बैशाख १३, २०८१, बिहीबार
               

चार वर्षपछि फेरियो पशु सेवाको बोर्ड

रासस
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थानीय तह आफ्ना क्षेत्रका जनताप्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था बल्ल गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पशु सेवा कार्यालयले कार्यान्वयन गरेको छ । राष्ट्रिय समाचार समिति (रासस) बाट स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम शुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि पशु विकास कार्यालयको बोर्ड नफेरिएको समाचार असार २१ गते सार्वजनिक भएको थियो ।

समाचार सार्वजनिक भएपछि गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको पशु विकास कार्यालयको बोर्ड फेरेको हो । नगरपालिका मातहत रहेको पशु सेवा कार्यालयको बोर्ड फेर्ने अधिकारसमेत त्यो कार्यालयलाई नभएको पशु सेवाका अधिकारीको गुनासो थियो । गुनासोपछि नगरपालिकाले नै बोर्ड फेरिदिएको पशु सेवा सहायक शान्ता खनालले बताउनुभयो ।

नगरपालिकाको एउटै पशुसेवा कार्यालयको बोर्ड तीन वर्षदेखि च्यातिएर बुझ्न नसकिने भएको थियो । जसका कारण सेवाग्राहीलाई कार्यालय खोज्न धौ धौ हुने गरेको गुनासोसमेत सेवाग्राहीको थियो । तर, फेर्ने अधिकार नगरपालिकाले आफैँमा सीमित राखेको कार्यालयका कर्मचारीको गुनासो थियो । 

विसं २०७२ असोज पहिलो साता जारी भएको संविधान अनुसार तीन तहका सरकारमध्ये स्थानीय सरकारअन्तर्गत यो कार्यालय पर्छ । २०७२ सालको अन्त्यदेखि नै यो कार्यालय नगरपालिकाअन्तर्गत आएको हो । निर्णय भएको चार वर्षसम्म पनि पुरानै राज्य संरचना अनुसारको बोर्ड कार्यालयमा भुण्डिएको विषयलाई समाचारमार्फत राससले पटकपटक सार्वजनिक गरेपछि नगरपालिका फेर्न बाध्य भएको हो ।

जनशक्तिको अझै अभाव

बोर्ड फेरिए पनि कार्यालयमा जनशक्तिको समेत अभाव छ । नगर क्षेत्रमा अझै पनि धेरै किसानले पशुपालन गरिरहेका छन् । खाली स्थानमा व्यावसायिक रुपमा कुखुरा, गाई फार्म चलाउने क्रमसमेत बढेको छ तर कार्यालय एक जना पशु सहायकका भरमा सञ्चालित छ । अर्का एक कार्यालय सहयोगी भए पनि उनीसँग पशुको उपचार गर्ने ज्ञान, सीप नहुने सेवाग्राहीको भनाइ छ ।

जनशक्ति नहुँदा पशुपालकको मागअनुसार सबैतिर पुगेर सेवा दिन नसकिएको पशु सेवा सहायक खनालले बताए । कार्यालयका प्रमुख, उपप्रमुखलगायतका पशु संरक्षण अधिकृतको पद रिक्त भएको पनि तीन महिनाभन्दा बढी भइसक्यो तर पदपूर्ति हुन सकेको छैन ।

कार्यालयमा हाल पशु सहायक खनाल र कार्यालय सहयोगी क्रान्ति लामामात्र कार्यरत छन् । पशु चिकित्सकको पद रिक्त भएको महिनौँ बित्दासमेत पद पूर्ति नहुँदा सेवा पाउनबाट वञ्चित हुनुपरेको सेवाग्राहीको गुनासो छ । नगरपालिकाको १ नं वडाको मूलखर्क, ओखरेनी, चिलाउने लगायत दुर्गम स्थानबाट घण्टौँ हिँडेर सेवा लिन जाँदा पनि पाउन नसकिने अवस्था रहेको सेवाग्राही मङ्गले तामाङको गुनासो छ ।

पशुपालक किसानको समस्यामा नगरपालिकाको ध्यान नगएको तर्फ यहाँका हजारौँ नागरिकले दुःख प्रकट गरेका छन् । नगरपालिकाका सूचना अधिकारी भीमबहादुर शाही कार्यालयलाई सातौँ तहका कार्यालय प्रमुख हुँदा तला थप्न छुट्याएको बजेटबाट चालु आर्थिक वर्षमा केही काम गर्न नसकेको बताउँछन् । नेतृत्वले काम गर्न नसक्दा रु १० लाख बजेट यत्तिकै बसेको उनले बताए ।

कर्मचारी रिक्त भएको विषय लोक सेवा आयोगलाई लेखी पठाएकामा प्रदेश लोक सेवा आयोग गठन भइसकेकाले त्यहाँ लेखी पठाउन पत्राचार भई आएको जानकारी पनि सूचना अधिकारी शाहीले दिए ।

सातौँ र छैटौँ तहका पशु चिकित्सकले एकैपटक राजीनामा दिँदा कार्यालय सहयोगीका भरमा चलेको कार्यालयमा सुत्केरी बिदामा बसेकी खनाललाई बोलाएर सकेको सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ । रिक्त पदपूर्ति गरी चुस्त सेवा दिन नगरपालिकाले ध्यान दिनुपर्ने सेवाग्राहीको माग छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि