बैशाख १३, २०८१, बिहीबार
               

बालुवाको डिलमा भुइँमान्छे

चेतन पाण्डे
असार ३१, २०७७

ADVERTISEMENT

कोसी बग्दै छ । हिजो पनि बगेकै थियो, आज पनि बग्दै छ अनि भोलि पनि बग्ने नै छ । तर, बग्ने तरिकामा भने फरकपन देखाइ रहन्छ । समयसँगै । कहिले काल बनेर त कहिले साथी बनेर । बग्छ नै । बगरमा रमाउनेहरूलाई कहिले जिउने आधार दिने त कहिले रिसाउँदा जीवन नै हर्ने । कहिले बन्छ, भुइँमान्छेका मित्र त कहिले शत्रु ।

वर्षा याममा पनि बग्छ नै । तर, उत्ताउलो बन्दै । लाखौँ मन रुवाउँदै । फरक नाममा चीनैदेखि ताण्डव मच्चाउँदै बग्दा भारतको बिहारमा पनि रुवाबासी गराउँछ नै । वास्ता गर्दैन, रसाएका आँखालाई ।

म न कोसी किनारामा जन्मिएँ नतै कोसीसँग राष्ट्रियता बाहेक कुनै मायाको बन्धन छ । तर, भयङ्कर सप्तकोसीमा हाम्रोभन्दा भारतको बढी चल्छ भन्ने जहिलेदेखि थाहा पाएँ, त्यैलेदेखि मन हुडुलिएको छ । त्यही कोसीले मेरो ज्यान पनि लिन खोज्यो । मृत्युसँग पैँठेजोरी खेलाउँदा खेलाउँदै जिन्दगी उपहार मै दियो ।  

जिन्दगीका कतिपय अनुभवका पाप्रा यस्ता पनि हुँदा रहेछन्, जसलाई बेलाबेला उप्काइ रहनु पर्ने । जिन्दगीमा कुनै दिन व्यहोरेको कठोर क्षणलाई साक्षी राखेर मुस्काउनु पनि पर्ने रहेछ । गत वर्ष जेठ महिना कै त कुरो हो । भोटे कोसीमा राफ्टिङ गर्दा डुङ्गा पल्टिएर निकै मेहनत पछि बाँचिएको थियो । मित्र विकास दाहालको त ज्यान नै गयो ।

त्यो दुर्घटनापछि कोसीसँग चित्त पनि दुखाएँ । कति दिन सम्बन्ध चिसिएर रहन सक्छ र ! अनि सम्बन्ध अझै प्रगाढ बनाए, मनमनै । तर, कोसीसँगका सम्झना पहिले पनि कोरिएकै थिए । मुटुमा खोपिएका तरङ्ग कसरी पो हराउन सक्छ र ? जिन्दगीका बिम्बहरू आखिर एक्लो यात्रामा पनि साथ नछाड्ने छाया जस्तै हुँदो रहेछ । घामको फन्कोसँगै आफ्नै वरिपरि घुमिरहने तर साथ भने रात नपरेसम्म नछाड्ने । सम्झनाले पनि मृत्युभन्दा अघि त खै के सताउन छाड्लान् र ? अनि के हँसाउन र रुवाउन छाड्लान् र ?

बित्न त दशकभन्दा बढी नै बितिसक्यो । कोसीले ताण्डव मच्चाउँदै सधैँ हिँड्ने बाटो छाडेर अर्कै बाटो हिँडेको । हजारौँ बिघा जग्गालाई बगर बनाएको । अहिले त आफ्नै बाटोमा फर्किसकेको छ । तरपनि, कुन बेला फेरि ताण्डव मच्चाउने हो, थाहा छैन । तातो पानी झैँ उम्लिँदै छन्, चिसा भेलहरू । अनि भत्काउँदै छन्, किनाराहरू । फेरि लाखौँ मनलाई रुवाउनै त होला नि ।

त्यसताका सानो फुच्चे मारुती ८०० चढ्थेँ । भर्खर किनेको । त्यसमाथि गाडी चलाउने लाइसेन्स पनि लिइएको थिएन । त्यही पनि चलाइएर गइने भयो, पत्रकार नवीन अर्यालको केही घरायसी काम फत्ते गर्न, विराटनगर । खास कुरो भने त्यही बहानामा साथीभाइसँग घुमफिर पनि गरौँ न भन्ने नै थियो । साथै थिए, मित्रहरू भरत गुरुङ र नवीन उप्रेती । दुवै आफ्नो क्षेत्रमा स्थापित नाम हुन् ।

पूर्वपश्चिम राजमार्गको त्यो विशाल सडकमा पनि मेरो कारको गति ६० भन्दा माथि गएन । भरतजी अगाडिको सिटमा बसेर भन्दै थिए । ‘यहाँ स्पिड नबढाए कहाँ बढाउने हो, पाण्डे सर !’ एक डाइलगसँगै चट्ट एउटा चुस्की तयार पारिदिन्थे । रक्सीको जोसमा एक्सिलेटर बढाउला कि भन् ठानेका होलान् । अहँ बढाइएन ।

मारुती चलाउने म । त्यो पनि भर्खर हात बसालेको । गइयो, बाइ रोडको बाटो हुँदै । त्यो बेला बिपी राजमार्ग खुलिसकेको थिएन पनि । मेरा ससुराका ड्राइभर जो भाइ जस्ता छन्, उसले सिकाएको थियो । ‘हजुर ६० भन्दा बढीमा नचलाऔँ है ।’ मानियो उसको कुरा । मरिगए मेरो गाडीको रफ्तार विराटनगर गएर फर्कँदासम्म ६० भन्दा माथि कहिल्यै गएन ।

मापसेको चलन सुरु भइसकेको थिएन । तरपनि, रुखासुखा र बिस्तारै नै पुगियो, हेटौँडा । नविनदाइ खेलकुदका वरिष्ठ कर्मचारी । चेला चपेटा नभएको ठाउँ नै नहुने । हेटौँडामा उनकै चेलाको रेस्टुरेन्टमा मस्त भोजन मारियो, फोकटमा । अनि लागियो, रात बिताउने पहिलो मुकाम सिराहा सदरमुकाम तिर । पूर्व भलिबल खेलाडी, पूर्व उपमेयर तथा त्यसताका भलिबल सङ्घका उपाध्यक्ष उपेन्द्र यादवको आतिथ्य स्विकार्न ।

पूर्वपश्चिम राजमार्गको त्यो विशाल सडकमा पनि मेरो कारको गति ६० भन्दा माथि गएन । भरतजी अगाडिको सिटमा बसेर भन्दै थिए । ‘यहाँ स्पिड नबढाए कहाँ बढाउने हो, पाण्डे सर !’ एक डाइलगसँगै चट्ट एउटा चुस्की तयार पारिदिन्थे । रक्सीको जोसमा एक्सिलेटर बढाउला कि भन् ठानेका होलान् । अहँ बढाइएन । कन्ट्रोल मै बसिएछ । म र कार, दुवै । जे भए पनि पिउँदा पनि राम्रै चलाइएछ । नत्र कसरी पेग बनाउँदै खुवाउँदै गर्थे र ? गुरुङको छोरा, आफू नाम मात्रको पिउने, अरूलाई पिलाउन सधैँ तम्सिने । म कुमाइँ । सङ्गत गरिएकै छ, म कुमाइँभन्दा बाठा गुरुङसँग पनि ।

सिराहामा उपेन्द्रजीको घर पुग्दा रात परिसकेको थियो । तर, पनि आतिथ्यमा कुनै कमी राखेनन् । भोलिपल्ट घुमाउन लगे नजिक कै भारतीय सीमा जयनगर । उनको ससुराली सहर । दुइटै नवीन खरिदारीका सौखिन । खुट्टा दुख्ने गरी बजार घुमाए । त्यो दिन उपेन्द्रजीले आतिथ्य दिए, जयनगर कै राम्रो मानिने एक होटेलमा । ओहो, त्यहाँको पिरो खानाको कुरो नगरौँ, अहिले सोच्दा पनि पसिना छुट्छ । 

त्यसै दिन दिउँसो तिर हिँडियो विराटनगरतिर । अनि गोधुली साँझले बास बस्ने समयतिर पुगियो, कोसी किनारामा । त्यति बेलासम्म जयनगरको पिरोले पनि छाडि सकेको थियो । मैले त्यसअघि र पछि देखेको कोसी किनाराभन्दा बिलकुलै फरक थियो, त्यस बेलाको दृश्य । न कोसी ब्यारेजबाट नदी बगेको थियो, नतै वरिपरिका फाँटहरू हराभरा नै थिए । मरुभूमि झैँ वरिपरि बालुवा मात्र देखिन्थ्यो, अनि सयौँ सवारी साधनका लाम मात्र । दिमाग स्तब्ध बन्यो । मैले देखेको सप्तकोसी र त्यो सप्तकोसी फरक थियो । 

डुङ्गामा कार राखेर कोसी बगेको नयाँ मार्ग पार गर्नुपर्ने बाध्यता जन्मिएको थियो । खेल उजाड बनेकाले नयाँ रोजगारी पाएका थिए । त्यो बेला साढे २ हजार रुपैयाँमा पारी जाने बार्गेनिङ गरियो । २–३ सय मिटर मरुभूमि बनेको फाँटमा गाडी धकेल्न टन्न मानिस आए । मानिस नै गाडिएलान् झैँ बालुवाको डङ्गुरमा कारको स्टेरिङ के मेरो  बस्थ्यो र ? बल्लतल्ल पुगियो, किनारामा । अनि पालो आयो, कारलाई डुङ्गामा राख्ने । मनमा चिसो पस्यो । कतै डुङ्गामा राख्दा राख्दै कोसी मै खसियो भने ?

जेनतेन राखियो । डुङ्गा चलाउँदा ब्रेक लगाइराख्न आदेश दियो, माझीले । झन् डबल डर । एक त कोसीमा कार खस्ला कि भन्ने अनि अर्को गाडी भित्रै बस्दा डुबियो भने त बाँच्ने सम्भावना अरूभन्दा कम हुने । रिस उठ्यो, डुङ्गामा उभिएर शाहरुख खान झैँ जुल्फी उडाउनेहरूसँग । तर, धन्न बाँचियो । रिस पनि मर्‍यो । फेरि त्यही बाटो फर्कनुपर्ने डर साँच्दै विराटनगरतिर हिँड्न खोज्दा त डुङ्गामा रहेको किला पसेर कारको टायर नै पन्चर भएको रहेछ । दुखमाथि अर्को दुख नि । त्यसलाई पनि ठिक पार्नु नै थियो, पारियो । 

यात्रा ! व्यक्तिको होस् कि जिन्दगीको, गन्तव्यमा पुग्नु अगाडि सबै लेखान्त सहनै पर्ने । सहियो पनि ।  

त्यसताका मौसम जाडो कै थियो । रात परेपछि त हुस्सुले २–४ मिटर अगाडि पनि हेर्न गाह्रो हुने रहेछ । विराटनगर सुतेपछि हामी बास खोज्न पुग्यौँ । केही मेहनतपछि भेटियो पनि, वासस्थान । केही दिनको बसाइपछि फर्किइयो, त्यही बाटो । तर, नयाँ कथा रचेर ।

कोसीको किनारामा आएपछि गाडी तार्नेहरूको पनि दलाली देखियो, सिन्डिकेटले दिएको दुख सहियो । त्यो तनाव जाँदाखेरि महसुस गर्नु परेको थिएन ।

किनारामा पुग्ने बित्तिकै एक जनासँग १५–१७ सय रुपैयाँमा कार तार्ने सहमति बन्यो । तर, त्यहाँ बाढीले ल्याएको विध्वंसलाई व्यापार बनाउने सिन्डिकेट पनि खडा भइसकेको रहेछ । आफैँलाई दादा सम्झिनेहरूले मरिगए, पारि जान दिएनन् । अरू केहीलाई पनि यस्तै गोल चक्करमा घुमाइएको रहेछ । एकाध व्यक्तिको सन्काहा प्रवृत्तिले सारा डुङ्गा नै त्यस दिन बन्द गर्ने निर्णय गरियो । परिएन फसादमा !

बल्ल एउटा टोलीले भने साढे २ हजार दिएपछि पारी पट्टी नहरको बाटोसम्म पुर्‍याइ दिने भयो । पारी पुगियो पनि । दिउँसै भएर होला डर पनि कमै लाग्यो, जाँदाभन्दा । गाडी त नहरभन्दा निकै तल झारियो । बलौटे माटोमा ठडिएको नहरमा गाडी चढाउने सम्भावना त थियो तर, निकै मेहनत लाग्ने । अरू केही व्यक्तिले सहयोग गरेपछि बल्लतल्ल कार नहरको बाटोसम्म उक्लियो । धकेल्ने जति सबैका लुगा हेर्नै नहुने बन्यो । भर्खर मरुभूमिमा उँट चराएर आएका जस्ता । टायरले उडाएको धूलोका कारण ।

हामी फर्कँदा विराटनगरबाट एक जना थपिएका थिए । नाम बिर्सिएँ । जहाँ सुनसान हुन्थ्यो, एटिएम कहाँ होला भनेर सोध्ने । अनि जहाँ हुन्थ्यो, त्यहाँ वास्तै नगर्ने । उसको बाटो खर्च समेत हामी बिचराहरूकै काँधमा आयो ।

कोसीको नहरमा भने थप ३ जनालाई पनि लिफ्ट दिनुपर्ने भयो, भारदहसम्म । नहरको बाटोमा कार घचेट्न सहयोग गरेकाले । नैतिकताका आधारमा पनि । नवीन दाइ पुन्टे ज्यानका । ५ जना त कोच्चिएर पछाडिको सिटमा बसे । म कार चलाउने भई हालेँ । भरतजी अगाडि सिटमा बसे अनि नवीन दाइ उनको अगाडि पट्टी खाली रहेको ठाउँमा कच्चाक–कुच्चुप परेर । अटाए पनि । 

भारदह आएपछि ती मानिसहरू त अझ ५ किलोमिटर अगाडिसम्म छाडिदेऊ पो भन्न थाले । नहरको बाटोमा कोच्चिएर बस्नु पर्दा लोत भइसकेका नवीन दाइले नै ‘अब हामी यहाँ खाना खाएर मात्र जान्छौ, तिमीहरू आफ्नै सुरले जाउ’ भनेर पठाइ दिए । नराम्रो लागेन । हामीले आफ्नो नैतिक दायित्व पुरा पनि गरिसकेका थियौँ नै ।

विहारमा मदिरामाथि प्रतिबन्ध लगाइपछि उनीहरूको व्यवसाय पनि केही परिवर्तन भएको रहेछ । प्रहरी प्रशासनको पहुँचमा कठिनाइ भएकै कारण आपराधिक गतिविधिका लागि पनि कुख्यात मानिँदो रहेछ गोबरगाडा । त्यसैले प्राय सबै घरले मदिरा व्यवसायको अनुमति लिएका रहेछन् ।

कोसी बगरमा नजन्मिए पनि त्यसको पीडा भोगियो । आखिर खप्परमा जे लेखिएको हुन्छ, त्यो भई छाड्दो रहेछ । बादललाई स्वतन्त्र भएर आफ्नै गति र मार्गमा हिँड्ने अधिकार छैन । र’ पो उसले पनि हावाको वेगलाई नै आफ्नो रफ्तार र गन्तव्य सारथि बनाउनु पर्छ । हो मानिसलाई पनि आफूले भने अनुसार यो लोकलाई भोग्ने अधिकार छैन । हावारूपी भाग्यले जता बगाउँछ, उतै बग्नु पर्छ ।

०००

डेढ वर्ष त भयो नि । सिद्ध बाबाले चतरामा तारकबम्ह्र महायज्ञ आयोजना गरेको । आस्थाले पुगिएको थियो, त्यहाँ ।
त्यही बेला मौका पारेर गइयो, सप्तरी पनि । मेरा बाल सखा सप्तरी प्रहरी प्रमुख थिए । उसले पुर्‍याएको थियो । कोसीका केही भँगालाहरू पार गरेर पुग्नुपर्ने, गोबरगाडा । 

हामी राजविराज पुगेकै दिन त्यहाँका उच्च र जिल्ला अदालतका न्यायाधीश, प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र जनपद प्रहरीका प्रमुखसहितको टोली गोबरगाडा अनुगमनका लागि जाने तयारीमा रहेछ । हामीलाई त्यो स्थान देखाउन राजेन्द्र (विष्ट) ले जिल्लाका सबै अति विशिष्टहरूलाई केही बेर कुरायो पनि । माननीयहरूसँग मैले त्यो बेला ढिलाइको माफी मागिन, अब माग्नुको के नै अर्थ रहला र खै ?

कुनै बेला लिटिल पाकिस्तानका नामले परिचित गोबरगाडा नेपालमा रहेका सीमित केही टापु मध्ये एक पनि रहेछ । नेपालतिरका सप्तकोसीको ७ भँगालो पार गरेपछि मात्र त्यहाँ पुग्न सकिने । अनि पो बग्दो रहेछ कोसीको मुख्य धार । अचम्म कै रहेछ, त्यो बस्ती ।

करिब २ सय घर रहेको त्यो बस्तीको प्रमुख व्यवसाय पशुपालन रहेछ । बरमझियामा रहेका सयौँ बाजेका पेडा भण्डारसम्म पुग्दा रहेछन्, त्यहाँ उत्पादित दूध । दही पनि हेर्दा नौनी जस्तो, चक्कुले काट्दा केक झैँ एक ढिका भएर अडिएर बस्ने । 

विहारमा मदिरामाथि प्रतिबन्ध लगाइपछि उनीहरूको व्यवसाय पनि केही परिवर्तन भएको रहेछ । प्रहरी प्रशासनको पहुँचमा कठिनाइ भएकै कारण आपराधिक गतिविधिका लागि पनि कुख्यात मानिँदो रहेछ गोबरगाडा । त्यसैले प्राय सबै घरले मदिरा व्यवसायको अनुमति लिएका रहेछन् । अनि सस्ता खाले रक्सी टोकरीमा हालेर कोसीमा बगाउँदा रहेछन् । पारी भारतमा बस्नेले हुक लगाएर तान्दा रहेछन् ।

सरकारी अनुमति लिएकालाई कसरी तस्कर भन्ने ? प्रहरीले कहिले काहीँ धरपकड त गर्दो रहेछ । तर, अदालतले कानुनी आधारमा रक्सी र मानिसलाई छाडिदिँदो रहेछ ।

त्यो बेला प्रहरीको चाहना न्यायाधीसहरुलाई गोबरगाडा घुमाएरै वास्तविकता बुझाउने रहेछ । कोसीले बनाएको बालुवाको विशालमा फाँटमा फोर व्हिल बाहेक अरू गाडी चल्दो पनि रहेनछ । बरु, ट्र्याकटर जाँदो रहेछ । 

भिआइपीहरू जान लागेकाले होला, हनुमान नगरपालिकाले पराल र म्याट राखेर ट्र्याकटरलाई केही बस्न लायक बनाएको रहेछ । तर, गधालाई जति धोए पनि कहाँ गाई बन्दो रहेछ र । गोबरगाडा पुग्दा र फर्कँदासम्म दुखेको ढाडले त्यो यात्राको बयान गरेको थियो ।

भारत वा नेपालमा कोही अपहरणमा पर्‍यो भने लुकाउन सजिलो स्थानमा समेत दरिएको रहेछ, त्यही गोबरगाडा । बालुवाको त्यो विशाल फाँट उम्रिएका घाँसको बिचमा कसैलाई बाँधेर राख्ने हो भन्ने भगवानलाई पनि पत्ता लगाउन गाह्रै हुँदो हो । त्यसले पनि होला, भारतीय र नेपाली अपराधीले लुक्नका लागि त्यो ठाउँलाई निकै मन पराएका । जसले दुखका साथ उभिएको त्यो टापुको नाम नै परिवर्तन गराइदियो । ‘लिटिल पाकिस्तान’ को नाम पायो ।

वर्षामा कोसीमा आउने बाढीले ३ फिटसम्म डुबाउँदा पनि आफ्नै घरमा बस्ने रहेछन्, त्यहाँका बासिन्दा । पेट पाल्ने सरसामान नबगोस् भनेर होला । गाई–भैँसी नहराउन वा बाढीमा बगेर नमरुन् भनेर पनि होला । शायद त्यहाँ उनीहरूको अर्को व्यवसायका सामानहरू पनि यथेष्ट हुन्छन् नै होला । बाढी बढ्दै जाँदा अलि उचाइमा बनेको विद्यालय भवनलाई सेल्टरका रूपमा प्रयोग गरिँदो रहेछ ।

पेट कै लागि उनीहरूले हरेक वर्ष कोसीले दिने कष्टलाई पनि भुलेर बसेकै रहेछन् । आँखाले भ्याएसम्म कोसीले बनाएको मरुभूमि नियाल्दै ट्र्याकटर चढेर नै पुगियो, ती सारा वरिष्ठ नेपाली व्यक्तित्वहरूका साथ, गोबरगाडा । प्रहरीको गाडीसमेत चलाउन सकिँदैन रहेछ, बालुवामाथिको बाटोमा । कति नाजुक रहेछ, नेपाल प्रहरीसँग यातायातको अवस्था ।

गोबरगाडा पुग्दा सुनाइएको कथाभन्दा भिन्न लाग्यो, परिवेश । साह्रै मित्रवत् व्यवहार गरे, आगन्तुकलाई । त्यहाँका स्थानीयले खीर तरकारीबाट गरेको स्वागत अहिले पनि जिब्रोमा झुन्डिएको छ । शायद त्यो खीरमा उनीहरूका केही मुस्कान, केही पीडा अनि केही आँसु पनि मिसिएको हुनुपर्छ । पत्तो पनि पाइयो, कोसी तटमा उम्रिएका जटिबुटी मिश्रित घाँसपात खाने भैँसीका दूध वास्तव मै मिठो हुँदो रहेछ भनेर । अनुभव लिइयो, नेपालको यस्तो ठाउँको, जहाँ हुने हरेक आपराधिक गतिविधिमा कानुन मूकदर्शक बन्नै पर्ने बाध्यता रहेको । अनि जहाँको हाँसो र आँसुसँग मुलुकको प्रशासन प्राय बेखबर हुने गरेको ।

देख्दा लाग्यो, उनीहरू अपराध गरिरहेका छैनन्, बाँच्ने आधार खोजिरहेका भुइँमान्छे हुन् । नत्र आफ्नै देशको प्रशासनको समेत पहुँच नभएको ठाउँमा उनीहरूको जिन्दगी कसरी चल्दो हो ? त्यो पनि हाँसेरै । आखिर भोको पेटले दिने पीडालाई कानुनका दफाले रोक्न सकिँदैन । त्यही उदाहरण बनेर उभिएको छ, गोबरगाडा । अनि हरेक वर्ष कोसीको डुबानमा पर्ने घरका खम्बा समातेर बाँच्न विवश छन्, त्यहाँका भुइँमान्छे ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि