साउन २२, २०७७, बिहीबार
               

ओलीको त्यो भाषण र यो हठ !
अर्जुन खड्का
असार २३, २०७७

मिति ठ्याक्कै याद भएन । धेरै पुरानो पनि होइन । २०५८ साल (सन् २००१) तिर हुनुपर्छ । जापानका प्रधानमन्त्री योसिरो मोरीले केही दिनअघि मात्रै राजीनामा गरेका थिए । नेपालमा प्रधानमन्त्रीमा आसीन थिए गिरिजाप्रसाद कोइराला । काठमाडौंको खुलामञ्चमा नेकपामा एउटा सभा थियो । मानिस निक्कै भेला भएका थिए । मानिस जम्मा गर्नमा सिपालु थियो एमाले । कार्यक्रम सरकारविरुद्ध केन्द्रित थियो । त्यो विशालसभामा भाषण सुन्नेमध्ये म पनि एक थिएँ । त्यो बेलादेखि नै ओलीको भाषण सुन्न रोमाञ्चित हुन गर्दथेँ । उटपट्याङ बढी गर्थे । उपमा जोड्ने उनको विशिष्ट चलन थियो । बेलाबखत टुक्का पनि निक्लन्थे । अहिलेभन्दा निकै कम अंग्रेजी मिसिन्थ्यो उनको भाषणमा । जे भने पनि ताली बजाउने टोली थियो । एक खालको दस्ता नै थियो । लाग्थ्यो कि हिटलरका प्रचारमन्त्री गोयबल्सकै शैलीमा चल्छ एमाले ।

यत्तिकैमा ओलीले भने- 'अहिले आम मानिसहरूले भनेको मैले सुनिरहेको छु । उता जापानमा त मोरीले राजीनामा दिइसक्यो । हाम्रो मोराले चाहिँ कहिल्यै नछोड्ने भयो बा !'

खुलामञ्च (सायद त्यतिबेला रत्नपार्क नै भनिन्थ्यो)को त्यो भाषण सबै याद छैन । तर एउटा अंश भने अझै भुलेको छैन । ओलीले भने- 'म सर्वसाधारणसँग पनि घुलमिल गर्छु । उनीहरूको विचार र भावना पनि सुन्छु । कहिलेकाहीँ फुटपाथमा हिँड्छु । मानिसहरू के भन्दै छन्, बुझ्ने गर्दछु ।' लाग्यो कि यी त साँच्चिकै कम्युनिस्ट नेता रहेछन् । हुन् पनि त्यतिखेरसम्म सैद्धान्तिक रूपमा स्खलित भइसके पनि ब्यवहारिक रूपमा क्रान्तिकारी नै थिए एमालेजनहरू । भाषण अझै सकिएको छैन । यत्तिकैमा ओलीले भने- 'अहिले आम मानिसहरूले भनेको मैले सुनिरहेको छु । उता जापानमा त मोरीले राजीनामा दिइसक्यो । हाम्रो मोराले चाहिँ कहिल्यै नछोड्ने भयो बा !'

कति भाँती पुर्‍याएको ! जापानमा मोरीले राजीनामा दियो । तर नेपालमा मोराले चाहिँ छोड्नै मानेन । भाषणपछि तालीको गडगडाहट । अझै विस्मृतिमा पुगेको छैन त्यो ।

समयान्तरसँगै सौभाग्यवस ओली प्रधानमन्त्री बने । पार्टी अध्यक्ष भए । उनी दोस्रो पटक प्रधानमन्त्रीमा आसीन छन् । तर त्यो रतुवा नदीको पाता अझै कसिएको छैन । सुकुम्वासी बसाए जस्तो पनि लाग्दैन । बरु वारि मोरङतिर बक्राहा नदीको भने पाता कसिएको छ ।

हुन त ओलीको भाषण मैले त्यस अगावै सुनिसकेको थिए । पहिलो पटक २०४८ सालमै श्रवण गर्ने मौका परेको थियो । झापाको स्कुलचौनमा चुनावी सभा थियो । ओली झापा ६ बाट चुनावी मैदानमा थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै थियो । उनको भाषण लामै थियो । धेरै याद छैन । एउटा विषयवस्तुको केही वाक्य याद छ । त्यो नदी नियन्त्रण र सुकुम्वासी व्यवस्थापनबारे थियो । त्यत्ति बेलासम्म एमाले नेताहरू 'मैले जितेमा, म विजयी भएमा' भन्दैन थिए । त्यसो गर्दा व्यक्तिवादी भइन्थ्यो । पार्टीको नाम लिन्थे । ओलीले पनि त्यसैगरी भने- 'नेकपा एमालेले जितेमा रतुवा नदीको पाता कसिने छ । रतुवा खोलाको पाता कसेपछि हजारौँ विगाह जमिन निस्कन्छ । त्यो जग्गा सुकुम्वासीलाई दिइने छ ।'

बस ! मलाई त्यो खोलालाई पाता कस्ने कुराले छोयो । ओलीले भाषण गरेको ७-८ किलोमिटर पश्चिममा मेरो घर । बीचमा त्यही रतुवा खोला । जुन मोरङ र झापाको सीमाना पनि । हामीलाई पनि वारिपारि गर्न रतुवाले सास्ती दिने गरेको थियो । मभित्र राजनीतिक चेतना प्रवेश गर्दैगर्दाको ओलीको त्यो भाषण अझै यादगार छ ।

राजनीति सधैँ एकनासको हुँदैन । कोही सत्तामा पुग्छन् । माथि चढ्छन् । कोही जहाँको त्यहीँ त, कोही झन् झन् तल पुग्छन् । समयान्तरसँगै सौभाग्यवस ओली प्रधानमन्त्री बने । पार्टी अध्यक्ष भए । उनी दोस्रो पटक प्रधानमन्त्रीमा आसीन छन् । तर त्यो रतुवा नदीको पाता अझै कसिएको छैन । सुकुम्वासी बसाए जस्तो पनि लाग्दैन । बरु वारि मोरङतिर बक्राहा नदीको भने पाता कसिएको छ ।

पृष्ठभूमिका यस्ता मुद्दा र घटना धेरै छन् । वर्तमानलाई मात्र हेर्दा पनि ओली कोटरीबाहेकको राजनेता हुन सकेनन् । मुर्छित सपनामा पानी छर्कने मात्र होइन, ठूल्ठूला सपना नदेखाएर यथार्थ र प्राथमिकताका आधारमा काम गर्ने मौका थियो उनलाई । तर भएन । बढी जोडघटाउ गर्नै पर्दैन । ओली नेतृत्वको अघिल्लो सरकार र यो सरकार तुलना गरे हुन्छ । अघिल्लो सरकार ख्याउटे थियो । मिलीजुली थियो । उनको मात्रै दलको बहुमत थिएन । यस पटकको चानचुन अढाइ वर्ष उनले शक्तिशाली सरकार चलाए । राज्य प्रशासनमा नेकपा मात्र होइन, ओली नै हाबी भए । राजस्व, सुराकीसँग सम्बन्धित केही निकाय आफू मातहत पनि ल्याए । ओलीले जसरी २०५८ सालमा सर्वसाधारणको कुरा सुन्ने गरेको भनेर खुलामञ्चमा भनेका थिए, त्यस्तै जमर्को अहिले गर्ने हो भने आमतवरमा अघिल्लो निरीहको तुलनामा अहिलेको बलिष्ठ ओली सरकारले न्यून अंक पाउने छ । सर्वत्र असन्तुष्टि छ । म नै राज्य हुँ भन्ने अहंकार प्रधानमन्त्रीमा व्याप्त छ । मर्यादित संसदभित्रको अभिव्यक्ति शैली धेरैलाई पचेको छैन । बेथिति र भ्रष्टाचारमा न्यायाधीश बनेर लोकतन्त्रको उपहास गरिएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि पटकपटक धारे हात लाउने काम भइरहेको छ ।

मुलुकलाई त्यस्तो अप्ठेरो पर्दा अडान लिएका ओली अहिले एक छिमेकीलाई आक्षेप र अर्को छिमेकीलाई हस्तक्षेपका लागि खुला आमन्त्रणको नीतिमा उत्रिएका छन् । नेपालको राजनीति हामी आफैँ सम्हाल्छौँ भन्नु पर्नेमा राजदूत गुहार्ने काम भइरहेको छ ।

नेकपाले स्थिर सरकार दिन सक्नु पर्ने थियो । तर ओलीका यिनै बेथितिले उनलाई दलभित्रबाट समस्या आइरहेको हो । ओली प्रधानमन्त्री मात्र होइनन् । नेकपाको अध्यक्ष पनि हुन् । त्यो पनि पहिलो अध्यक्ष । नेकपाको किचलो जो जसले गरे पनि पहिले अध्यक्षको नाताले व्यवस्थापन गर्ने प्रमुख दायित्व उनकै थियो । तर उनी त्यसमा पनि चुकेका छन् । यतिसम्म कि पार्टी विवादमा राष्ट्रप्रमुखलाई 'प्लेयर' बनाउने दुष्कर्म पनि उनले जारी राखेका छन् ।

भन्नेहरूले भनेका छन् ओली सरकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपहार हो । उनले नाकाबन्दी नलगाएको भए ओलीको यस किसिमको उदय नै हुने थिएन । यो तर्कमा दम खासै नहोला । कुतर्क नै हो । तर नाकाबन्दीमा लिएको अडानले ओलीको लोकप्रियता बढेको र त्यो अडान मतमा रूपान्तर भएको चाहिँ यथार्थ हो । मुलुकलाई त्यस्तो अप्ठेरो पर्दा अडान लिएका ओली अहिले एक छिमेकीलाई आक्षेप र अर्को छिमेकीलाई हस्तक्षेपका लागि खुला आमन्त्रणको नीतिमा उत्रिएका छन् । नेपालको राजनीति हामी आफैँ सम्हाल्छौँ भन्नु पर्नेमा राजदूत गुहार्ने काम भइरहेको छ ।

यतिबेला सर्वत्र ओली अलोकप्रिय छन् । उनकै दलभित्र कुर्सी छोड्न तीव्र दबाब परिरहेको छ । तर ओली कुर्सी छोड्न तयार छैनन् । सन् २००१ मा मैले खुलामञ्चमा भाषण सुनिरहँदा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल पनि प्रमुख वक्ताको रूपमा त्यहाँ आसीन थिए । ओलीका भनाइमा उनले पनि ताली बजाइरहेका थिए । अहिले माधव नेपाललाई सम्झना होला कि नहोला ! सम्झिहाले भने उनी भन्दा हुन्- 'जापानमा त मोरीले विश्वास गुमेपछि राजीनामा गरेका थिए । जति गरे पनि हाम्रो 'मोरा'ले चाहिँ कुर्सी नछोड्ने भए बा ! ओलीलाई त त्यो आफ्नै भाषण सम्झना होला भन्ने अनुमान गर्न सकिन्न । तर त्यो भाषण नसुनेका प्रचण्ड भने सोच्दै होलान्- 'ओली साह्रै जिद्दी रहेछन् । कुर्सीमा टाँसिइरहने !'

खड्का nepalflash.com का सम्पादक हुन् ।

कस्तो लाग्यो ?

यो पनि