बैशाख ०७, २०८१, शुक्रबार
               

नेकपाको अन्तहीन विवाद, गैरजिम्मेवारीको पराकाष्ठा (टिप्पणी)

पार्टी एकताका लागि केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिँदै युवा नेताहरू !
ADVERTISEMENT

काठमाडौं । तीव्र आन्तरिक मतभेदमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोगाउन भन्दै युवा नेताहरूले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिँदै आएका छन् । उनीहरूले पछिल्लो पाँच दिनदेखि धुम्बाराहीमा धर्ना दिइरहेका छन् । सचिवालय र स्थायी कमिटीले विवाद मिलाउन नसकेको भन्दै युवा नेताहरूले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान पनि चलाइरहेका छन् । लामो सङ्घर्षपछि एक भएको कम्युनिस्ट पार्टी फेरि फुट्दा नेपालको कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने भएकाले खबरदारी स्वरूप धर्ना दिइएको नेताहरूले बताए ।

उनीहरू भन्छन् ‘नीति र विधानअनुसार पार्टी अघि बढ्नुपर्छ, नेता प्रधान हुनु हुँदैन, विवादको समाधान पार्टीका बैठकबाट हुनुपर्छ । बाहिर भेला गर्दै हिँड्न नपाइने भएकोले हामीले खबरदारी गरिरहेका छौँ ।'

उनीहरूले सचिवालय र स्थायी कमिटीको बैठकले समाधान निकाल्न नसकेकोले अविलम्ब केन्द्रीय कमिटीको बैठक बोलाउन पनि माग गरिरहेका छन् । बैठकको माग गर्दै आजसम्म एक सय जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । छिटै हस्ताक्षर शीर्ष नेतालाई बुझाएर ध्यानाकर्षण गराउने पनि केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

पछिल्लो सकय पार्टीको स्थायी कमिटी बैठक सर्दै आएको  छ । सचिवालय र स्थायी कमिटी दुवैमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओली सकभर बैठक नै टार्ने पक्षमा छन् । बैठकले निर्णय गर्दा ओलीको राजीनामाको पक्षमा बहुमत पुग्छ । त्यो अवस्था आउन नदिन ओलीले बैठक टार्ने प्रयास गरिरहेको प्रचण्ड–नेपाल समूहको विश्लेषण छ । यसैले प्रचण्ड निकट नेताहरू केन्द्रीय समिति बैठक नै बोलाउन दबाब दिन पार्टी कार्यालयमा धर्ना दिन थालेका हुन् । तर यसलाई उनीहरूले पार्टी एकता जोगाउने प्रयासको संज्ञा दिएका छन् ।

यसरी भाँडियो स्थायी कमिटी बैठक

पछिल्लो पटक बसेको नेकपाको स्थायी कमिटी बैठक अन्योलमा छ । नेकपाका २० जना नेताहरूले गत वैशाख महिनामै स्थायी समिति बैठक माग गरेका थिए । नेताहरूको मागपछि २५ वैशाखमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित भयो । पुनः वैशाख ३१ मा डाकिएको बैठक पनि कोरोना कारण भन्दै स्थगित भएको थियो । त्यसपछि असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकको सुरुकै दिन प्रधानमन्त्री ओलीको चर्को आलोचना भयो । पहिलो दिन बैठकमा उपस्थित भएर धारणा राखेका ओली दोस्रो दिन १२ गतेको बैठकमा उपस्थित नै भएनन् ।

पार्टीभित्रको विवाद मिलिनसकेकै बेला असार १४ गते मदन जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउने चलखेल गरेको र नेकपाका नेताहरू पनि त्यसमा लागेको अभिव्यक्ति दिएपछि तरङ्ग उब्जिएको थियो । जुन अभिव्यक्तिले स्थायी कमिटीमा भाँडभैलो भयो । १५ गते बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिका बारेमा अध्यक्ष प्रचण्डले स्पष्टीकरण मागेका थिए । त्यसपछि भाँडिएको बैठक अझै सुरु हुन सकेको छैन ।

अन्तहीन विवाद, गैरजिम्मेवारीको पराकाष्ठा

दिनहुँ अध्यक्षद्वयबीच वार्ता भए पनि परिणाम सार्वजनिक भएको छैन । यसबीचमा चिनियाँ राजदूत होउ यान्छीले नेकपाका सबैजसो शीर्ष नेताहरूसँग भेट गरेकी छिन् । दक्षिणबाट चलखेल भइरहेको आरोप लगाएका प्रधानमन्त्री ओलीले उत्तरको सहयोग मागेको भन्दै त्यसको आलोचना भइरहेको छ । नेकपाको किचलोले त्यो दललाई मात्र प्रभाव पारेको छैन । सत्ताको नेतृत्व गरेको दलको अन्तहीन विवादले अप्ठेरोमा परेका मुलुकवासीलाई झन् समस्यामा पारेको छ । कोरोना संक्रमणका कारण देश र सर्वसाधारण अप्ठेरोमा परिरहँदा सरकार र सत्तासीन दल जिम्मेवार बन्न सकिरहेको छैन । तत्काल बैठक बसेर आफ्नो एजेन्डाको टुंगो लगाउनु पर्नेमा नेकपाको विवाद झन् झन् बल्झिरहेको छ । यो श्रृंखला बढ्दै जाँदा नेपालको राजनीतिमा आत्मनिर्णयको अधिकार पनि गुम्न थालेको छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि