चैत १६, २०८०, शुक्रबार
               

जुनसुकै बेला काठमाडौंका नाका बन्द हुन सक्ने
फेरि लकडाउन गर्न पर्ख हेरको रणनीतिमा

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिएपछि काठमाडौं उपत्यकामा जुनसुकै बेला नाकाबन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने देखिएको छ । काठमाण्डौमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५९७ पुगेको छ । यसमध्ये काठमाडौं ४२३ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५७  जना कोरोना सङ्क्रमित पुगेका छन् ।

पछिल्ला दिनमा बढिरहेको सङ्क्रमितहरूको सङ्ख्या, ‘ट्राभल हिस्ट्री’ नभएकाहरूमा पनि सङ्क्रमण देखिनु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण बढ्नुले काठमाडौं कोरोनाको नयाँ हटस्पट देखिएको छ । तरकारी पसल तथा महाबौद्धको होलसेल पसलका व्यापारीहरूमा कोरोना सङ्क्रमण हुनु लगायतका कारण काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम निकै बढेको छ ।

सङ्क्रमण बढेको ठाउँ विशेषमा लकडाउन गर्न सक्ने व्यवस्था रहेकोले काठमाडौंमा जुनसुकै बेलामा सरकारले यस्तो निर्णय लिन सक्ने देखिन्छ । यसका लागि सम्बन्धित मन्त्रालयहरूले जोखिमको आङ्कलन गरी निर्णय लिनेछन् । ‘काठमाण्डौमा सङ्क्रमणको डरलाग्दो लक्षण देखिन थालेको छ, हामी थप परीक्षण र अनुसन्धान गरिरहेका छौँ’ विज्ञहरू भन्छन् ‘यदि मानिस आउने क्रम रोकिएन, सङ्क्रमण बढ्दै गयो भने लकडाउन वा नाकाबन्दीको निर्णय हुन्छ ।’

यसअघि लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा असर गरेको भन्दै खुलेको थियो । कतिपय व्यापार व्यवसाय सरकारले नखोल्दै पनि निजी क्षेत्रको दबाबका कारण खोलिएको थियो । लामो लकडाउनको चौतर्फी विरोध भएकाले अव फेरी लकडाउन नै नभए पनि उपत्यका छिर्ने नाका सिल हुनसक्ने सुरक्षा स्रोतको दाबी छ ।

उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेपछि सरकारले काठमाडौं भित्रने नाकाहरूमा स्वाब सङ्कलन गरेर परीक्षण गर्न थालेको छ । यसरी गरिएका परीक्षणमा पनि कोरोना सङ्क्रमण भेटिन थालेका छन् ।

नाकामा नियन्त्रण नहुँदा जोखिम उच्च

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे अहिले नै समुदायमा कोरोना फैलिसकेको भन्ने आधार नभए पनि जोखिम भने निकै बढेको बताउँछन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पनि काठमाडौं उपत्यकामा जोखिम बढिरहेको भन्दै सुरक्षित हुनको लागि दिनदिनै आग्रह गर्दा पनि पालना नभएको बताउँछन् ।

उनी भन्छन् ‘यसले हाम्रो जनस्वास्थ्यमा दुर्घटना ल्याउन सक्छ, नाकामा पनि नियन्त्रण भएको छैन, यी सबै कुराले हामी उच्च जोखिममा रहेकोले यसलाई रोक्न सबैको सहयोग आवश्यक छ ।’

बाक्लो र अव्यवस्थित बस्ती, संघीय राजधानी काठमाडौं आर्थिक क्रियाकलाप धेरै भएको ठाउँ हो । यहाँ बाहिरबाट मानिसको आउने जाने क्रम अत्याधिक बढेकाले  जुनसुकै बेला सङ्क्रमण डरलाग्दो हुन सक्ने विज्ञहरूले चेतावनी छ ।

लकडाउन सुरु हुनासाथ काठमाडौं उपत्यका छाडेर हिँडेकाहरू फर्किने क्रम अहिले निकै बढेको छ । त्यसरी फर्किएकाहरूमा कोरोना सङ्क्रमण देखिन थालेको छ  । सङ्क्रमितसँग सम्पर्क नभएकामा समेत कोरोना पुष्टि भएको छ । यसले गर्दा अब काठमाडौं उपत्यका कोरोना महामारीको निकै खतरामा परेको छ । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि