाले हाइकुमा विद्रोहात्मक चेत बढी रहेको बताए । उनले समकालीन राष्ट्रिय सन्दर्भलाई निकै कलात्मक रुपमा उतारिएको भनाइ राखे । उनले भने, ‘हाइकुमा अधिकारीले नेपाली सामाजिक जनजीवनको यथार्थ भावलाई व्यक्त गर्नुभएको छ ।’ संग्रहमा रहेका हाइकुको मुख्य विशेषता भनेकै सशक्त व्यंग्यात्मक चेत रहेको बताउँदै डा. निरौलाले राष्ट्रपतिदेखि अदालतसम्मलाई व्यंग्ग गरेको जिकिर गरे । 

कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष प्रा.धुव्र ज्ञवालीले नेपाली साहित्यमा चोटिलो विधाका रुपमा हाइकु आएको र यसमा अधिकारीले आफूलाई सशक्त रुपमा प्रस्तुत गरेको बताए । उनले भने, ‘यस्ता कार्यले प्राज्ञिक उन्नतिमा सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ । भविष्यमा यस्ता कृति अझै व्यापकरुपमा आउनुपर्दछ ।’

अर्का सहप्रा. शान्तिकृष्ण अधिकारीले राजनीतिक, सामाजिक तथा आर्थिक विषयलाई तेजविलासले सशक्त रुपमा हाइकुमार्फत उतारेको बताए । वाल्मीकि विद्यापीठका प्रमुख गणेश प्रसाद घिमिरेले सहज र सरस भाषामा अधिकारीले हाइकु लेखेको बताए । उनले भने, ‘संग्रहमा सरल भाषामा सटिक र चोटिलो ढंगले व्यंग्य गरिएको छ ।’

प्रमुख घिमिरेले व्यंग्य चोटिलो ढंगले आएको बताउँदै थपे, ‘हाइकु संग्रहमा व्यक्त व्यंग्य समाज, राजनीति, सामाजिक संरचना तथा व्यवस्थाप्रति केन्द्रित छन् ।’ विद्यापीठका नेपाली विभागीय प्रमुख प्रा.डा. भागवत ढकालले हाइकुकार तेजविलासले गहकिलो कृति ल्याएको बताए । उनले विभागले आगामी दिनमा सिर्जनात्मक गतिविधिलाई व्यवस्थित ढंगले अगाडि बढाउने जानकारी दिए । प्रा.डा. ढकालले भने, ‘हाइकुको प्रयोग नेपाली समाजमा भिन्न भिन्न रुपमा भइरहेको छ । स्रष्टा अधिकारीले  इमान्दार बनेर समाजको कुरालाई आलोचनात्मक रुपमा राख्नुभएको छ ।’ 

संग्रहमा समसामयिक राजनीति, विश्व परिदृश्य, समाज, प्रकृति, राष्ट्रप्रेम तथा सीमान्तकृत समुदायको भावना समेटिएका हाइकु संग्रहित छन् । समाजभित्रका विभिन्न परिवेशले आफूलाई हाइकु लेख्न अभिप्रेरित गरेको हाइकुकार तेजविलास अधिकारीले बताए । उनले भने, ‘समसामयिक परिदृश्य र त्यसको समाजमा परेको प्रतिछायाँ हाइकुका विषय बनेर आएका छन् ।

समग्र भन्नुपर्दा संग्रहमा नेपाली समाजको चित्रलाई उधिन्ने कोशिस गरिएको छ ।’ हाइकुकार अधिकारीले देश, समाज र मानिसमा विकास भएको नकार विचारलाई त्याग्न आग्रह गर्दै हाइकु लेखिएको बताए । कार्यक्रममा रामहरि कोइराला, रमेश जोशी, डा. नारायण प्रसाद चालिसे, चारुभा घिमिरे लगायतका वक्ताले मन्तव्य राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि