बैशाख १२, २०८१, बुधबार
               

कोरोना संक्रमित मन्त्रीले भेटेका थिए गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  बुधबार कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ ।

काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री यादव यही आइतवार जनकपुर फर्किएपछि बुधबार साँझ आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले यो कुरा आफैंले पुष्टि गरेका छन् ।  

काठमाडौंबाट फर्किएपछि यादवले कोरोना परीक्षणका लागि जनकपुरमै स्वाब दिएका थिए । ‘हिजो मेरो पनि रिपोर्ट पोजेटिभ आएको छ । तर, यससँग डराउनु पर्ने आवश्यकता छैन', उनले भनेका छन्, 'सर्तकता अपनाएर यसविरुद्ध लड्नु पर्ने आवश्यकता छ ।’

कोरोना संक्रमण पुष्टि भएपछि उनी जनकपुरमै होम आइसोलेसनमा छन् । आइतवार जनकपुर जानुअघि उनले संघीय सरकारका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए । तर यादवलाई काठमाडौंमै या जनकपुरमध्ये कहाँ कोरोना संक्रमण भएको हो भन्‍ने खुल्न सकेको छैन ।

मन्त्री यादवले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्‍वर न्यौपानेसहितसँग भेटघाट गरेका थिए । त्यहाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उनी सामेल भएका थिए।  त्यहाँ उपस्थित हुने क्रममा यादवसहित प्रधानमन्त्री र गृहमन्त्रीले सामूहिक फोटो पनि खिचाएका थिए ।  उक्त बैठकका क्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षकसँग उनले भेट गरेका थिए ।  

त्यसैगरि, उनले काठमाडौंमै रहँदा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि बैठक गरेका थिए । त्यस बैठकमा पनि उनीसहित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु पनि सहभागी रहेको खुलेको छ । सामान्यत: एकजना व्यक्तिलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुको पनि कोरोना परीक्षण गर्ने गरिन्छ ।

उनको पनि कन्ट्याक्ट ट्रेसिङ प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। उनीसहित उनको मन्त्रालयका अन्य सातजना कर्मचारीलाई पनि बुधबारै साँझ कोरोना पुष्टि भएको थियो। 
 


कस्तो लाग्यो ?

यो पनि