बैशाख ११, २०८१, मंगलबार
               

ओली सचिवालय बैठकको अडानमा, प्रचण्ड स्थायी कमिटीको पक्षमा

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठक गर्ने प्रस्ताव गरेका छन् । उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याएर बहुमत जुटाउन सफल भएका ओलीले जारी स्थायी कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाउने प्रस्ताव अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा ओलीले यस्तो प्रस्ताव राखेका हुन् ।

सोमबारको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए । आइतबार पनि प्रधानमन्त्री ओलीले सचिवालय बैठककै प्रस्ताव गरेका थिए । अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनुपर्ने जवाफ दिएका छन् । ‘विवाद जहाँको त्यहीँ छ, अब फेरि सचिवालय बैठक बस्ने कि स्थायी कमिटी भन्नेमै विवाद छ ’ एक नेताले भने ।

सचिवालयमा आफ्ना पक्षमा बहुमत नपुग्ने भएपछि यसअघि ओली आफैले बैठक लगातार स्थगित गर्दै आएका थिए । अहिले उपाध्यक्ष गौतम आफ्नो पक्षमा आएर समीकरण बदलिएपछि ओलीले आफुअनुकुल बनाउन प्रयासरत छन् । अहिलेसम्म शीर्ष नेताको बैठकमा कुनै सहमति ननिस्किएपछि  मङ्गलबार फेरि बैठक बस्ने सहमति भएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठकका पक्षमा छन् भने प्रचण्ड स्थायी कमिटी बैठक बोलाउनुपर्ने अडानमा छन् । गत साउन १३ गते प्रधानमन्त्रीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेका थिए । तर, प्रचण्डले स्थायी कमिटी बैठकको अध्यक्षता गर्दै बैठक चलाएका थिए । २९ जना सहभागी स्थायी कमिटी बैठकमा वरिष्ठ नेता खनाल र माधव नेपाल पनि सहभागी थिए ।
 


कस्तो लाग्यो ?

यो पनि