बैशाख १३, २०८१, बिहीबार
               

‘पहुँचवाला’ बस्दैनन् क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

नेपालगञ्ज– नेपालगञ्जमा ‘पहुँचवाला’ व्यक्ति क्वारेन्टाइनमा नबस्ने गरेको पाइएको छ ।

भारतबाट फर्किएका नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भनिए पनि नेपालगञ्जमा पावर लगाएर सेल्फ क्वारेन्टाइनका नाममा भारतबाट आएका नेपालीलाई घर लैजाने गरेको पाइएको हो ।

नाकामा रहेको होल्डिङ सेन्टर वा क्वारेन्टाइनमा पावर लगाउन जाने प्रायः जनप्रतिनिधि र नेताहरु रहेका छन् । कतिपय चिनेजानेकालाई क्वारेन्टाइनको सुरक्षामा रहेका सुरक्षाकर्मीले छोडिदिने गरेका छन् ।

भारतबाट फर्किएका नेपालगञ्ज निवासीलाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राख्ने गरिन्छ । प्रायः जनप्रतिनिधिहरु क्वारेन्टाइनमा पुगेर होम क्वारेन्टाइनमा राख्ने बाचा गर्दै आफ्ना मान्छेलाई लैजाने गरेकाे पाइएको हो ।

आफ्नो टोलवासीलाई क्वारेन्टाइनबाट घर ल्याउन नजाने वडाध्यक्षलाई दबाब दिने गरिएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले भने, ‘भारतबाट फर्किएकालाई सिधै घरमा ल्याउनुपर्‍यो । तपाई हिँड्नुस्, भनसुन गर्न भनेर धेरै दबाब आइरहेको छ । भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्ने सरकारको नीति रहेको छ । म कसरी उनीहरुलाई घरमा ल्याउन जाऊँ?’

भारतबाट फर्किएकालाई १४ दिन क्वारेन्टिनमा राख्ने, आरडीटी जाँच गर्ने र नेगेटिभ आएकालाई तत्काल घर पठाउने गरिन्छ । आरडीटी पोजिटिभ आएकालाई पीसीआर जाँच गरिन्छ। पीसीआर नेगेटिभ आएकालाई तत्काल घर पठाइन्छ । पीसीआर पोजिटिभ आएकालाई पनि १४ दिनपछि पुन: परीक्षण नगरी घर पठाउने गरिएको छ ।

बाँकेमा हालसम्म ३ सय ६३ जना कोरोना संक्रमित भएका छन्। आइसोलेसन सेन्टरमा २५ जना बसेका छन्। शुक्रबार १४ जनासहित अहिलेसम्म तीन सय ३७ जना डिस्चार्ज भएका छन् बाँकेमा कोरोनाबाट हालसम्म दुई जनाको मृत्यु भएको छ।

पछिल्लो दिनमा भारतबाट फर्किनेको संख्या घट्दै गएको छ। जसले गर्दा क्वारेन्टिन र आइसोलेसन सेन्टरको चाप घटेको छ।


कस्तो लाग्यो ?

यो पनि