बैशाख १३, २०८१, बिहीबार
               

फेरि टर्‍यो ओलीको राजीनामा, विवादबारे केन्द्रीय समितिमा छलफल

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गराउन महिना दिनयता भईहेको प्रयास तत्काललाई रोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन गरिएको दबाब केन्द्रीय समिति बैठक अघिसम्मलाई रोकिएको नेताहरूको दाबी छ ।

आन्तरिक विवादका कारण दुई साता रोकिएको पार्टीको स्थायी कमिटी बैठक शुक्रवार बस्दै छ । पछिल्लो पटक सहमतिका लागि भन्दै एक साता बैठक धकेलिए पनि कुनै निष्कर्ष भने निस्कन सकेन । शुक्रवारको बैठक पनि दिउँसोसम्म सारेर दुई अध्यक्ष छलफलमा छन् ।  अहिलेसम्म विवाद नमिलेकाले अब केन्द्रीय समितिमा लगेर छलफल गरिने नेताहरूले बताएका छन् ।

स्थायी कमिटी बैठक केही नेताहरूले बोलेर शक्रुबारै स्थगन गर्ने तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले गरेको छ । तत्काल समाधान नभएपछि सहमतिको विकल्प खोज्न नेताहरूले थप समय लिने भएका स्थायी कमिटी सदस्य गणेश साह बताउँछन् ।

केन्द्रीय कमिटी बैठक बस्ने भएकाले शुक्रबारका लागि निर्धारित स्थायी कमिटी बैठक औपचारिकताका लागि मात्र बस्ने जनाइएको छ । साहले भने ‘अहिलेकै विषयमा छलफल गर्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ , सायद शुक्रवारको बैठकले मिति तय गर्ने छ । पार्टीमा जे–जे निर्णय लिनुपर्ने हो अब केन्द्रीय कमिटीले गर्नेछ ।’ विवाद केन्द्रीय समिति पुर्याउने तयारीसँगै ओलीको राजीनामाको विषय तत्कालका लागि टरेको नेताहरू बताउँछन् ।

बिहीबार प्रधानमन्त्री निवासमा भएको छलफले निकास दिन नसकेपछि बेलुकी खुमलटारमा भेला भएका प्रचण्ड-नेपाल पक्ष उक्त निष्कर्षमा पुगेको नेताहरु बताउँछन् । शुक्रवार स्थायी कमिटी बैठक केही समय पर सारेर दुई अध्यक्षले छलफल गरेका छन् ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत अधिकांश स्थायी कमिटी सदस्यहरूले ओलीको राजीनामा मागेका थिए । तर, ओली अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडानमा छन् । 

स्थायी कमिटी बैठक जारी रहदाँ प्रधानमन्त्री ओलीले असार १४ मा आफ्नो सरकार हटाउन भारतीय चलखेल भएको भन्ने अभिव्यक्ति दिए । त्यसपछि नेकपा बैठकमा उनको राजीनामाको माग झनै बलियोसँग उठ्यो । त्यसपछि विवाद उत्कर्षमा पुग्यो । विवाद झन् चर्किने भएपछि गत असार २४ गते बोलाइएको स्थायी कमिटी बैठक सहमतिका लागि एक साता रोकिएको थियो ।  सहमतिका लागि भन्दै बिहीबारको भेटमा पनि प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन भनेका थिए । ओलीले राजीनामा नदिने र स्थायी कमिटी फेस गर्न तयार रहेको जवाफ दिएका थिए ।

ओलीले राजीनामा नदिने बताएपछि  बहुमतको निर्णयबाट पनि पार्टीमा नेपाल र प्रचण्ड पक्षले हटाउन सकेका छैनन् । त्यो गर्दा ओलीले फुटाउन सक्ने भन्दै सहमतिको प्रयास भइरहेको छ। दुई पक्षबिच समझदारी खोज्न भन्दै स्थायी कमिटी बैठक रोकेर छलफल थालिएको थियो । पटक-पटक सारिएको बैठक गत शुक्रवार भने देशभर भइरहेको बाढी पहिरोको निहुँ पार्दै स्थगित गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि