बैशाख ०५, २०८१, बुधबार
               

तानातानमा बामदेव : फकाउन भैँसेपाटी पुगे प्रचण्ड

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फेरिँदो समिकरणसँगै उपाध्यक्ष बामदेव गौतम दुई अध्यक्षको तानातानमा परेका छन् । मङ्गलवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् ।

अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको तयारीमा रहेका प्रचण्डले बिहान गौतमसँग भेट गरेका हुन् । साँझ ५ बजे हुने वार्तामार्फत सहमतिको बिन्दु खोज्ने प्रयास हुने भनिँदै गर्दा हालै ओली कित्तामा गएका गौतमलाई प्रचण्डले भेट्नु अर्थपूर्ण रुपमा लिइएको छ । 

गौतमले एक साताअघि दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका थिए । ओली पाँचै वर्ष प्रधानमन्त्री र प्रचण्ड पूर्णअधिकारसहितको कार्यकारी अध्यक्ष बन्नुपर्ने उनको प्रस्ताव थियो ।  

गौतम त्यसयता अर्का अध्यक्ष ओली निकट हुन पुगेको विश्लेषण हुन थालेका बेला प्रचण्ड (गौतम भेट्न) भैँसेपाटी पुगेका हुन् । गौतमको सो प्रस्ताव आएकै दिन ओली परिवारसहित उनलाई भेट्न भैसेपाटी पुगेका थिए । ओलीपछि प्रचण्ड पनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गौतमलाई आश्वस्त पार्न प्रचण्ड  भैसेपाटीस्थित निवास पुगेकाे अनुमान गरिएको छ ।

यद्यपि गौतमको सचिवालयले भने अध्यक्ष प्रचण्ड र गौतमको भेटको विषय सामान्य रहेको प्रतिक्रिया दिएको छ । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने ‘अध्यक्ष, उपाध्यक्ष भेट समसामयिक विषय हो, समसामयिक विषयमा छलफल भयो ।’

नेकपा विवादमा कहिले प्रचण्ड र कहिले ओली खेमातिर लाग्दै आएका गौतम पछिल्लो समय ६ बुँदे प्रस्तावसँगै ओली कित्तामा उभिएका छन् । उनी ओली पक्षमा गएपछि नेकपा सचिवालयमा ओली पक्षको बहुमत पुगेको छ । प्रचण्ड–नेपाल समूह सचिवालयमा अल्पमतमा परेको विश्लेषण हुन थालेको छ । ओलीले भने जारी स्थायी कमिटी बैठक स्थगन गर्दै सचिवालय बैठक राख्नुपर्ने माग गर्दै आएका छन् । मङ्गलवार साँझ ओली प्रचण्डबिच वार्ता हुँदै छ । वार्तामार्फत सहमतिको बिन्दु खोज्न प्रयास हुने नेताहरूले बताएका छन् ।

यसअघि पटक-पटक वार्ता भए पनि आ–आफ्नै अडान दोहोर्‍याउँदा ओली-प्रचण्डबीच सहमति जुट्न सकेको छैन । लामो संवादहीनतालाई तोड्दै दुई अध्यक्षबिच वार्ताको थालनी भए पनि आ–आफ्नो अडानका कारण जारी विवाद समाधान हुन सकेको छैन ।

यसअघि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बस्नुअघि सचिवालयमा सहमति कायम गरेर जानुपर्ने अडान राखो छन् । उनले एक महिनादेखि जारी स्थायी कमिटी बैठक बसेर अहिलेको विवाद हल गर्नुपर्ने अडान राखेका छन् ।

स्थायी समिति बैठक स्थगित गर्ने ओलीको निर्णयविरुद्ध प्रचण्डले गत मङ्गलवार स्थायी कमिटी बैठक सञ्चालन गर्दा विवाद उत्कर्षमा पुगेको थियो । दुवै अध्यक्षले सहमतिका लागि आ–आफ्नातर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए ।

खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएर जारी समस्या समाधानका लागि समन्वयकारी भूमिकामा देखिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि