चैत १६, २०८०, शुक्रबार
               

मुख्यमन्त्रीद्वारा बाढी-पहिरो प्रभावित गाउँको निरीक्षण

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गरे । 

मुख्यमन्त्री गुरुङले बाढीपहिरोले नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै बस्तीका लागि आवश्यक सहयोग गरिने आश्वासन दिए ।

जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको रहेको भन्दै प्रदेश सरकार सधैँ जनताको साथमा रहेको उनले प्रस्ट पारे । प्रदेशका मुस्ताङ र मनाङबाहेक नौ वटै जिल्लामा बाढीपहिराले करिब ५०० घरमा क्षति पुप्याएकाले प्रदेश सरकारले तिनको पुनः निर्माण गरिदिने उनको भनाइ छ । 

दुवार गाउँका बाढीपहिराबाट प्रभावित वासिन्दाले मुख्यमन्त्री गुरुङसँग गाउँमा बस्न उच्च जोखिम रहेको र उचित स्थानमा पुनः स्थापना गरिदिन आग्रह गरेका थिए । पहिरोको जोखिम रहे पनि तत्काल कतै जाने ठाउँ नभएकाले बाढीपहिरोको बेवास्ता गर्दै ज्यानको बाजी राखेर दिनरात कटाउँदै आएको उनीहरुको भनाइ छ ।

गत असार २६ गते आएको अविरल वर्षासँगैको बाढीपहिराले दुवार गाउँका छ घर पूर्णरुपमा ध्वस्त बनाएको छ भने ७० घर उच्च जोखिममा रहेका छन् । बाढीपहिराले गाउँका कुनै घर चर्किने, कुनै ढल्किएको अवस्थामा रहेको वडाध्यक्ष तुलबहादुर घलेले बताए । बस्ती बीचमा पानीको मूलसमेत पलाएकाले थप जोखिम भइरहेको उनको भनाइ छ । 

निरीक्षणमा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक मायानाथ अधिकारी, सांसदद्वय मधुमाया अधिकारी र धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सहभागी थिए । 

यसैबीच राष्ट्रिय युवा सङ्घको पहलमा दोर्दी गाउँपालिकाका युवाहरुले बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गरेका छन् । मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

सङ्घमा आबद्ध युवाहरुले रकम सङ्कलन गरेर ४५ बोरा चामल, ४५ बोरा तेल र ४५ नून सहयोग गरेका छौं । उनीहरुले ४५ घरलाई उक्त सामग्री सहयोग गरेका थिए । 

यो पनि