बैशाख ०८, २०८१, शनिबार
               

दुर्घटनामा परेर काठमाडौंमा १४५ जनाको मृत्यु

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६–०७७ मा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको हो । जसमा ११७ पुरुष र २८ महिला रहेका छन् । यस्तै, २२९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १९५ सामान्य घाइते भएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी रहेका छन् । जसमा ६ हजार ६३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । यस्तै, ६ हजार २२० कार–भ्यान–जीप, दुई हजार ३३ बस, एक हजार ६३२ ट्रक–टिपर, २६७ माईक्रोबस, १४५ टेम्पो र १३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन् । 

दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट छ, टिपरबाट तीन र कारबाट तीनजनाको मृत्यु भएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताए । ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनले भने । 

चालकको लापर्वाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्रगति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा गत वर्ष सवारी दुर्घटनाका कारण २५४ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा हाल सानाठूला १२ लाख तथा देशभर झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि