बैशाख १३, २०८१, बिहीबार
               

गुरु पूर्णिमाको महत्त्व र गुरुको महिमा

आकाश शर्मा
असार २१, २०७७

ADVERTISEMENT

सनातन संस्कृतिमा हजारौँ वर्ष अगाडि नै गुरु शिष्य परम्परा अर्थात् गुरुबाट शिष्यमा ज्ञान प्रदान गर्ने अटुट परम्परा चल्दै आइरहेको छ । गुरु बिना जीवन निरर्थक छ, श्रीगुरूदेवले आफ्नो ब्रह्म ज्ञानको माध्यमले आफ्ना शिष्यहरूको जीवनबाट अज्ञानतारूपी अन्धकारलाई दूर गरी ज्ञानरूपी प्रकाशको सञ्चार गरिदिनुहुन्छ । यस संसारसँग परिचय गराइ, राम्रो - नराम्रो मा फरक देख्न सिकाइ, अथाह भवरूपी यस संसारमा सामान्य मानव भन्दा शिष्यहरूको बेग्लै अस्तित्व बनाइदिएर शिष्यका समस्त दोषहरूलाई निकाली सु - विचार कायम गरिदिने यस्ता तारक ब्रह्म श्रीगुरूदेव भगवानलाई बारम्बार नमन ।

आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ । यस दिन गुरु पूजनको विधानको दिन हुन्छ । गुरु पूर्णिमा वर्षा ऋतुको प्रारम्भमा नै पर्दछ । गुरु पूर्णिमाको दिनदेखि चार महिनासम्म परिव्राजक साधु - सन्त एकै स्थानमा रहेर अथाह ज्ञानको गंगा बगाइरहेका हुन्छन् । यो चार महिना मौसमको दृष्टिकोणले पनि सर्वश्रेष्ठ हुन्छ । न धेरै गर्मी न धेरै सर्दी । यस कारणले यो चार महिनालाई अध्ययनको लागि पनि उपयुक्त मानिन्छ । जसरी सूर्यको तापबाट तापिएको भूमिलाई वर्षाको माध्यमबाट शीतलता एवं अन्न, वनस्पति आदि उत्पादन गर्न शक्ति मिल्दछ । त्यसैगरी गुरु चरणमा उपस्थित साधक - शिष्यहरूलाई ज्ञान, शान्ति, भक्ति अनि आध्यात्मिक उर्जा प्राप्त गर्नको लागि उर्जा मिल्दछ ।

यस दिन महाभारतका रचयिता कृष्ण द्वैपायन महर्षि व्यासको जन्मदिन पनि हो । व्यासको शाब्दिक अर्थ "सम्पादक" हुन्छ । वेदका व्यास यानि विभाजन पनि सम्पादनकै श्रेणीमा आउँदछ । कथावाचक शब्द पनि व्यासको पर्यायवाची शब्द हो । कथावाचन पनि देश, काल, परास्थिती अनुरूप पौराणिक कथाको विश्लेषण पनि सम्पादन नै हो । महर्षि व्यासले वेदलाई अलग - अलग खण्डमा बाँडेर ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, नाम राखी दिनुभयो । यसरी वेदलाई विभाजित गर्नु भएको कारणले गर्दा उहाँ महर्षि वेद व्यासको नामले प्रसिद्ध हुनु भयो । महर्षि वेद व्यासले अठार पुराण अनि उप - पुराणहरूको पनि रचना गर्नु भयो । ऋषिहरूको खण्डित भइसकेको अनुभवलाई समाज भोग्य बनाई व्यवस्थित गर्नुभयो । महर्षि वेद व्यासले पंचम वेद महाभारतको लेखन कार्यको शुभारम्भ पनि यसै आषाढ शुक्ल पूर्णिमाकै दिनबाट गर्नुभयो अनि विश्वकै सुप्रसिद्ध आर्ष ग्रन्थ ब्रम्हसुत्रको लेखन कार्यको शुभारम्भ पनि यसै दिनबाट भयो । तब देवी देवताहरूबाट महर्षि व्यासको पूजन भए पश्चात् व्यास पूर्णिमा अर्थात् गुरु पूर्णिमा मनाउने परम्परा रही आएको छ । व्यास जयन्ती नै गुरु पूर्णिमा हो ।

गुरु गोविंद दोउ खडे, काके लागू पाये ।
बलिहारी गुरु अपने गोविंद दियो मीलाये ।।

शास्त्रमा गुरुलाई गोविन्द भन्दा पनि उच्च स्थानमा राखिएको छ । अटुट रूपमा चलिआएको गुरु परम्परालाई ग्रहण लगाउने वाला त जसले आफूलाई धर्मगुरुको ट्रेड मार्क लगाएर धर्मको आडमा धन्दा चलाउने अनि धर्म मा अधर्म वृत्ति गराउने वाला कालनेमीहरू हुन् ।

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर:
गुरु साक्षात् परब्रम्ह तस्मै श्रीगुरवे नमः

गुरुलाई नै ब्रह्मा, विष्णु, महेश्वरको रूपमा स्विकारिएको छ अनि ब्रह्मा, विष्णु, महेश भन्दा पनि माथि गुरुलाई साक्षात् परब्रम्ह भनिएको छ ।

श्रीगुरूदेवलाइ ब्रह्मा भनिएको छ किनभने गुरूदेवले शिष्यको भविष्य बनाउनु हुन्छ । श्रीगुरूदेवलाइ विष्णु भनिएको छ किनकि गुरूदेवले शिष्यको पालन अनि रक्षा गर्नुहुन्छ । श्रीगुरूदेवलाइ महेश्वर भनिएको छ किनभने गुरूदेवले शिष्यहरूको खराब पक्ष एवं विकारहरूको संहार गर्नुहुन्छ र ज्ञानमय प्रकाश ( सत्बुद्धी ) प्रदान गर्नुहुन्छ वा भनौँ गुरूदेवले शिष्यहरूको दुर्गुण हटाएर सत्मार्गको राजमार्गमा हिँडाउनु हुन्छ । गुरुलाई साक्षात् परब्रम्ह भनिएको छ किनकि अन्ततः साधक - शिष्यलाई ब्रह्म साक्षात्कार गराइ मोक्षको अधिकारी बनाइदिनु हुन्छ ।

गुं रौतीति गुरूः । जसले ज्ञानरूपी प्रकाशको माध्यमबाट अन्धकारलाई हटाइदिन्छ उसको नाम गुरु

गृणाति ज्ञानं इति गुरूः । जसले ज्ञान प्रदान गर्दछ उसको नाम गुरु

गिरति अज्ञानं इति गुरूः । जसले माया ( अज्ञान )बाट निवृत्ति गराइ ज्ञान रूपी उज्यालो तर्फ लैजान्छ उसको नाम गुरु ।

अर्थात् जो दुःखको निवृत्ति गराउन समर्थ होस, परमानन्द प्राप्ति गराउन समर्थ होस, मायाको निवृत्ति गराउन समर्थ होस, अनि भगवत प्राप्ति गराउन समर्थ होस उसलाई नै गुरु भनिन्छ ।

आषाढ पूर्णिमा नै किन गुरु पूर्णिमा त ?

आषाढ पूर्णिमा नै चुनिनको पछाडि गहिरो अर्थ लुकेको छ । श्रीगुरूदेव त पूर्णिमाको चन्द्रमाकै भाँती प्रकाशमान हुनुहुन्छ । अनि शिष्य आषाढ महिनाको बादलको भाँती । आषाढमा चन्द्रमा बादल द्वारा घेरिएको हुन्छ, जसरी बादलरूपी शिष्यहरू श्रीगुरूदेवका वरिपरि हुन्छन् । शिष्यहरू हर तरहका हुन सक्दछन्, जन्मौँ जन्मको अन्धकारलाई लिएर हर तरफ छाइरहेका हुन्छन् कालो अँध्यारो बादलको भाँती तर त्यस अँध्यारोले घेरिएको वातावरण मा पनि श्रीगुरूदेव शिष्यहरूलाई चन्द्रमाकै भाँती प्रकाश जगाउनु हुन्छ । त्यही भएर गुरूपदको श्रेष्ठता रही आएको छ । यसै कारण आषाढ महिनामा गुरु अनि शिष्य दुवैलाई चन्द्रमा अनि बादलको रूपमा इसारा गरिएको छ । यो इसाराले यस कुराको ज्ञान प्रदान गर्दछ कि जहाँ गुरु र शिष्यको मिलन हुन्छ तब मात्र त्यहाँ कुनै सार्थकता हुन्छ । यसै कारण आषाढ महिनामा गुरु पूर्णिमाको महत्त्व छ ।

गुरुको द्वार

जुन द्वारमा जाँदा हामीलाई शान्ति मिल्छ, प्रश्न नै नगरी मनमा उब्जेका हरेक प्रश्नको उत्तर मिल्छ, अनायासै आँखाबाट अश्रुधारा निस्किन्छन्, जीवनका सबै नै अभिलाषा पूर्ण भए भन्ने भाव आउँछ जुन द्वारमा पुग्नासाथ पवित्रता आफैँ आउँछ त्यही नै गुरुको द्वार हो । हामी केवल आफ्नो श्रीगुरूदेव द्वारा मात्र परमात्मालाई साक्षात्कार गर्न सक्छौ । यदि हाम्रो लागि साक्षात् परमात्मा कोही यो धर्तीमा हुनुहुन्छ भने त्यो केवल हाम्रो श्रीगुरूदेव मात्रै हुनुहुन्छ ।

गुरुको महत्त्व

त्वं पिता त्वं च मे माता
त्वं बन्धुस्तस्त्वं च देवता ।
संसार प्रतिबोधार्थं
तस्मै श्रीगुरवे नमः ।।।।।।

आफ्ना शिष्यहरूका लागि माता, पिता, बन्धु, इष्ट अनि जसको स्वरूप एक मात्र केवल सत्यको स्वरूप हो, यस्ता चेतनारूपी सत्यस्वरूपा तारक ब्रह्म श्रीगुरूदेवलाइ कोटी कोटी नमन ।।।

जसका वचन महामोहरूपी घना अन्धकारलाई नाश गर्नको लागि सूर्य का किरणहरू जस्तै छन्, जो कृपाका समुन्द्र अनि नररूपमा साक्षात् श्रीहरि नै हुनुहुन्छ । यस्ता श्रीगुरूदेव भगवानको श्रीचरणकमलमा कोटी कोटी नमन, प्रभूलाइ बारम्बार नमन ।।।

सद्गुरु एक देहधारी शब्द मात्र हो, जसरी दर्पणमा हाम्रो आफ्नो स्वरूप स्पष्ट देखिन्छ त्यस्तै सन्त सद्गुरु को देह पनि त्यो दर्पण हो जसमा परमात्माको प्रत्यक्ष दर्शन हुन्छ ।

श्रीगुरूदेव नै त्यो परम ज्योति हुनुहुन्छ, जो मानव जीवनको अध्यारोलाइ दूर गर्नुहुन्छ । यही दिव्य प्रकाशले नै मानव चेतना प्रकाशित भइरहेको हुन्छ । मानवलाई महामानव, देवमानव, बनाउँदै अमात्यमा ब्रह्मको अनुभूति दिनेवाला परम कृपालु गुरु नै हुनुहुन्छ । यस्ता अनन्त गुणका खानी उनै सद्गुरुदेव भगवान्लाई बारम्बार नमन ।

गुरु र ईश्वरमा केही पनि फरक छैन। त्यसैले गुरुलाई सगुन ईश्वर पनि भनिन्छ। ' गु ' अर्थात् अन्धकार र ' रू ' अर्थात् निवारक । जसले अज्ञानरूपी अन्धकारको निवारण गर्छ त्यसलाई गुरु भन्छन् । यसकारण गुरुलाई मनुष्यवत् सम्झनु हुँदैन । गुरूनै कर्ता, गुरूनै विधाता भएकाले गुरु सन्तुष्ट हुँदा सबै देवी देवता र स्वयम ईश्वर पनि प्रसन्न हुन्छन् । गुरुका दुई अक्षर जिब्रामा छन् भने कुनै शास्त्र अध्ययनको आवश्यकता पर्दैन । 'ग', ' उ ' अनि ' र ' तिन अक्षरहरूको संयोगबाट गुरु शब्द बनेको हुन्छ । ' ग ' वर्णको उच्चारणले महापाप नष्ट हुन्छ, ' उ ' वर्णको उच्चारणले यस जन्मको पाप नष्ट हुन्छ, अनि ' रू ' वर्णको उच्चारणले पूर्वजन्मको पाप नष्ट हुन्छ। शिष्यहरूका लागि गुरु नै मातापिता, बन्धुबान्धव, देवता अनि एकमात्र गति प्रदायक हुन्छन्।

गुरु - शिष्य सम्बन्ध ।।

चराचर जगत मा सबै भन्दा श्रेष्ठ गुरु - शिष्य सम्बन्ध ।।

सम्बन्ध त धेरै हुन्छन् तर यस जगतमा गुरु - शिष्य को सम्बन्ध आफैमा अद्वितीय एवं पूजनीय छ । एक सामर्थ्य गुरु पाएर न केवल शिष्य खुसी हुन्छ, अपितु एक निष्ठावान शिष्य पाएर एक गुरु पनि स्वयम्लाई कृतज्ञ सम्झिनुहुन्छ । अनौठो अनि अति श्रेष्ठ र प्रेम नै प्रेमले भरिएको छ यो गुरु शिष्य को सम्बन्ध पनि ज्ञान शिष्यले ग्रहण गर्दछ तर परीक्षा गुरुको हुन्छ । शिष्यसँग हार्नमा पनि जीत गुरुकै हुन्छ । बन्धन यस्तो छ कि जसमा बाँधिएर शिष्य सदाको लागि मुक्त हुन्छ । शिष्य परीक्षा दिँदा दिँदै आफू काबिल बन्छ अनि गुरु ज्ञानको भण्डार नै रित्तिने गरी शिष्यलाई ज्ञान दिँदा दिँदै पनि पूर्ण भएर भरिनुहुन्छ र ज्ञान बाँड्दा बाँड्दै पनि ज्ञानको अथाह सागरले पूर्ण हुनुहुन्छ । अद्भुत छ यो गुरु - शिष्यको सम्बन्ध ।

सामान्यतया गुरु - शिष्य अलग - अलगदेखिन्छन । तर जब गुरुको प्रति शिष्यको प्रेम ऐहिक स्वार्थ रहित हुन्छ तब गुरुको आत्मा र शिष्यको आत्मा एकै हुन्छन् ।

गुरु दक्षिणा (भेट)

आसन शयनं वस्त्रं वाहनं भूषणादिकम् ।
साधकेन प्रदातव्यं गुरूसन्तोषकारणम् ।।

अर्थात : - साधकहरूमा त्यो भाव हुनु पर्दछ कि आफ्नो श्रीगुरूदेवको प्रशन्नताको लागि आसन, बिस्तरा, वस्त्र, आभूषण, वाहन आदि आफ्नो श्रीगुरूदेवलाइ समर्पित गरौँ ।

भावार्थ : - श्रीगुरूदेवबाट ज्ञान प्राप्त गर्न साधक - शिष्यहरू का लागि समर्पणको प्रथम आवश्यकता रहन्छ । आफ्नो सर्वस्व श्रीगुरूदेवलाइ समर्पित गरिदिनु, आफ्नो मनको समर्पण, बुद्धिको समर्पण, आफ्नो इच्छा, कामना, वासनाको समर्पण तथा आफ्नो अहङ्कारको पनि सम्पूर्ण रूपमा श्रीगुरूदेवमा समर्पण गर्दा मात्र त्यो शिष्य ज्ञानको योग्य पात्र बन्दछ ।

अन्त्यमा

गुरु पूर्णिमा नित करे, सदा नवाए माथ ।
उपकारी गुरु सा नहीँ, गुरु मेरे रघुनाथ ।।

हामीले गुरु पूर्णिमाको महोत्सव नित्य मनाउनु पर्दछ । अनि आफ्नो चित्तलाई श्रीगुरूदेवको चरणमा नित्य निरन्तर लगाउनु पर्दछ । श्रीगुरूदेवनै एक मात्र सर्व सामर्थ्य परमात्मा हुनुहुन्छ । शिष्यका लागि श्रीगुरूदेव भन्दा उपकारी अरू कोही पनि छैन ।

