बैशाख ०८, २०८१, शनिबार
               

बन्दीपुरको बजेट पारित

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ को लागि कूल ५५ करोड पाँच लाख ८२ हजार ४०० रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

गाउँसभाले पूँजीगततर्फ १४ करोड ५३ लाख ८२ हजार ४४० रुपैयाँ, सामाजिक सुरक्षाभत्तातर्फ ९ करोड रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ १६ लाख रुपैयाँ, चालू खर्चतर्फ पदाधिकारीको पारिश्रमिक र सुविधातर्फ एक करोड १५ लाख रुपैयाँ, कर्मचारी पारिश्रमिक र अन्य प्रशासनिकतर्फ दुई करोड ७२ लाखरुपैयाँ, कार्यालय सञ्चालनतर्फ एक करोड ३३ लाख र विविध खर्चतर्फ एक करोड आठ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए ।

गाउँपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट चार करोड तीन लाख ४५ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य लिएको छ । उपाध्यक्ष गुरुङका अनुसार सम्पत्ति करबाट रु ३५ लाख ४६ हजार, घरबहाल करबाट १५ लाख रुपैयाँ, बहाल बिटौरी करबाट २० लाख रुपैया, व्यवसाय करबाट १३ लाख २५ हजार रुपैया, सेवा शुल्कबाट १६ लाख ९४ हजार रुपैया, घरनक्सा दस्तुरबाट आठ लाख ४६ हजार रुपैया, नाता प्रमाणितबाट एक लाख आठ हजार र  ढुङ्गागिट्टीबाट ३० लाख रुपैया आन्तरिक आम्दानी हुने लक्ष्य लिइएको छ । 

त्यस्तै संघीय सरकार वित्तीय समानीकरणवापत रु नौ करोड चार लाख, राजश्व बाँडफाँडबाट ६ करोड रुपैया, सशर्त अनुदानबाट १७ करोड चार लाख, विशेष अनुदानबाट ४ करोड ७५ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरणवापत एक करोड १९ लाख र राजश्व बाँडफाँडबाट रु ६९ लाख ६६ हजार रुपैया आम्दानी हुने लक्ष्य गाउँपालिकाले लिएको छ । 

‘पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार’ लाई मुख्य नारा बनाएर गाउँपालिकाले कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार गाउँ प्रमुखसँग रोजगार कार्यक्रम, बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुलो वितरण, एक लिटर दूध उत्पादनमा एक रुपैयाँ अनुदान कार्यक्रमलाई समेत आगामी वर्षको कार्यक्रममा समेटिएको थापाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि