चैत १५, २०८०, बिहीबार
               

मच्छिन्द्रनाथको रथारोहण आउँदो बुधबार

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण यही  असार २४ गते बुधबार हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो ।
    सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बज्राचार्यले बताए । उनले भने, “हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।”

सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको पुजारी बज्राचार्यले जानकारी दिए । 

जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र  स्थानीय व्यक्तिले विशेष  पहल गरेका छन् । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लागिसकेको छैन । 

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौ‌ं उपत्यकाको सबैभन्दा लामो रथयात्रापछि भोटो जात्रा हुन्छ । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि रिसले उनले पशुपति मृगस्थलीमा नवनागलाई आफ्नो आसन बनाएका थिए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडाैंका राजा बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षाबाट नेपाल ल्याएका थिए । 

यो पनि