चैत १६, २०८०, शुक्रबार
               

तीन प्रधानमन्त्री र एउटा आम मान्छे

नयनराज पाण्डे
साउन ०९, २०७७

ADVERTISEMENT

एकादेशमा, मैले भेटेको थिएँ तीन प्रधानमन्त्रीहरूलाई । अहिले सोच्दा लाग्छ, नभेटेकै भए हुन्थ्यो ।
०००
त्यतिबेला मैले आफूलाई बहुतै ठुलो मनुवा सम्झिएँको थिएँ, जतिबेला पहिलोपल्ट नेपालका प्रधानमन्त्रीसित मेरो फेस टु फेस भेट भएको थियो । भावुकता घाँटीको मध्यभागमा अवस्थित मेरो सुकोमल किल्किलेमा आएर रोकिएको थियो र मलाई केही शब्द बोल्नुअघि मज्जाले रुन मन लागेको थियो । भावुकताले टनाटन भएको बेला प्रायः मलाई बोल्नुभन्दा केही अघि रोएर आफ्नो आँशु निखार्न मन लाग्छ ।

शौचालयको सुविधा छ भने, त्यस्ता रोमाञ्चक क्षणमा म समयमै सुसु पनि गर्ने गर्छु । नत्र, ऐन मौकामा सुसुले च्याप्छ र मेरो ध्यान चुरो कुरो भन्दा अन्यत्रै जान थाल्छ ।

सिस्टम र भ्रष्टाचारको मेरो मुद्दाको हैसियत दिनभरि पसिना पुछ्ने र साँझ धुन पठाउने गिरिजाबाबुको हातको कटनको मुलायम सेतो रुमाल जति पनि भएन । युज एन्ड थ्रो ।

प्रधानमन्त्रीज्यूसितको यो पहिलो भेटमा मैले उहाँको उज्यालो, कोल्डक्रिम लगाएझैँ चिल्लो र गरिमामय अनुहारमा देशको ग्ल्यामरस र सेक्सी छवि देखिरहेको थिएँ । लाग्यो, अब उनी नै देशका पालनहार हुन् र उनकै नेतृत्वमा विकासको मूल फुट्छ ।

प्रधानमन्त्रीको नाम गिरिजाप्रसाद कोइराला थियो । म उनको अगाडि उभिँदा निजको देब्रे हातमा कटनको निक्खर सेतो रुमाल र दाहिने हातमा दूध चियाले भरिएको एरा कम्पनीको सिसा गिलास थियो । शिरमा कालो भादगाउँले टोपी, क्रिम कलरको दौरा सुरुवालमा कालो कोट । पाउमा अनुहारै हेर्न मिल्ने टिलिक्क टल्किएको कालो छालाजुत्ता । उनको समग्र व्यक्तित्व फोटोजेनिक थियो ।

म बालुवाटारस्थित प्रधानमन्त्री निवासको पहिलो तलाको प्रधानमन्त्रीको निजी बैठक कक्षमा थिएँ । दश बाइ बाह्रभन्दा ठुलो थिएन यो कोठा । सोफाहरूमा सेतो खोल थियो र झ्यालका पर्दा पनि सेतै थिए । सादा, सुकिलो र सिनित्त परेको त्यो बैठकमा मात्र हैन, मसँगै अरू दुईजना पनि हुनुहुन्थ्यो ।

करिब एक वर्षअघि नेपाल सरकारले मलाई चलचित्र विकास बोर्डको सदस्यको रूपमा नियुक्त गरेको थियो । मित्र राजु केसी पनि सदस्यमै नियुक्त भएका थिए र शैलेश आचार्य अध्यक्षको रूपमा पदासीन हुनु भएको थियो । प्रधानमन्त्री यथावत् भए पनि मन्त्रिमण्डलमा माओवादी पार्टी पनि सामेल भएकोले सन्चारमन्त्रीमा कृष्णबहादुर महरा नियुक्त भएका थिए । त्यसपछि हामीलाई नैतिकताको आधारमा बोर्डमा बसिरहनु निको लागेन । तर हामीले मन्त्रीलाई हैन, प्रधानमन्त्रीलाई नै आफ्नो राजीनामा बुझाउने निधो गर्‍यौँ र एक थान राजीनामा बोकेर प्रधानमन्त्री भेट्न आयौँ ।

प्रधानमन्त्रीले हामीलाई चिया ख्वाए । हाम्रो राजीनामा लिएर पिएलाई हस्तान्तरण गरे र भने, ‘काम गर्न सजिलो लाग्दैन भने बोर्डमा नबसेकै राम्रो । तपाईँहरू योग्य हुनुहुन्छ । अरू मौका आउँँछ नि ।’

मलाई त्यतिबेलाको धेरै कुरा याद भएन । तर, उनले भनेको एउटा कुरा चाहिँ बहुतै याद आउँँछ । उनले कलात्मक ढंगले मुजा परेको, तर उज्ज्वल मुहार त्यही सेतो रुमालले पुछ्दै भनेका थिए, ‘जसरी सुख सुविधाले हामी कांग्रेसीहरू मात्तिएर पतन भएका थियौँ । एकदिन यी माओवादीहरूको नियति पनि यही हुन्छ । डन्ट वरी ।’

०००

निज गिरिजाबाबुसित मेरो दोस्रो भेट पनि भयो । तिनताक मति बिग्रेको थियो मेरो र म कांग्रेसको एउटा भातृ संगठनको सभापतिको दाबेदार भएको थिएँ । यसअघि नै भ्रष्टाचार विवादले त्यो संगठन दुई चिरा भएको थियो र म एउटा चिराको सभापति भएको थिएँ । हाम्रो विवाद मिलाएर संगठनलाई फेरि एक ढिक्का बनाउन उनले हामी दुवै पक्षलाई आफ्नो महाराजगन्जस्थित निवासमा बोलाएका थिए । म आफ्नो समूहका साथीहरू र अर्को सभापति महोदय आफ्ना गुटका साथीहरूसित त्यहाँ भेला भएका थियौँ । म यसपटक पनि भावुक भएको थिएँ र गिरिजाबाबुलाई भेट्नुअघि सुसु गरिसकेको थिएँ । भावुकता यसपटक पनि मेरो किल्किलेमा अल्झिएको थियो । मैले भने, ‘गिरिजाबाबु, हामीले हाम्रो संगठनलाई म्यानपावर बनाउनु भएन । पैसा खाँदै गैरकलाकारलाई कलाकार बनाएर विदेशमा छाड्नु भएन । यसले संगठनमात्रै हैन, पार्टीकै बदनाम हुन्छ ।’

‘हो, पार्टीलाई बदनाम गर्नु हुन्न ।’

धेरैले तपाईँलाई देशको नयाँ संविधान जारी गर्नमा योगदान दिएर देश विकासको राजमार्ग फराकिलो बनाएकोमा भन्दा काठमाडौंका सडक फराकिलो बनाएकोमा सम्झिइरहेका छन् । यस्तो स्मृति तपाईँप्रति सम्मान हो या व्यङ्ग्य, तपाईँ जेएनयु, इन्डियाका विधाबारिधिधारक महाशयले आफैँ बुझ्नु हुनेछ ।

गिरिजाबाबुले सेतो रुमालले उज्यालो अनुहार पुछ्दै यसोभन्दा म अझ उत्साहित भएँ र भनिहालेँ, ‘संगठन सिस्टममा चल्नु पर्‍यो । हामी कोही पनि भ्रष्टाचारको दलदलमा फस्नु भएन ।’

गिरिजाबाबुले फेरि भने, ‘राम्रो कुरा । म भन्छु, सिस्टम हुनुपर्छ । म फेरि भन्छु, भ्रष्टाचार हुनुहुँदैन ।’

उनको निवासबाट निस्किएपछि एकजना मित्रले बडो गम्भीर कुरा भने मलाई ।

‘यार, नेताहरूसित भ्रष्टाचारको कुरै गर्नु हुन्न । उनीहरूलाई जो भ्रष्ट हुन्छ, उही प्रिय हुन्छ । आदर्शका कुरा गर्नेहरू किनारा पारिन्छन् ।’

नभन्दै त्यस्तै भयो । केही महिनापछि जब भातृसंगठनको पोखरामा चुनाव भयो । म हैन, मैले जसको विरुद्ध यतिका कुरा गरेको थिएँ, उनै व्यक्ति गिरिजाबाबुका आधिकारिक र प्रिय उम्मेदवार भए । चुनावमा चक्रपथतिरका डनहरू पनि आए । सुजाता दिज्यू पनि उनै उम्मेदवारलाई जिताउन आइस्यो । पार्टीले नै निर्वाचन कमिटी बनाइदिएको थियो । कमिटीले मतदान भोलि हुन्छ भन्ने जानकारी दियो । त्यसपछि मेरा साथीहरू आआफ्नो होटेलमा गए । अचानक मध्यरातमा मतदान हुने भयो । मेरा साथीहरू केही निन्द्रामा धङ्धँगिदै आए, कोही सुतेको सुत्यै भए । मलाई जुन मित्रले नेतासित भ्रष्टाचारको कुरा गर्नु हुन्न भनेर सिकाएका थिए, तिनै मित्र अर्को पक्षसित मिलेछन् । फर्जी मत हाल्नेमा उनै एक नम्बरमा थिए ।

मैले चुनाव हारेँ । सिस्टम र भ्रष्टाचारको मेरो मुद्दाको हैसियत दिनभरि पसिना पुछ्ने र साँझ धुन पठाउने गिरिजाबाबुको हातको कटनको मुलायम सेतो रुमाल जति पनि भएन । त्यो त उहाँकी सुपुत्री सुजाता दिज्यूलाई रुघा लागेको बेला नाक पुछ्ने कागजको नेप्किनजस्तो मात्र भयो । युज एन्ड थ्रो । हाय, कहाँ फसेँ म !

जे होस् । भुलचुक लेनीदेनी । सेतो रुमालले सधैँ आफ्नो गोरो, चिल्लो र उज्यालो मुहारको पसिना पुछिरहने अनि लगातार दुधचिया खाइरहने स्वर्गीय गिरिजाबाबुको स्वर्गमा वास होस् ! उनी जहाँ रहे भए पनि एरा कम्पनीको सिसा ग्लासमा चिया खान पाइरहुन् ।

०००

शेयर होल्डर साहित्यकारहरूबाट निर्वाचित भएर म साझा प्रकाशनको सञ्चालक सदस्य भएको थिएँ र केही कालपछि संस्थाका केही जिम्मेवार व्यक्तिहरूसितको विवादका कारण आमरण अनसन बस्ने बहुलट्टी निर्णय गरेको थिएँ । आज सम्झँदा लाग्छ, त्यो मेरो हठ थियो । तर कैलेकाहीँ हठले नै आत्मबल पनि दिँदोरहेछ ।

बसी त हालियो । केही साथीहरूले टेन्ट र कुर्सीहरूको पनि व्यवस्था गर्दिहाले । साहित्यवृत्तमा गतिलै चर्चा भयो । तिनताक मैले लू नामक उपन्यास पनि लेख्दै थिएँ । एकजना मित्रले भने पनि, ‘यार, खुरुखुरु लेख्न छाडेर कहाँ फस्नु भएको तपाईँ ? देशकै सिस्टम ठीक छैन, साझालाई सिस्टममा राख्छु भनेर हुन्छ ?’

अनसनको पहिलो दिन पुलिस हस्तक्षेप भयो र मलाई अनसन बसेको स्थलबाट पुलिस भ्यानमा राखेर अनसनमा साथ दिनुहुने साहित्यकार खगेन्द्र संग्रौलाको निवासमा मध्यरातमा पुर्‍याइयो । मेरो बाँकी रात खगेन्द्र दाइको पिढीमा बित्यो ।

तेस्रो दिन साहित्यकार साथीहरूको अनुरोधमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई मेरो अनसन तोडाउन आउने भए । उनी आउनुअघि पुलिसको कुकुर आयो । मलाई सुँघ्यो । वरिपरिको परिवेशलाई पनि सुुँघ्यो र आफ्ना हाकिमलाई, ‘यहाँ बम छैन । सब ठीक छ । प्रधानमन्त्रीज्यू आए फरक पर्दैन’ भन्ने संकेत गरेर आफ्ना निकट सहयोगीका साथ प्रस्थान गर्‍यो । कुकुर गएपछि ‘मुस्ताङ म्याक्स’ चढेर प्रधानमन्त्रीज्यू रत्नपार्क आए र मेरो छेउमा बसेर साहित्यकारहरूलाई सम्बोधन गर्दै भने, ‘साहित्यसित जोडिएको साझा प्रकाशन कृषि मन्त्रालयअन्तर्गत छ भन्ने मैले बल्ल पो थाहा पाएँ । अब यो शिक्षा मन्त्रालयमा आउँछ । नयनजीका अरू मागहरू पनि पूरा हुन्छन् । साझा सिस्टममा चल्छ ।’

के त्यो बालुवाटारको प्रधानमन्त्री निवासमा बस्ने सुशील दाइ, उही व्यक्ति हुुन्, जसले पहिला खुब सिस्टमको कुरा गर्थे । तर, जतिजति भेटने मौका पाएँ, उतिउति पटक उनलाई चिन्तनहीन र योजनाहीन नेताको रुपमा बुझ्दै गएँ ।

त्यसपछि ताली बज्यो । वरिष्ठ लेखक भिक्टर प्रधान र प्राध्यापक रमेश भट्टराईले असनको एउटा जुस पसलबाट करिब सय डेढ सय रुपियाँ धितो राखेर एरा कम्पनीको बियर ग्लासमा जुस ल्याउनु भयो । प्रधानमन्त्रीज्यूले मलाई त्यही जुस खुवाए । मिक्स फ्रुट जुस । त्यसको गुलियोले मलाई बेलाबेलामा एसिडिटी हुन्छ । अहिले पनि ।

०००

डाक्टर बाबुराम भट्टराईसित यसअघि पनि मेरो भेट भएको थियो । त्यो भेट आदरणीय खगेन्द्र संग्रौला दाइकै कारणले र उहाँकै सहयोगमा भएको थियो । डाक्टर साब त्यतिबेला देशको अर्थमन्त्री भएका थिए । नेपालको विकासमा सहयोग गर्ने दाता राष्ट्रहरूको निकट भविष्यमा सम्मेलन हुनेवाला थियो । सम्मेलनमा भाग लिन आउने दाताहरूलाई नेपालको आर्थिक हैसियत, नेपालको विकासको चाहना र आर्थिक सहयोगका क्षेत्रहरूका बारेमा जानकारी दिनको लागि करिब पन्ध्रबीस मिनेटको वृत्तचित्र बनाउने इच्छा रहेछ डाक्टर साबको । त्यो इच्छा उनले कुनै भेटमा खगेन्द्र दाइलाई प्रकट गरेका रहेछन् । म कुनै बेला श्रव्य दृश्य माध्यमसित सम्बन्धित रहेको कुरा खगेन्द्र दाइलाई थाहा थियो । उहाँले अर्थमन्त्रीसित मेरै नाम लिनु भएछ ।

म बाबुरामजस्तो व्यक्तित्वसित भेट्न पाएर गदगद थिएँ । भावुकता फेरि किल्किलेमा आएर रोकिएको थियो र मैले सिंहदरबारको फस्ट फ्लोरमा अघि नै सुसु गरिसकेको थिएँ । वृत्तचित्रबारे गजबको अवधारणा रहेछ अर्थमन्त्रीज्यूसित । म चकित भएँ । उनले भने, ‘एनजिओ, आइएनजिओले बनाउने विकासे खालको चालु वृत्तचित्र हैन, अलिक सिर्जनात्मक खालको र रोचक बनाउनुहोस् ।’

त्यसपछिको भेटमा उनले वृत्तचित्रको अंग्रेजीमा अनूदित स्क्रिप्टबारे आफ्नो राय दिए । उनी आफैँले स्क्रिप्टका विभिन्न ठाउँँमा संशोधन गरिदिएका थिए । कतिपय ठाउँँमा वाक्य नै थपिदिएका थिए । केही सिक्वेन्सलाई तलमाथि गरेर मिलाइ पनि दिएका थिए । देशको अर्थमन्त्रीले यसरी एउटा वृत्तचित्रको स्क्रिप्टमा देखाएको सचेतताले म झन् मुग्ध भएको थिएँ ।

तत्कालीन राजनीतिक स्थितिका कारण सत्ता परिवर्तन भयो । उनी अर्थमन्त्री रहेनन् । दाताहरूको सम्मेलन रोकियो । वृत्तचित्रको प्रदर्शन हुन पाएन । तर डाक्टर बाबुराम भट्टराईसितको यो भेटले मलाई उनको सरलता, उनमा अन्तर्निहित सिर्जनात्मकताको बोध भएको थियो । उनको हातबाट जुस खाइरहँदा मैले उनीसितका ती भेटहरूलाई झलझली सम्झिरहेको थिएँ ।

देशको नयाँ संस्करणको संविधान लेखिइसकेपछि केही दिनमै उनले आफू संलग्न रहेको पार्टी छाडेका छन् । सामाजिक सञ्जाल र सञ्चारका अरू माध्यममा उनको पछिल्लो कदमका बारेमा राम्रा नराम्रा टिका टिप्पणी भइरहेका छन् । मलाई उनको बहिर्गमन पलायन हो या नयाँ शक्तिको उदयको संकेत हो, थाहा थिएन । तर एउटा कुरा कमरेड बाबुरामले याद गरेको राम्रो । धेरैले तपाईँलाई देशको नयाँ संविधान जारी गर्नमा योगदान दिएर देश विकासको राजमार्ग फराकिलो बनाएकोमा भन्दा तपाईँले प्रधानमन्त्री हुँदाताका काठमाडौंका सडक फराकिलो बनाएकोमा सम्झिइरहेका छन् । यस्तो स्मृति तपाईँप्रति सम्मान हो या व्यङ्ग्य, तपाईँ जेएनयु, इन्डियाका विधाबारिधिधारक महाशयले आफैँ बुझ्नु हुनेछ ।

०००

तेस्रो प्रधानमन्त्री, जोसित मेरो भेट भयो, उनी त मेरो टोले दाइ नै हुन् । नेपालगन्जमा उनको घर र मेरो घरबीच पाँचसात सय मिटरको फरक थियो ।

तर मेरो मनभित्र पनि एउटा न्यायाधीश त बस्छ नि हजुर ! चानचुने नठानिबक्सियोस् प्रधानमन्त्रीज्यूहरू । मभित्रको आम मान्छेले हरेक समय तपाईँहरूको परीक्षा लिइरहेको हुन्छ । मेरो मनले पनि लिएको छ परीक्षा र दिएको छ नम्बर । लु, रिजल्ट सुन्नुस् । तपाईँहरू तीनै जना परीक्षामा फेल पो हुनु भयो ।

