बैशाख ०८, २०८१, शनिबार
               

निशान छाप दुरुपयोग नगरेको दाबी गर्ने नेपाल ब्रुअरिजको विचित्रको मौनता !

ADVERTISEMENT

काठमाडौं । नेपाल ब्रुअरिजले आफ्नो बियरको बोतलमा नेपालको निशान छाप प्रयोग नगरेको दाबी गरेको छ ।

नेपाल फ्ल्यासले मंगलबार नेपाल ब्रुअरिज (पहिलेको युनाइटेड ब्रुअरिज)बाट रातो भात नामको बियर उत्पादन भई युरोपमा बिक्री भइरहेको समाचार प्रकाशित गरेपछि उसले त्यो आफ्नो उत्पादन नभएको जनाएको हो । रातो भात बियरको बोतलमा नेपालको निशान छाप दुरुपयोग गरेको समाचार प्रकाशित भएको दुई दिनपछि बिहीबार नेपाल ब्रुअरिजले खण्डन पठाएको हो ।

नेपाल ब्रुअरिजको दाबीपछि उब्जिएका प्रश्न

रातो भात बियर नेपाल ब्रुअरिजको हेटौँडास्थित कारखानाबाट उत्पादित भनेर अनलाइनहरूमा छ्यापछ्याप्ती पाइने गरेको छ । केहीमा युनाइटेड ब्रुअरिजको उत्पादन भनिएको छ । यति हुँदा पनि किन नेपाल ब्रुअरिजले अहिलेसम्म आँखा चिम्लियो त ? यो प्रश्नको जवाफ भने नेपाल ब्रुअरिजले दिएको छैन ।

केही विदेशका मदिरा अनलाइन बिक्री साइटमा रातो भात ब्रान्डको बियर पनि समावेश छ । त्यसमा नेपाल ब्रुअरिजको नाम दिइएको छ । जसमा उत्पादक नेपाल ब्रुअरिज भनेर स्पष्टसँग लेखिएको छ । लोगो पनि नेपाल ब्रुअरिजकै राखिएको छ । त्यसमा क्लिक गर्दा हेटौँडा, मध्यमाञ्चल विकास क्षेत्र, नेपालसमेत लेखिएको छ । जुन सामग्री हालसालै राखिएको देखिँदैन ।

लिंक थिच्‍नुस् : नेपाल ब्रुअरिज भनी अनलाइनमा बिक्रीका लागि राखिएको

अहिले पनि अनलाइनबाट रातो भात बियर किन्न सकिन्छ । युरोपमा यो देख्ने-खाने दर्जनौँले नेपाल फ्ल्यासलाई सम्पर्क गरेका छन् ।

बियरमा नेपालको निशान छाप राखिएको देखेपछि सामाजिक सञ्जालमा साढे ४ बर्षअघि नै प्रश्न उठेको देखिन्छ । ६ जनवरी २०१६ मा फेसबुकमा शशि किरण नाम रहेका एक व्यक्तिले यस विषयमा प्रश्न उठाएका थिए । उनले हेलो सरकारलाई उजुरीसमेत गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा रहेको हेलो सरकारले तत्कालै उद्योग विभागलाई ध्यानाकर्षण गराएको थियो ।

नेपाल फ्ल्यासले समाचार प्रकाशित गरेर सम्पर्क गरेपछि शशि किरणले नाटकीय रूपमा फेसबुकबाट आफ्नो उजुरीको स्ट्याटस हटाएका मात्र छैनन्, हामीसँगको सम्पर्कबाट पनि टाढिएका छन् । हेर्नुस् लिंक

अनलाइनमा यत्रतत्र

मदिरा सम्बन्धी धेरै साइटहरूले बर्षौंदेखि रातो भात बियर पनि समावेश गर्दै आएका छन् । कुनैले नेपालका राम्रो २२ बियरहरूमध्ये ९ नम्बरमा यसको नाम राखेका छन् । यी र यस्ता थुप्रै सामग्रीहरू अनलाइनमा सहजै पाइन्छ । जसको लिंक सामाजिक सञ्जालमा सेयर पनि भइरहेका छन् ।

थिच्‍नुस् लिंक

विदेशका मदिरा बिक्री सम्बन्धी केही साइटमा रातो भात ब्रान्डको बियरसँगै गोदावरी बियर पनि राखिएको पाइन्छ । जसको उत्पादक नेपाल ब्रुअरिज र उसले जर्मनमा कसैलाई बिक्रीको लागि अनुमति दिएको भनिएको छ । साथै उत्पादकमा नेपाल ब्रुअरिजको भनिएको छ । यी सामग्री राखिएको धेरै समय भइसकेको छ ।

नेपाल ब्रुअरिजको उत्पादन भन्दै रातो भात ब्रान्डको बियर र गोदावरी ब्रान्डको बियर युरोपका धेरै रेस्टुरेन्टहरूमा पाइन्छन् । ती बियर सेवन गरिएका तस्बिरहरू बियर डिलरहरूका साइटहरूमा छ्यापछ्याप्ती छन् । यहाँ थिच्‍नुस्

नेपाल ब्रुअरिजको उत्पादन भनेर वेबसाइट तथा सामाजिक सञ्जालमा राख्नेहरू धेरै छन् । बियर कम्पनीमा काम गर्नेदेखि डिलरवाला र बियरका पारखीहरू पनि त्यसमा छन् । 

लिंक

यो पनि

गुगल सर्चमा पनि नेपाल ब्रुअरिजको रातो भात ब्रान्डको बियरका तस्बिर प्रशस्त भेटिन्छ । रातो भात बियर सर्च गर्दा पनि नेपाल ब्रुअरिजकै धेरै लिंक तथा फोटोहरू भेटिन्छन् । यी हालसालैका पनि होइनन् । यति हुँदा पनि सो उद्योगले आफूलाई थाहा नभएको भन्नु चाहिँ रहस्यपूर्ण छ ।

गुगलमै थुप्रै पाइन्छ

गुगलमै नेपाल ब्रुअरिज

नेपाल ब्रुअरिज टिबिआई ग्रुप नेपाल अन्तर्गतको संस्था हो । टिबिआईका अध्यक्ष भवन भट्ट हुन् । उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत हुन् । उनै भट्टले मकवानपुरको हेटौँडास्थित युनाइटेड ब्रुअरिज किनेका थिए । अहिले यसको नाम नेपाल ब्रुअरिज राखिएको छ ।

युरोपका धेरै देशमा बिक्री भइरहेको रातो भात बियर उद्योग विभागमा दर्ता भएको छैन । ट्रेडमार्क नलिई आफूखुसी लोगो प्रयोग भइरहेको छ । त्यो नेपाली निशान छाप दुरुपयोग गरिएको रातो भात बियर युरोपका बेल्जियम, फिनल्यान्ड, स्विडेनलगायतका देशमा बिक्री भइरहेको जानकारी नेपाल फ्ल्यासलाई प्राप्त भएको छ ।

रातो भात हाम्रो होइन : नेपाल ब्रुअरिज

नेपाल ब्रुअरिजका प्रबन्ध निर्देशक शिशिरकुमार भट्टले ‘रातो भात’ नामको ब्रान्डको बियरसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । ‘यस उद्योगको लोगो तथा यसका अध्यक्षको नाम, फोटो प्रयोग गरी प्रकाशित उक्त समाचार भ्रामक, कपोलकल्पित तथा यस उद्योग तथा यसका अध्यक्षलाई बदनाम गराउने दूषित मनसायद्वारा प्रेरित देखिन्छ,’ खण्डनमा उनले भनेका छन् ‘यस नेपाल ब्रुअरिज प्रालिको लोगो प्रयोग गरी युनाइटेड ब्रुअरिजद्वारा उत्पादित तथा निर्यातित भनिएको रातो भात नामक ब्रान्डको यस उद्योगसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छौँ ।’

तर गुगलमै दर्जनौँ सामग्री भेटिँदा पनि नेपाल ब्रुअरिजले अहिलेसम्म आपत्ति जनाएको थिएन । नेपाल फ्ल्यासले समाचार प्रकाशित गर्नुअघि लोगो र नाम दुरुपयोग भएको भनेर कुनै कानुनी उपचार पनि खोजेको पनि पाइएको छैन ।

नेपाल ब्रुअरिजले जानाजान आफ्नो उद्योगलाई मुछ्ने र कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने दुर्नियतले समाचार प्रकाशन गरेको आरोप लगाएको छ । ‘यस उद्योगले, उद्योग विभागबाट प्राप्त ट्रेडमार्कहरूमध्ये आन्तरिक राजश्व विभागबाट अनुमति प्राप्त ब्रान्डको बियर मात्र उत्पादन गरी बिक्री वितरण गरी आएको छ । यस कम्पनीले नेपाल बाहिर निर्यात पनि गर्दैन र नेपाल बाहिर यस कम्पनीको कुनै शाखा तथा सब्सिडायरी कम्पनी पनि छैन र कुनै कम्पनीसँग कोलाब्रेसन गरेको पनि छैन,’ उसले भनेको छ ‘रातो भात नामक ब्रान्डको बियर यस उद्योगबाट कहिल्यै उत्पादन भएको पनि छैन र उक्त ब्रान्ड यस कम्पनीको हुँदा पनि होइन ।’

सवाल नेपाल ब्रुअरिजतिरै

नेपाल ब्रुअरिजले पठाएको खण्डनमा उद्योगको विवरण आफ्नोसँग मेल नखाने दाबी गरिएको छ । तर नियामक निकायलाई भने उसले आफ्नो उद्योगसँग मेल खाएको स्वीकारेको छ । उसले उद्योग विभाग, आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालय हेटौँडामा पत्राचार गर्दै ‘नेपाल ब्रुअरिजको नामका अरू कसैले रातो भात नामको बियर उत्पादन गरेर बेचेको’ भन्दै छानबिनको माग गरेको छ । कम्पनीको विवरण नै नमिल्ने भनेर समाचारको खण्डन पठाउने तर सरकारी निकायलाई आफ्नो नाममा अरूले निकालेको भनेबाट प्रश्न नेपाल ब्रुअरिजतिरै सोझिएको छ ।

प्रश्न मौनता मै

वर्षौँसम्म मौन बस्ने नेपाल ब्रुअरिजले अहिले समाचारमा आएपछि त्यसबारे बोलेको छ । कारबाहीबाट बच्‍न नेपाल ब्रुअरिजले यस्तो काम गरेको आशंका अनुसन्धानमा संलग्न एक अधिकारीको छ । ‘प्रविधिको जमानामा छ । अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएको एनआरएनएका पूर्वअध्यक्षको उद्योगको नामको उत्पादनमा निशान छाप राखिनु र त्यसबारे अनभिज्ञता प्रकट गर्नुलाई सहजै पत्याउन सकिँदैन । अहिले लुकिछिपी बेच्दै गरौँ, पछि हेरौँला भन्ने मनसायले विदेशबाटै उत्पादन गरेर बेचेको हुनसक्छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन् ।

नेपाल ब्रुअरिज भन्ने अरू कम्पनी छैन : मकवानपुर प्रशासन

नेपाल ब्रुअरिजले बोतलमा उल्लेख भएको कम्पनी आफूहरूसँग मेल नखाने भनेको छ । सरकारी निकायले भने सो विवरण उसैसँग मेल खाएको दाबी गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले नेपाल फ्ल्याससँग भने- ‘नेपाल ब्रुअरिज र त्यसमा पनि हेटौँडामा उद्योग भएको एक मात्रै छ । जुन समाचारमा उल्लेख भएको विवरणसँग मेल खान्छ । पहिलेको युनाइटेड ब्रुअरिजनै अहिले नेपाल ब्रुअरिज भएको देखिन्छ ।’

यता उद्योग विभागले पनि नेपाल ब्रुअरिज नामको टिबिआई ग्रुपको बाहेक अरू कसैको उद्योग नरहेको जनाएको छ ।

युरोपमै उत्पादन गरी निशान छाप दुरुपयोग !

गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल फ्ल्यासमा समाचार प्रकाशन भए लगत्तै छानबिनमा सक्रिय रूपमा लागेको जानकारी दिए । समाचार हेरे लगत्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई बुझ्न लगाउँदा हेटौँडास्थित कारखानामा त्यो बियर नभेटिएको जानकारी दिए । गृह मन्त्रालयले सो बियर युरोपमै कुनै कम्पनीसँग कोलाब्रेशन गरेर उत्पादन गरेको आशंका गरेको छ ।

‘यो बियर नेपालबाट निर्यात भएको देखिँदैन । बेल्जियमकै कुनै उद्योगमा उत्पादन भएको हुनसक्छ । उतै उत्पादन भएको बियरको बोतलमा हेटौँडा नेपालमा उत्पादन गरिएको भनेर यहाँको लोगो मात्र टाँसिएको हुनसक्छ,’ प्रवक्ता शर्माले भने ।

बेल्जियमको दूतावासमार्फत परराष्ट्रको अनुसन्धान

उता, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारीले पनि नेपालको निशान छापको दुरुपयोग विदेशमा भएकाले सोही ठाउँको दूतावासमार्फत तत्कालै अनुसन्धानको लागि आग्रह गरिएको जानकारी दिएका छन् । उनले बेल्जियमस्थित नेपाली राजदूत लोकबहादुर थापामार्फत छानबिनको लागि आग्रह गरिएको बताए ।

‘प्रकाशित समाचार तथा गृह मन्त्रालयमा समन्वय गर्दा यो अपराध बाहिरी मुलुकमा भएको हुन सक्छ । सम्बन्धित देशमा रहेको नेपाली दूतावासलाई यसको छानबिन र कारबाहीको लागि आग्रह गरेका छौँ’, अधिकारीले नेपाल फ्ल्याससँग भने ।

युरोपका विभिन्न देशका रेष्टुरेन्टहरूले समेत रातो भात ब्रान्डको बियरको फोटो र भिडियो फेसबुकमा पोस्ट पनि गरेका छन् । त्यो बियरको बोतलमा भएको छाप नेपालको संसदबाट केही साताअघि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिनुभन्दा अगाडिको निशान छापसंग हुबहु मिल्छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि