चैत १६, २०८०, शुक्रबार
               

क्रियाशील सदस्यको छानबिन गर्ने सभापति देउवाको भनाइ

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको छानबिन हुने बताएका छन् । 

नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएपछि बिहीबार सभापति शेरबहादुर देउवाले छलफलका लागि आफू इतरका नेता र पार्टी पदाधिकारीसँगको छलफलमा यस्तो बताएका हुन् ।

देउवा निवासमा सो छलफल  करिब तीन घण्टा चलेको थियो । छलफलको मुख्य एजेन्डा नै पौडेलको मागबमोजिम थियो । 

पौडेल समूहले १३ औँ महाधिवेशन सकिएलगत्तै गठन गर्नुपर्ने विभाग र समिति अहिले आएर गठन गरेको भन्दै विरोध गर्दै आएका थिए । 

अबको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । 

‘यो कुरा अब बस्ने केन्द्रीय समितिमा पनि छलफल हुनेछ र सोही केन्द्रीय समितिको बैठकले छानविन समिति पनि गठन गर्ने छ,’ उनले  भने ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको क्रियाकलापलाई केन्द्रमा राखेर विरोध जनाएका थिए । उनले  महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गरेको,  महाधिवेशनको मिति तोकिपश्चात विस्तार गरेको विभाग खारेज गर्नुपर्नेजस्ता माग राखेका थिए । 

यो बीचमा पार्टी सभापित शेरबहादुर देउवाले  ४७ मध्ये २० विभाग प्रमुख नियुक्त, चार सय ७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा पनि गठन गरेका छन् ।

बूढानीलकण्ठ बैठकमा पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीले पुर्‍याउने असर, पार्टीका भ्रातृ संस्थाहरूको म्याद थप र विस्तार, १३ औँ महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४ औं महाधिवेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता-कार्यकर्ताहरूको समायोजनलगायत विषयमा छलफल भएको बताइएको छ।

सो बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, डा.मीनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला सहभागी थिए । 

त्यसैगरी सो छलफलमा देउवा पक्षका  विमलेन्द्र निधि, विजय गच्छदार, पूर्णबहादुर खड्का,  प्रकाशशरण, महत प्रवक्ता विश्वप्रकाश शर्मालगायत नेता सहभागी थिए । 

यो पनि