गुरु पूर्णिमा बडो श्रद्धा पूर्वक, दिव्य - भव्य अनि धूमधामका साथ मनाइन्छ । प्राचीन कालमा शिष्यहरू गुरुको आश्रममा शिक्षा ग्रहण गर्दथे तब गुरु पूर्णिमाको दिन श्रद्धा भावबाट प्रेरित भएर आफ्ना गुरुको पूजन गरी आफ्नो शक्ति अनि सामर्थ्य अनुसार दक्षिणा दिएर कृतकृत्य हुन्थे । आज पनि गुरु पूर्णिमाको महत्त्व कम भएको छैन । पारम्परिक रूपमा चलेका गुरुकुल, आश्रम, संगीतकलाका शिष्य, साधकहरू अनि भक्तहरू आफ्नो गुरु प्रति कृतज्ञता व्यक्त गर्न, गुरुलाई पूजन एवंसम्मान गर्न एवं आफ्नो शिष्य धर्म पालन गर्न आज पनि गुरु पूर्णिमाको दिन को प्रतीक्षामा हुन्छन् । गुरु पूर्णिमा एवं व्यास जयन्तीको यस पावन दिनमा मन्दिरमा पूजा, पवित्र नदिमा स्नान, ठाउँ - ठाउँमा भण्डारा अनि मेला पनि लाग्ने गरेको छ ।

भगवान् भोलेनाथ स्वयम् भन्नुहुन्छ यदि शिव स्वयम् क्रोधित हुनुभयो भने आफ्ना शिष्यहरूलाई भगवान् को क्रोधबाट रक्षा गर्न सद्गुरुदेव सामर्थ्य हुनुहुन्छ । परन्तु यदि सद्गुरुदेव नै रुष्ट हुनुभएको अवस्थामा महारुद्र शिव पनि उस व्यक्तिको रक्षा गर्न असमर्थ हुनुहुन्छ । त्यसैले आफूले हर तरहको कोसिस गरेर पनि श्रीगुरूदेवको शरणमा जानु पर्दछ । श्रीगुरूदेवको श्रीचरणकमलको महिमा मन, वाणी, चित्त वा इन्द्रिय ज्ञान भन्दा एकदम नै पृथक् छ । श्वेतपत्र - अरुण प्रभा युक्त श्रीगुरू चरणकमल नै परम शिव वा परा शक्तिको सहज वासस्थान हो ।

यदि कोही साधक "गुरु भक्ति योग"लाई बुझ्न सक्छ भने पल भरको लागि पनि गुरुदेवको भक्ति अनि गुरुदेवको छवि उस साधक - शिष्य को हृदयबाट विस्मृति हुन सक्दैन अनि गुरुदेवको भक्ति बिना, गुरुदेवको सेवा बिना, ज्ञान बिना साधक पल भर पनि रहन सक्दैन । आदि गुरु भवान शंकर भन्नुहुन्छ संसारमा सबै भन्दा दुर्लभ मनुष्य तनको प्राप्ति हुनु, यस भन्दा पनि दुर्लभ व्यक्तिलाई धर्मको बारेमा जान्ने, बुझ्ने, सम्झिने जिज्ञासा प्रकट हुनु, अनि यस भन्दा पनि दुर्लभ जीवलाई ब्रह्म, आत्मा, परमात्मा सम्बन्धी जिज्ञासा प्रकट हुनु, अझ यस भन्दा पनि दुर्लभ व्यक्तिलाई गुरु प्राप्त हुनु, अझ गुरु प्राप्ता भन्दा पनि दुर्लभ सद्गुरु प्राप्त हुनु, एकदम नै दुर्लभ सद्गुरुको साथ शब्दी सद्गुरु को प्राप्ति हुनु, यो भन्दा पनि दुर्लभ हो शिष्य सद्गुरुदेवमा अद्वैत हुनु हो ।

सम्पूर्ण गुरु भक्त, भगवत भक्त, भगवान् नाम प्रेमी अनि साधकज्यूहरूमा गुरु पूर्णिमा २०७७ सालको हार्दिक मंगलमय शुभकामना !!!

लेखक कला, धर्म-संस्कृतिको क्षेत्रमा रुची राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि