बैशाख ०८, २०८१, शनिबार
               

लकडाउन खुलेको दुई सातामा थपिए ३ हजार सङ्क्रमित

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

लकडाउन अन्त्य भएदेखि कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको देखिएको छ । ४ महिनाको लकडाउनको समयमा देखिएका सङ्क्रमितको तुलनामा पछिल्लो दुई सातामा देखिएका सङ्क्रमित अत्यधिक देखिएका हुन् । लकडाउन अन्त्य भएको १४ मा ३ हजार सङ्क्रमित थपिएका छन् । लकडाउन अघि औसत दैनिक एक सय सङ्क्रमित थपिन्थे । अहिले भने कोरोना सङ्क्रमणकै कारण औसत १ जनाको मृत्यु भएको देखिन्छ । लकडाउनको अवधिमा भने ३ दिनमा औषध १ जनाको मृत्यु हुने गर्थ्यो ।

तर अहिले झन्डै तीन सय नजिक सङ्क्रमित थपिँदै छन् । लकडाउन साउन ८ गते खुलेको थियो । साउन ७ सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको थियो । त्यो दिनसम्म ४२ जनाको मृत्यु भएको थियो ।  भने १२ हजार ६ सय ८४ जना निको भएका थिए ।

सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै विज्ञहरूले जोखिम बढ्ने र सतर्क नरहे स्थिति घातक हुनसक्ने चेतावनी दिएका थिए । तर लकडाउन खुलेसँगै सङ्क्रमण दर पनि बढ्दै गयो । साउन १२ गतेसम्म सङ्क्रमित सङ्ख्या एक सय वरिपरिमै सीमित भएको थियो । तर साउन १३ गते सङ्क्रमण दर दोब्बरले वृद्धि भयो ।

तर अचानक साउन १३ गते ३ सय ११ जनामा सङ्क्रमण पुष्टि भयो । त्यसयता दैनिक २ सयदेखि ३ सय वरिपरि सङ्ख्यामा सङ्क्रमित थपिएका छन्  । सोमबार मात्र ४ सय १८ जनामा सङ्क्रमण पुष्टि भयो । यो पछिल्लो महिनामा देखिएको धेरै सङ्क्रमित सङ्ख्या हो ।

लकडाउन खुलेपछि सीमावर्ती सहरहरू वीरगन्ज, विराटनगर, राजविराज र जनकपुरमा धेरै सङ्क्रमित फेला परे । सीमाबाट हुने अव्यवस्थित आवतजावतले ती ठाउँहरूमा सङ्क्रमण बढेको बताइएको छ ।

परीक्षण दायरा बढाइएको दाबी

लकडाउन खुलेसँगै सङ्क्रमण जोखिम बढेको भन्दै सबैले सतर्क रहनु आग्रह गरिएको छ  । स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय सङ्क्रमण जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरेको हो । नागरिकहरूबाट पनि हेलचेक्र्याइँ हुँदा सङ्क्रमण बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न अपिल गरेको छ । जसका लागि मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने भनिएको छ ।

पछिल्लो समय कोरोना परीक्षण दायरालाई पनि बढाइएको मन्त्रालयले जनाएको छ। झन्डै दैनिक १८ हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले दाबी गरेको छ। पछिल्लो एक सातायता दैनिक ६ हजार बढीको परीक्षण गरिँदै आइएको छ। यद्यपि परीक्षण दायरा अझै फराकिलो नभएको भन्दै आलोचना भइरहेको  छ।


कस्तो लाग्यो ?

यो पनि