एसएलसी सकेर क्याम्पसमा भर्ना भएपछि केही समय म नेपालगन्जको विद्यार्थी राजनीतिमा संलग्न भएँ । त्यतिबेलादेखि नै चिनेको हुँ उनलाई । २०४४ सालमा जब नेपाली कांग्रेसले स्थानीय निकायको चुनावमा सहभागी हुने निर्णय गर्‍यो, मैले तत्कालीन नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको चुनाव प्रचारमा खुब दौडधुप गरेँ । चुनाव सकिएपछि मतपेटिका राखेको ठाउँँको सुरक्षाका लागि म र मेरा साथीहरू नगरपालिकाको भवनमै दुई रात सुतेका पनि थियौँ । मतगणना सुरु भएपछि उपमेयरमा त कांग्रेसकै उम्मेदवार अगाडि देखिए । उनको जित्ने सम्भावना पनि देखियो । तर मेयर पदमा भने स्थानीय मुस्लिम नेता अगाडि थिए । तत्कालीन सिडिओले केही नेताहरूसित छलफल गर्दै भने, ‘मुसलमानले जित्नुभन्दा पञ्चायत पक्षधरकै मेयरको उम्मेदवारलाई जिताऔँँ । हिन्दु पनि, पहाडिया पनि । कांग्रेसले सहयोग गर्‍यो भने म मतपेटिका सजिलै अदलबदल गरिदिन्छु ।’

सुशील दाइसम्म यो कुरा पुग्यो । उनले सिडिओको प्रस्ताव अस्वीकार गर्दै भने, ‘चुनावमा भाग लिइसकेपछि परिणामलाई स्विकार्नु पर्छ । सिस्टम र प्रजातान्त्रिक अभ्यासको कुरा हो यो ।’

वाह ! त्यतिबेला सुशीलदा मलाई कति असल लागेका थिए ।

०००

केटाकेटीदेखि चिनेको व्यक्ति प्रधानमन्त्री हुँदा मलाई खुसी नै भयो । सधैँ सिस्टम, प्रजातन्त्र र आर्थिक स्वच्छताको कुरा गर्ने भएकोले पनि मलाई मन पर्थे उनी । प्रधानमन्त्री भएपछि मैले पनि उनको निवासमा गएर बधाई दिएको थिएँ ।

उनीसित प्रधानमन्त्री निवासमा भेट्न जाँदा नेपालगन्जमा मसितै विद्यार्थी राजनीतिमा लागेका एकजना सहपाठीसित प्रायः भेट भइरहन्थ्यो । हार्दिकतापूर्वक कुराकानी हुन्थ्यो उनीसँग पनि । उनले भने एकदिन, ‘तपाईँजस्तो प्राज्ञिक मान्छे एकेडेमीमा आउनुपर्छ । म प्रयास गर्छु तपाईँको लागि ।’

सुशील दाइका पुराना ढकाल थरका पिएले पनि मलाई भन्थे, ‘दाइले तपाईँलाई माया गर्नुहुन्छ ।’

तर प्रधानमन्त्री भइसकेपछि सुशील दाइसित भेट्न सहज थिएन । मलाई उनीसित भेटिरहनु पर्ने कुनै आवश्यकता पनि थिएन । हरेक बिहान बालुवाटार जाने भीडको हिस्सा बन्नु पनि थिएन मलाई । बरु म संयोगवश अमेरिका पुगेको बेला भने न्युयोर्कमा भेट्ने अवसर जुर्‍यो उनीसित । उनी आफ्नो जिब्रोको क्यान्सरको उपचारको फलोअपमा अमेरिका आएका थिए र दूतावासले व्यवस्था गरेको अपार्टमेन्टमा बसेका थिए । फोटो पनि खिचियो उनीसँग त्यहाँ । एक घन्टाजति आरामले कुरा गर्न पाइयो । उनको शीघ्र स्वास्थलाभको कामना पनि गर्‍यौँ हामीले । उनीसित यसरी भेट्न पाउँदा म भावुक भएको थिएँ र मेरो भावुकता उसैगरी किल्किलेमा आएर अड्किएको थियो ।

०००

एकदिन एकजना मित्रले भने, ‘सुशील दाइको पिएले बोलाएको छ । तपाईँलाई पनि लिएर आउनु भनेको छ । जाऊँ । साँझ सुशील दाइसित पनि भेट हुन्छ ।’

