बैशाख ०४, २०८१, मंगलबार
               

सुदूरपश्चिम पहाडी जिल्लाका केही नाका तीन दिनका लागि खुला

रासस
असार २४, २०७७

ADVERTISEMENT

दार्चुला । भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका बुधबारदेखि खोलिएका छन् ।

बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हो ।

लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

झुलाघाट नाका  शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुबै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको हो ।  

यस्तै दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका पनि तीन दिनका लागि खुल्ला गरिएको छ । दार्चुलाका यी नाका भने २ सिफ्टमा खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म नाका खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्यसम्बन्धी नियमपालना अनिवार्य गर्नुपर्ने जनाइएको छ ।

बैतडीका दुई हजार बढी र दार्चुलामा ५०० जना भारतीय पेन्सनधारी नागरिक रहेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि