चैत १६, २०८०, शुक्रबार
               

कोरोनाबाट धेरै मृत्यु हुनेको सूचीमा भारतले इटालीलाई उछिन्यो, कति पुग्यो ?

एजेन्सी
साउन १६, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको एकै दिन ५४ हजार नयाँ केस र ७ सय ८६ मृत्यु दर्ता भएको छ। संक्रमित संख्या र मृत्यु दुवैमा भारतको यो अर्को रेकर्ड हो।

पछिल्लो सात दिनमा भारतमा ५ हजार मानिसले ज्यान गुमाएपछि यहाँ मृत्यु हुनेको संख्याले ३५ हजारको सीमा पार गरेको छ। मृत्यु संख्याका आधारमा भारत विश्वका पाँचौं खराब मुलुकको सूचीमा उक्लिएको छ। संक्रमितको संख्यामा भारत तेस्रो स्थानमा छ। भारतले मृत्यु संख्यामा इटालीलाई पछि पारेको हो। इटालीमा अहिलेसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ३५ हजार १ सय ३२ छ भने भारतमा ३५ हजार ७ सय ४८ पुगेको छ, बिहीवार रातिसम्म।

जुलाइमा मात्र भारतमा १८ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ संक्रमणकै अवस्थामा। कोरोनाका कारण अमेरिकामा मात्रै १ लाख ५० हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। ब्राजिलमा मृत्यु हुनेको संख्या ९० हजार पार भएको छ। बेलायतमा ४५ हजार ९ सय ९९ जना संक्रमितको मृत्यु भएको छ भने मेक्सिकोमा ४५ हजार ३ सय ६१ जनाको मृत्यु भएका छन्। धेरै मृत्यु हुनेको सूचीमा यी मुलुकहरुपछि भारतको नाम आउँछ।

भारतमा बिहीवार ५४ हजार २ सय ११ नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतमा संक्रमितको संख्या १६ लाख पार भएको छ। बिहीवार महाराष्ट्रमा मात्र ११ हजार १ सय ४७ जनामा संक्रमण देखियो। आन्द्र प्रदेशमा १० हजार १ सय ६७ जनामा संक्रमण देखियो।

नेपालसँग लामो सीमा जोडिएको भारतको उत्तर प्रदेशमा बिहीवार ३ हजार ७ सय ६५ जनामा संक्रमण देखिएको छ। उत्तर प्रदेशको संक्रमण नेपालका लागि सधैं जोखिमपूर्ण हुने गर्छ किनकि अहिले पनि उत्तर प्रदेशसँग जोडिएका नाकाबाट नेपालीहरु वैध र अवैध मार्ग हुँदै नेपाल छिर्नेक्रम जारी छ।

नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको बिहारमा पनि संक्रमित संख्या लगातार बढिरहेको छ। त्यहाँ कोरोना संक्रमण भएका तीन जना डाक्टरहरुको हिजोमात्र मृत्यु भएको छ। बिहारमा कोरोनाबाट मृत्यु हुने डाक्टरको संख्या नै १२ पुगिसकेको छ। बिहीवार पटनाका मात्रै ५ जना मानिसको मृत्यु भयो।


कस्तो लाग्यो ?

यो पनि