म गएँ । बालुवाटारको प्रधानमन्त्री निवास पस्ने बित्तिक्कै मेरा तिनै पुराना सहपाठी भेटिए । उनी अब प्रधानमन्त्रीका सल्लाहकार भएका थिए । म पिएको निम्तामा प्रधानमन्त्री निवास आएको थाहा पाएर उनको अनुहार रातो भयो । त्यति राम्रो सम्बन्ध थियो उनीसित, तर बालुवाटारमा भने मलाई वास्तै नगरेको जस्तो गर्न थाले उनले । उनी मसित रिसाउनुको कारण पछि मात्र बुझेँ । सुशील दाइका पिए र उनीबीच पानी बाराबार रहेछ । पिएको मान्छे उनको लागि शत्रु सरह हुँदोरहेछ । पछिल्लो समयमा सुशील दाइका पिए विवादित पनि भएका थिए । कतिले भन्थे, ‘सुशील दाइका केही गोप्य र अन्तरंग क्षणका भिडियो बनाएर राखेको छ उसले । सुशील दाइलाई त्यही भिडियो देखाएर ब्ल्याकमेल गर्छ त्यसले ।’
सत्य के हो, दैव जानुन् ।

त्यसको केही दिनपछि मैले एकजना आफ्नो छोरी नाता पर्ने शिक्षिकालाई अर्को जिल्लाबाट काठमाडौं सरुवा मिलाइदिन आग्रहसहित प्रधानमन्त्रीको सल्लाहकार भएका ती मित्रलाई फोन गरेँ । उनले रुखो स्वरमा जवाफ दिए, ‘मलाई हैन, तपाईँको त्यही प्रिय पिएलाई नै भेट्नुस् । तपाईँ त उसैको खास मान्छे ।’

त्यसपछि दिक्क भएँ म । मित्रको त्यस्तो व्यवहारले प्रधानमन्त्रीसित भेट्ने मोह पनि सकियो मेरो । टण्टै साफ ।

सुशील दाइ प्रधानमन्त्री भएपछि तीनचार पटक बालुवाटार गएको छु । तर जतिपटक गएको छु, उनलाई उनका थरिथरिका पिए, भाँतीभाँतीका सल्लाहकार र रंगरंगका आफन्तहरूले घेरिएकै पाएको छु । जतिपटक सल्लाहकारसित भेटेँ, उसले पिएको कुरा काटेकै थियो । जतिपटक आफन्तसित भेटेँ, उसले सल्लाहकारको कुरा काटेकै थियो । जतिपल्ट पिए भेटेँ, उसले सुशील दाइका आफन्तहरूको कुरा काटेकै थियो । त्यति चाकडी, त्यति चुक्ली, त्यति चारआने वार्तालाप त कालीमाटी तरकारी बजार या गणबहालको माछा बजारमा पनि हुँदैन होला । प्रधानमन्त्री निवास देशको विकास र भविष्यको बारेमा चिन्ता र चिन्तन गर्ने गम्भीर व्यक्तित्वहरूको भेटघाट हुने थलो हो भन्ने लाग्थ्यो उहिले । तर त्यो ठाउँ प्रधानमन्त्रीका केही पिए, केही आफन्त र केही सल्लाहकारको भात खाने र सुकला गर्ने ठाउँ पो रहेछ । बल्ल पो थाहा पाएको थिएँ मैले ।

के त्यो बालुवाटारको प्रधानमन्त्री निवासमा बस्ने सुशील दाइ, उही व्यक्ति हुुन्, जसले पहिला खुब सिस्टमको कुरा गर्थे । तर, जतिजति भेटने मौका पाएँ, उतिउति पटक उनलाई चिन्तनहीन र योजनाहीन नेताको रुपमा बुझ्दै गएँ । मलाई लाग्न थाल्यो, उनी राजनीतिमा विचारका कारणले भन्दा लामो समयसम्मको संलग्नताका कारणले टिकेका हुन् । कोइराला भएकोले टिकेका हुन् । उनी बलियो भएर हैन, अरु कमजोर भएर टिकेका हुन् । उनलाई जति बुझ्दै गएँ, मन उति खिन्न हुँदै गयो ।

०००

तीन भिन्न समय, तीन भिन्न परिस्थिति र तीन भिन्न प्रधानमन्त्री । ती प्रधानमन्त्रीहरूसित म एउटा आम मान्छेका तीन भिन्न सन्दर्भको भेटघाट । देशको राजनीतिमा यो भेटको कुनै अर्थ छैन । आम मान्छे र प्रधानमन्त्रीबीचको भेटघाटको सन्दर्भ इतिहासमा कहीँ पनि लेखिन्न ।

तर मेरो मनभित्र पनि एउटा न्यायाधीश त बस्छ नि हजुर ! चानचुने नठानिबक्सियोस् प्रधानमन्त्रीज्यूहरू । मभित्रको आम मान्छेले हरेक समय तपाईँहरूको परीक्षा लिइरहेको हुन्छ । मेरो मनले पनि लिएको छ परीक्षा र दिएको छ नम्बर । लु, रिजल्ट सुन्नुस् । मेरो मनको परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशित गरेको छ । तर, तपाईँहरू तीनै जना यो परीक्षामा फेल पो हुनु भयो ।

हे प्रिय प्राइमिनिस्टर्स ! मैले तपाईँहरू कसैलाई पनि देशको सिस्टम सुधारको लागि अंक दिन सकिनँ । तपाईँहरूले देशबाट भ्रष्टाचार मिटाउनु भयो भनेर सगौरब अंक दिन सकिनँ । तपाईँहरू कसैले पनि यो कमजोर देशलाई शान्त र समुन्नत बनाउन विशेष योगदान दिनु भयो भनेर कुनै अंक दिन सकिनँ मैले । लागेको थियो, तपाईँहरूले टाढाको दृश्य देखिने चस्मा मात्र लगाउनु हुन्न, तपाईँहरूसित दूरदृष्टि पनि छ । त्यसैले यो परीक्षामा तपाईँहरूको कम्तीमा असी पचासी अंक त आओस् भन्ने लागेको थियो । जबकि मैले लिने सय नम्बरको परीक्षाको उत्तीर्णांक चालिस मात्र थियो । मात्र चालिस । चुत्था फोर्टी ।

गणतान्त्रिक नेपालको संविधान जारी गर्दा म खुसी थिएँ । केही थान मैनबत्ती मैले पनि बालेको थिएँ । विगतमा दिएको अंकतालिकामा केही अंक ग्रेस मार्क दिएर तपाईँहरूलाई उत्तीर्ण गराउने चाहना थियो । तर जब डाक्टर बाबुरामले आफैँले हस्ताक्षर गरेको संविधानको मजाक उडाउँदै हिँड्न थाल्नु भयो र जब सारा भद्र सहमतिलाई तोडेर सुशीलदाले आफ्नो पदलोलुप स्वरुप उदांगो बनाउनु भयो, मलाई मैले विगतमा दिएको नम्बर पनि फिर्ता लिन मन लाग्यो । तपाईँहरूजस्तो राजनीतिज्ञको यस्तो पतनशील छवि देखेर लाग्यो, जीवनको कुनै कालखण्डमा तपाईँहरूसित मैले नभेटेकै ठीक हुनेरहेछ ।

गिरिजाबाबु र सुशीलदा त स्वर्गमा बसेर के गर्दै हुनुहुन्छ, गड नोज । तर तपाईँ डाक्टर बाबुरामसित अब अचानक कतै भेट भयो भने म अलिकति पनि खुसी हुने छैन । मलाई उन्मादमा सुसु आउने छैन । मेरो भावुकता मेरो गर्दनको मध्य भागमा अवस्थित किल्किलेमा अड्किने छैन ।

म सामान्य मान्छे हुँ । आम मान्छे । मलाई थाहा छैन, मैले तपाईँहरूसित फेरि भेट्न नचाहनु मेरो दुर्भाग्य हो या तपाईँहरूको ?

०००

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि