बैशाख १३, २०८१, बिहीबार
               

‘फेरि लकडाउन भए मुलुकमा अर्को भयावह अवस्था आउँछ’

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

सरकारलाई पुन: लकडाउन गर्न विज्ञले दिएको सुझावपछि उद्योगी व्यवसायीहरू त्रासमा छन् । १ सय २० दिन लामो लकडाउनपछि बिस्तारै उठ्ने प्रयास गरेका व्यवसायीहरू 'पहिलेकै जस्तो लकडाउन होला कि' भन्ने चिन्तामा छन् । विगतको जस्तो दुर्गति अब भोग्नु नपरोस् भन्दै  बसेका उद्योगी व्यवसायीहरूले अब पनि त्यसो भए मुलुकमा अर्को भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

कोभिड–१९ संक्रमणको रफ्तार तीव्र भइरहेको समयमा विज्ञहरूको सुझाव अनुसार सरकारले फेरि पनि लकडाउन घोषणा गर्न सक्ने सङ्केत देखिएको छ । तर लकडाउन गर्नुपर्ने स्थिति भएमा पहिलेको जस्तो अव्यवस्थित नभई सुरक्षा र आवश्यकताको आधारमा क्षेत्र निर्धारण गरेर मात्र लकडाउन गरिनु पर्ने उद्योगी व्यवसायीको सुझाव छ ।

लकडाउन गरेर मुलुकलाई अस्थिर राख्नुभन्दा पनि सिमानामा कडाइ, अन्तर्राष्ट्रिय उडान अझै नखोल्ने, र कोरोना परीक्षण दायरा बढाउनुपर्ने उद्योगी व्यवसायीले सुझाव दिएका छन् । मुलुकभित्र लकडाउन गर्ने तर सिमानामा निस्फिक्री आवतजावत गर्न दिने हो भने लकडाउनको कुनै अर्थ नहुने उनीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा अहिलेको औद्योगिक तथा व्यावसायिक क्षेत्रले पुनः लकडाउनको कल्पना पनि गर्न नसक्ने बताउँछिन् । फेरि लकडाउन भएमा ठुला उद्योग उठ्नै नसक्ने गरी थला पर्ने मात्र नभई साना तथा मझौला व्यवसायीहरू व्यवसायबाटै पलायन हुने जोखिम रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘फेरि लकडाउन भएमा मुलुकको अर्थतन्त्रमा गम्भीर धक्का लाग्छ, निजी क्षेत्र पलायन हुन्छ, त्यसपछि देशको अर्थतन्त्र उकास्न वर्षौँ लाग्छ ।’

फेरि लकडाउन घोषणा भएमा सन्तुलन बिग्रिएर थप समस्या निम्तिने नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘४ महिना लामो  लकडाउन पश्चात् भर्खर-भर्खर लयमा फर्कँदै गरेको बजार फेरि लकडाउन भएमा सन्तुलन बिग्रिएर थप समस्या निम्तिन्छ । जसले मुलुकको अर्थतन्त्रमा क्षणिक नभएर लामो समयसम्म प्रभाव पार्न सक्छ ।’

निजी व्यावसायिक क्षेत्रकै अर्को नेतृत्वकर्ता उद्योग परिसंघ (सिएनआई) का पूर्व अध्यक्ष हरिभक्त शर्मा भने लकडाउन भए पनि औद्योगिक तथा व्यावसायिक क्षेत्र खुल्ला छाड्नु पर्ने बताउँछन् । यसअघि ४ महिना लकडाउनमा  गोलमटोल गरेर सबै क्षेत्रलाई लकडाउन गरिदा भएको क्षतिलाई मध्यनजर गर्दै फेरि गल्ती दोहोर्‍याउनु नहुने उनी बताउँछन् ।

‘आवश्यक औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई सुरक्षाका उपायहरू अपनाउँदै खुल्ला छाड्नु पर्छ,’ उनले भने, ‘यसो गर्दा लकडाउनको प्रभाव अर्थ बजारमा कम पर्न जान्छ । यदि यसो भएन भने त पहिलेको भन्दा पनि अझ नाजुक अवस्थामा मुलुकको अर्थतन्त्र जान सक्छ ।’

यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञसँग छलफल गरेका थिए ।  कोरोना संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरूले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका छन् । सो सुझाव आएपछि  लकडाउन हुने हो की भन्दै सरोकारवालाहरू त्रासमा छन् ।


कस्तो लाग्यो ?

यो पनि