बैशाख १३, २०८१, बिहीबार
               

त्यो बेलाका लुरेहरू अहिले त राँगो पचाएका बाघ जस्ता !

चेतन पाण्डे
असार २४, २०७७

ADVERTISEMENT

कसले चाहन्छ होला यस्तो देश । जहाँ छ भन्नका लागि केही छैन ।

हो हामीसँग गर्व गर्नका लागि सगरमाथा छ, लुम्बिनी छ अनि प्राकृतिक सम्पदा र कला संस्कृतिको चाङ छ । धन्य ईश्वरको उपहार थियो र’ छ भन्न पाइएको छ । हाम्रा भोटबाट जितेका मान्छेहरूले बनाउनु पर्ने भएका भए त ती केही पनि हुँदैनन् थिए होला ।

लाग्थ्यो, आफ्नो जन्मभूमि त्यागेर विदेश पलायन हुनेहरू काँतर हुन् । अहिले लाग्न थालेको छ, बुद्धिमानी रहेछन् । किनकि मरुभूमिको वृक्ष झैँ बनेको छ, मेरो देश । जीर्ण, पात झरी सकेको कङ्काल झैँ हाँगा मात्र बचेको । कुनै कालखण्डमा यो मुलुक पनि हराभरा नै थियो । जब पात झर्न थाल्यो, दोहराएर कहिल्यै पलाएन । ढल्न लागेको रुख झैँ । 

इतिहासको सामान्य ज्ञान राख्नेहरूलाई थाहा छ । कुनै कालमा हामी कति सम्पन्न थियौ भन्ने । किराँत वंश होस् वा लिच्छवि वंश वा मल्लकाल नेपालको विकासको ग्राफ सधैँ माथि गएको देखिन्छ । विज्ञानलाई चुनौती दिने खालका सहर बनेका थिए । मठ–मन्दिर बनेका थिए । आज पर्यटकलाई त्यही अवशेष बनिसकेका इतिहास देखाएर हामी डलर खेती गर्दै छौँ । त्यसमा पनि २०७२ सालको भूकम्प सहन नसकेर इतिहास धरोहर खण्डहर बनेका छन् । केही पुनर्निर्माण भए त केही अहिले पनि फेरी ठडिने आसमा छन् । विकासको गति भने कुनै बेला जनकपुर–जयनगर चल्ने रेल जस्तो छ । २९ किलोमिटरको यात्राका लागि २–३ घण्टा लाग्ने । चढिएको थियो, त्यो रेल पनि । वर्षामा छाता ओढ्नु पर्ने डिब्बाभित्र बसेर । अनि देखिएकै छ, नेपालको विकासको गति पनि । त्यही रेलका डिब्बा झैँ जताततै भ्वाङ परेको छ, यो मुलुकमा पनि । 

कुनै शासन व्यवस्था र त्यसका चालक भनेको मौसमी प्रणाली जस्तो हुनु हुँदैन, छिन छिनमा बदलिरहने । उनीहरू त यति कसिलोसँग जनताको मनमा बाँधिएको हुनुपर्छ कि कसैले हल्लाएर हल्लाउन नसकोस् । तर कहिले काहीँ लाग्छ, सिंहदरबारको घुम्ने कुर्सीको एउटा खुट्टा भाँचिएको पो छ कि ? दक्षिणतिरबाट धकेल्दा ढल्नै खोज्ने अनि उत्तर तिरबाट आड दिनु पर्ने । अनि कहिले काहीँ उत्तरतिरबाट धकेल्दा दक्षिण तिरबाट आड चाहिने ।

चुनावताका गरिएको वाचा पुरा हुन्थ्यो त आज हाम्रो मुलुकमा रेल दौडिने सुरसार भइरहेका हुन्थे । हामी रेल चढेर पोखरा र लुम्बिनी जाने दिन गनेर बसिरहेका हुन्थ्यौँ, अर्को चुनाव अघि नै । ती रेलका निर्माणाधीन ट्र्याक हेरेर । अनि हिन्द महासागरमा चलेको नेपालको पानी जहाजका तस्बिर हेरिरहेका हुन्थ्यौँ । अनि केही वर्षमा कोसी मै त्यही जहाज चल्ने पूर्वाधार धमाधम निर्माण भइरहेको पनि देख्थ्यौँ । 

अब त हाम्रा नेतालाई लाज लाग्न छाडेको छ । हजार सपना देखाएर त्यही सपनालाई पनि मुर्छित बनाउन । अनि लाज लाग्दैन, अर्को चुनाव आएपछि फेरि त्यही पिचास बनिसकेको सपना जगाएर जनता मूर्ख बनाउन । अर्को चुनाव ताका उनीहरूका वाचालाई नपत्याए पनि पत्याए झैँ गरेर भोट दिने जनता हामी नै छौँ । न कुनै प्रश्न गर्छन् नतै जवाफ माग्छन् । बस्, सक्छन् त आफ्नै कर्मलाई धिक्कार्न मात्र । अनि देशका मुद्दा चिया पसल र भट्टीमा समय कटाउने मेसो बन्छन् । 

मैले यो मुलुकले भोगेका स्वर्णिम काल बारे जति थाहा पाएँ, ती सबै किताब पढेर मात्र । आफू जन्मेपछि, अलि जान्ने बुझ्ने भएपछि त कुनै समय स्वर्णिम लागेनन् । बस्, देखियो त सत्ताका लुछाचुँडी मात्र । चाहे सूर्यबहादुर थापामाथिको महाभियोग होस् वा कृष्णप्रसाद भट्टराई जस्ता शालीन व्यक्तित्वको मानमर्दन अनि अहिले केपी शर्मा ओलीका दम्भ । 

म जन्मँदा पञ्चायतको राप चढ्दै थियो । तेज थियो, त्यो व्यवस्थाको । नेपालको जनसङ्ख्या भर्खर करोड नाघ्दै थियो । अहिले त ३ करोड नाघिसकेको छ । देशका जमिनहरू उब्जाउ थिए । कृषि व्यवसायले मानिसको मुहारमा केही मुस्कान छरेको थियो । तर, देश देश जस्तो बन्न छाडिसकेको धेरै भइसकेको थियो । जनसङ्ख्या झन्डै ३ गुणा बढेछ, म जन्मँदा र अहिलेको तुलनामा । जनताका दुख त्यो बेलाभन्दा धेरै गुणा बढेका छन् । सरकार झन्–झन् जनताका दुख देखे पनि नदेखे जस्तो गर्न थालेको छ ।

इतिहास पढेर विश्लेषण गर्ने हो भने जब मल्लकालको अन्त्य भयो, तबदेखि यो देशको विकासमा पनि पूर्णविराम लाग्यो । शिक्षा लिने उमेरमा युवाहरू मुलुक एकीकरणमा लागे । शिक्षाको मापदण्ड रुद्री–चण्डी घोक्नमा सीमित बनाइयो । जसले घोक्न सके त्यही विद्धान कहलिए ।

जब मुलुक एकीकरणबाट थकित भयो, त्यसपछि निरङ्कुश राणा शासन उदायो । जनतालाई पढ्न दिइएन । अनि आजका नवसामन्त झैँ राणाहरू पनि धन थुपार्न मै व्यस्त रहे । १ सय ४ वर्ष लामो त्यो कालो शासनले दिएको बस् त्यही हो, जहाँ बसेर आजका शासक शासन चलाउँछन् । अनि इतिहासलाई धिक्कार्छन्, एकीकरणका नायकलाई गाली गर्छन् । मानौँ यो देश उनीहरूले नै एकीकरण गरेका हुन्, उनीहरूले निर्माण गरेका हुन् । मलाई त, मौका मिले कुनै दिन इतिहासका साक्षी बनेर उभिरहेका दरबारहरूलाई पनि होटेल चलाउन लिजमा दिन्छन् कि जस्तो पनि लाग्न थालेको छ ।

२०३६ सालको जनमत सङ्ग्रहका केही धुमिल दृश्यहरू अहिले पनि तुवाँलोले छेकिएका पहाड झैँ आँखामा नचाउन सक्छु । तर, अहिले ठोकेर भन्न सक्छु, कदंकदाचित २०३६ सालको जनमत सङ्ग्रहको नतिजा फरक आएको भए पनि हामी नेपालीको फरक भाग्य लेखिँदैन थियो । किनकि शासक त यिनै त हुन्थे । यही संस्कार अङ्गालिहाल्थे । 

पञ्चायती व्यवस्थालाई यो मुलुकले जति व्यहोर्‍यो, त्यति त बहुदलीय व्यवस्थालाई पनि भोगी सकेको छ । तर, जनता सधैँ ठगिएका छन् । खै के नै भिन्नता आएको छ र' जनताको जीवनस्तरमा । होला कोही अचाक्ली धनी बने होलान्, कोही  अहिले पनि खेत खनेर फाटेकै टोपीले पसिना पुछ्दै होलान् ।

मेरा बाबाले बहुदलीय व्यवस्था अस्तित्वमा रहेकै बेला २०१४/१५ सालतिर नेपाल राष्ट्र बैङ्कको जागिर खाए । पञ्चायत व्यवस्थाभरि पनि पनि खाए । २०४८ सालमा त्यही बहुदलीय व्यवस्थाले पुराना कर्मचारी जति सबै पञ्चायततिर ढल्किएका हुन्छन् भन्ने भ्रामक सोच निर्माण गर्‍याे हजारौँ कर्मचारीलाई एकै पटक अवकाश दियो, त्यो पनि रित्तो हात । त्यो दिनदेखि मेरा बाबाले गिरिजाप्रसाद कोइरालालाई घृणा गर्न थाले । त्यो बेला नेपाल राष्ट्र बैङ्कको उपल्लै पदसम्म पुग्छु भनेर साँचेको सपना चकनाचुर भएको थियो, उनको । अवकाशको पत्र तयार हुँदै गर्दा बाबा विदेश यात्रामा थिए । फर्किएर आउँदा हातमा अवकाश पत्र थमाइयो, पेस्की फर्छ्यौट गर्नु अगावै । गिरिजाप्रसाद कोइराला मेरा बाबाभन्दा अघि नै मरे । उनको मृत्युमा मेरा बाबा हाँसेनन् तर दुख पनि मनाएनन् । बस्, दुई पेग चढाएपछि भने, ‘एउटा अर्को जल्लाद गयो । यो देशले यस्ता धेरै जल्लादको सामना गर्न बाँकी नै छ ।’

राणाकालमा जन्मिएका मेरा बाबाले गणतान्त्रिक व्यवस्था पनि देखे । तर, सङ्घीय गणतान्त्रिक नेपालमा जनताको मन र धनमा शासकले मच्चाएको लुट देखेनन् । कोरोना सङ्क्रमणको महामारीमा समेत अनियमितता गर्ने भ्रष्टहरूलाई पनि चिन्न पाएनन् । शासकले सत्ताको दोहरी गाउँदै जनतालाई कोरोनारूपी ज्वालामुखीमा धकलेको पनि देखेनन् । भाग्यमानी रहेछन्, समय मै गए । अधुरा सपनासँगै मर्ने यो मुलुकमा लाखौँ होलान् । शायद हामी पनि देश बन्ने कल्पनामा हराउँदा हराउँदै जान्छौ होला ।

भगवानले मानिसका अङ्गहरूको कार्य विभाजन गर्दा केही अङ्गलाई मात्र दोहोरो कार्य दिएका छन् । जसमा मुख पनि हो । मानिसले खाने र बोल्ने काम मुखले नै गर्नु पर्छ । तर, जनता अहिले यस्तो दरिद्र अवस्था भोग्न बाध्य छन्, जहाँ मुखलाई काम दिन पनि आच्छु आच्छु परेको छ । गरिब मुलुकका बासिन्दालाई मुखमा माड लगाउन त्यसै पनि सङ्घर्ष चाङ छिचोल्नु पर्छ, त्यसमाथि वाक स्वतन्त्रताको भरपुर उपभोग गर्न पाउने यस्तो उन्नत व्यवस्था नाम मात्रमा सीमित भएको छ । त्यसैले हामीलाई शासकको विरोधमा बोल्ने पनि छुट छैन । बोल्यो भने सिधै जेल जाने खतरा बढ्दो छ । भक्ति गान गाउन भने पर्याप्त छुट छ ।

निरङ्कुश व्यवस्थाका नाममा हामीले पञ्चायत पनि भोगेकै हो । बहुदलीय व्यवस्थाभित्र केही वर्ष ‘फ्युजन’ का रूपमा उदाएको दल विहीन शाही काल पनि देखेकै हो । त्यो शाही काल र अहिलेको गणतन्त्रमा तार्किक भिन्नता खोज्नु पर्‍यो भने त्यो पनि कठिनै छ । जनताका आवाज अहिले पनि दबाइन्छन्, जसरी त्यो दिन दबाइएका थिए ।

२०४६ सालअघि दरबार नजिक रहेकाहरूबाट सुनिन्थ्यो, राजा (वीरेन्द्र) त उदार छन्, व्यवस्था मात्र अनुदार छ । अहिले ठ्याक्कै उल्टो भोगिँदै छ, व्यवस्था त उदार छ, शासक मात्र अनुदार छन् । 
त्यसैले लाग्न थालेको छ । कुनै व्यवस्था वा शासक उदार भएर मात्र देशको भलो हुँदैन रहेछ । देशको उन्नति र समृद्धि त्यो बेला मात्र सम्भव हुन्छ, जति बेला शासक र व्यवस्था दुवै नै उदार हुन्छन् ।

हुन त लि क्वान यु र महाथिर मोहम्मद जस्ता उदार तानाशाह नजन्मेका भए सिंगापुर र मलेसियाले सम्पन्नताको काँचुली पाउने थिएनन् होला । तानाशाह नै बन्ने भए जनताप्रति समर्पणको भावनासहित बन्न सक्नु पर्छ । मुलुक बनाउँछु भन्ने अठोटका त हुनै पर्दो रहेछ । त्यस्ता तानाशाहको विरोध गर्न त जनतालाई पनि लाज लाग्छ । तर, यो मुलुकले तानाशाह त जन्माउन जानेको छ तर, उनीहरूको मनमा जनताप्रति समर्पणको भावना भर्न जानेको रहेनछ । अनि लाग्छ, यो मुलुकले राजा पनि फाल्न जानेको छ तर, बदलामा सयौँ राजा जन्माउन पनि जानेकै रहेछ ।

कुनै शासन व्यवस्था र त्यसका चालक भनेको मौसमी प्रणाली जस्तो हुनु हुँदैन, छिन छिनमा बदलिरहने । उनीहरू त यति कसिलोसँग जनताको मनमा बाँधिएको हुनुपर्छ कि कसैले हल्लाएर हल्लाउन नसकोस् । तर कहिले काहीँ लाग्छ, सिंहदरबारको घुम्ने कुर्सीको एउटा खुट्टा भाँचिएको पो छ कि ? दक्षिणतिरबाट धकेल्दा ढल्नै खोज्ने अनि उत्तर तिरबाट आड दिनु पर्ने । अनि कहिले काहीँ उत्तरतिरबाट धकेल्दा दक्षिण तिरबाट आड चाहिने । जबसम्म त्यो कुर्सीले आफ्नै दरिलो खुट्टाको आडमा टिक्न सक्ने इमानदार शासक भेट्दैन, तबसम्म जनता आफ्ना दिन फिर्ने रोमाञ्चक कल्पना मै हराउन बाध्य हुनुपर्छ जस्तो पनि लाग्न थालेको छ ।

सुनिएकै हो, आज करोडौँका गाडी चढ्ने नेताहरू हिजो चप्पल पड्काएरै हिँडेका थिए रे । भट्टी मै पस्थे रे । हिजोका दिनमा राजनीति पेसा बनी नसकेकाले पनि होला तर, आज राम्रो पेसा बनिसकेको छ । त्यसैले त भट्टीमा लोकल लगाउनेहरू आज ब्लु लेबलका कुरा गर्छन् ।

त्यसमाथि हामी पश्चिमी र पूर्वीय संस्कृतिको ‘फ्युजन’ कालमा छौँ । जनता युरोप अमेरिकाका बासिन्दा झैँ बन्न चाहन्छन् । सहर–बस्तीहरू पनि आधुनिकता अङ्गाल्दै छन् । तर, जनताको आर्थिक अवस्था त्यो संस्कृतिसँग मेल खाने बन्न सकेको छैन । नव सामन्ती वा नवधनाढ्य त्यही ‘फ्युजन’ संस्कृतिसँग भिजिसकेका छन् । धन नहुनेहरू भने धनीका लागि बनेका होटेल र सपिङ मल बाहिर नै मागेर बस्नुपर्ने बाध्यतामा छन् । एउटै देशको जनता कोही मर्सिडिज चढ्छन् त कसैको चप्पलमा पनि प्वाल परिसकेको छ । तर, पनि पापी पेटका लागि ऊ हिँड्न बाध्य छ, त्यही प्वाल परेको चप्पल घिसारेर । अनि किन बढ्दैन त, ठगी, चोरी, डकैती, अपहरण ? अनि किन जाग्दैन त जनतामा निराशा ?

कसैको आङमा हजारौँको ब्रान्डेड लुगा छन् त कोही नाङ्गै छन् । कसैलाई ब्रेकफास्ट, लन्च, डिनर खाएर फुर्सद छैन, कसैको चुल्होमा ढिँडो पकाउन फापर पनि छैन । यस्तो पनि हुन्छ असमानता, एउटै मुलुकका दुई नागरिक बिच ?

सुनिएकै हो, आज करोडौँका गाडी चढ्ने नेताहरू हिजो चप्पल पड्काएरै हिँडेका थिए रे । भट्टी मै पस्थे रे । हिजोका दिनमा राजनीति पेसा बनी नसकेकाले पनि होला तर, आज राम्रो पेसा बनिसकेको छ । त्यसैले त भट्टीमा लोकल लगाउनेहरू आज ब्लु लेबलका कुरा गर्छन् । कुन माइकालालमा त्यो क्षमता होला, केही वर्षमा नै फुटपाथेबाट अर्बौपति बन्न सक्ने ? हुँदा रहेछन्, हामीले देखेका छौँ, भोगेका छौँ । 

राजनीतिका हामीले देख्ने सबै अनुहारहरू  झैँ भ्रष्टाचारको एउटै फोहरी आहालमा डुब्की लगाइ रहेका छन् । अनि त्यस्तो एउटै आहालमा डुबेर एउटाले अर्कोको मुखमा हिलो छ्याप्नु पनि अर्थहीनै हुन्छ । बस्, जनता झुक्याउने खेल मात्र । आफूलाई चोखो देखाउने भद्दा मजाक मात्र । लाग्छ, हाम्रा नेताहरू अनियमितताका कथामा ट्विस्ट ल्याउन माहिर छन् । नयाँ नयाँ अनियमिततासँगै ।

हुन त भ्रष्टाचार कुन मुलुकमा हुँदैन र । मात्रा मात्र फरक हुन्छ । भ्रष्टाचारीलाई दिइने सजाय फरक हुन्छन् । हाम्रो जस्तो दण्डहीनता कमै मुलुकमा हुन्छ । भ्रष्टाचारको छानबिन गर्ने निकाय भ्रष्टाचारीलाई चोख्याउने थलो बन्दैनन् । त्यही कारण त राष्ट्र, राष्ट्र जस्तो बन्छ । नागरिकले गर्व गर्ने खालको । हिजो सामान्य हबलदारको लट्ठीका कारण अनुशासनमा बस्ने जनता पनि त्यही नेताहरूको आडमा तोप देखाए पनि नतर्सने भएका छन् ।

हाम्रा एकथरि नेताहरूको २०४६ साल ताका र अर्कोथरि नेताहरूको सशस्त्र जनआन्दोलन ताकाको तस्बिर हेर्नु पर्छ । अनि उनीहरूको उहिले र अहिलेका मुहारले धेरै कथाको भित्री रहस्य उजागर गर्छन् नै । त्यस बेला खिचिएका हाम्रा नेताहरूको तस्बिर हेर्दा लाग्छ, मुसा खान नपाएको बिरालो जस्ता पो देखिँदा रहेछन् । त्यो बेलाका लुरेहरू अहिले त राँगो पचाएका बाघ जस्ता पो देखिन्छन् । गाला छेड्यो भने पनि रगतका धारा निस्किएला जस्तो ।

हिजोका दिनमा मानिस पापसँग डराउँथे । आज धर्मलाई व्यापार बनाएका छन् । लाग्छ, मानिसबाट पापको भय पनि हराएको छ । सत्ता, शक्ति र धनलाई पुज्ने भएका छौँ । पहिले पशुपतिनाथ पुजिन्थे, अहिले शीतल निवास र बालुवाटार पुजिन थालेका छन् । देश फरक बनेको छ । जनताको विचार फरक बनेको छ । नेताको आत्मा फरक बनेको छ । अनि कसरी बन्थ्यो त यो गर्व गर्न लायक मुलुक ।

आफ्नै राष्ट्र अनि त्यो राष्ट्र बनाउने जिम्मा लिएका नेताहरूलाई गाली गर्दा मन त अमिलो हुन्छ नै तर, के गर्नु अमिलो कोच्चाएपछि त डकार पनि नमिठै निस्किहाल्दो रहेछ । धन्न, जोगाएका छन्, अहिलेसम्म पशुपतिनाथले ।
 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि