बैशाख १३, २०८१, बिहीबार
               

गम्भीर संकटमा नेकपा
छापामा शैलीमा संसद अधिवेशन अन्त्यपछिका ओली विकल्प

ADVERTISEMENT

काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । उता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए । आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर ओलीले केही न केही कपट गर्नेवाला छन्,’ यस्तै सोच्दै थिए, बालुवाटारमा ओलीइतर पक्षका नेताहरु । यत्तिकैमा निर्णय आयो ‘सरकारले संसद अधिवेशन अन्त्य गर्नै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गर्‍याे ।’

छापामार शैलीमा सरकारबाट भएको संसद स्थगितको प्रस्ताव सोभन्दा अझ द्रूत गतिमा राष्ट्रपति कार्यालयमा पुग्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सो प्रस्तावलाई छापामार शैलीमै स्वीकृत गरिन् । लगत्तै संसद सचिवालयसमेत शितल निवासमा संसद स्थगितको प्रस्ताव स्वीकृत हुनासाथ सु्चना टाँस गर्‍याे । सभामुख अग्नि पासकोटाले भने कुनै सुइको नै पाएनन् ।

संसद अधिवेशन अन्त्यपछि स्थायी कमिटीका नेताहरू थप सशंकित र आक्रोशित भए । लगत्तै प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले कुरा बुझ्ने भन्दै केहीबेरका लागि स्थायी कमिटी बैठक स्थगन गरियो । बैठक स्थगन गरेर प्रचण्ड तुरुन्तै शितलनिवास पुगे । गएको बैशाख ८ गते ओलीले ल्याएका ‘राजनीतिक दल विभाजन सम्बन्धी विधेयक’ फेरि व्यूताउने त हैन’ भन्ने प्रचण्डलाई शंका थियो । नत्र थुपै विचाराधीन विधेयक हुदाँहुँदै चलिरहेको संसद स्थगन गर्नु रहस्यमय थियो ।

प्रचण्डले राष्ट्रपतिलाई पार्टी एकतालाई प्रभावित पार्नेगरी त्यस्ता विधेयक आएका स्वीकृत नगर्न अनुरोध गरे । गएको बैशाखमा विधेयक आउँदा पार्टी विघटनको संघारमा पुगेको विषय स्मरण गराए । ‘कुनै पनि विधेयक नआएको र त्यस्तो विधेयक आएमा पार्टी एकतालाई प्रभावित पार्ने किसिमबाट आफू अगाडि नबढ्ने’ राष्ट्रपति भण्डारीले प्रचण्डलाई विश्वास दिलाइन् । सो खबर लिएर प्रचण्ड पुन: वालुवाटार पुगे । स्थायी कमिटि फेरि सुरु भयो ।

नेकपामा गम्भीर संकट पैदा 

ओलीले पार्टीको बुधबार बेलुका ललितपुरको झम्सीखेलमा सम्पन्न ३० नेताहरूको भेलाले प्रधानमन्त्रीले आफूहरूको निर्णय मान्नु पर्ने ठहर गरेका थिए । सो भेलालाई प्रधानमन्त्रीले आफूमाथिको घेराबन्दीको रुपमा बुझेका थिए । त्यसपछि बिहीबार बिहान ओलीले आफ्ना केही निकटवर्ती नेताहरुलाई प्रचण्डसँग छलफल गर्न खुमलटार पठाएका थिए ।

छलफल दुई अध्यक्षबीचको सम्वादबाटै पछिल्लो संकट समाधानको प्रयास गर्ने भन्नेमा केन्द्रित थियो । तर प्रधानमन्त्री ओलीले अचानक संसद अधिवेशन अन्त्य गरेपछि प्रचण्ड झस्किएका थिए । त्यसपछि पार्टी स्थायी कमिटी बैठक शनिबारका लागि सारिएको थियो ।  दुई अध्यक्षबीच शुक्रबार छलफल गर्ने र समाधान खोजिने भन्दै बैठक स्थगन गरिएको नेताहरुले बताएका छन् । 

बैठकले पार्टी एकतामा गम्भीर संकट पैदा भएको निष्कर्ष निकालेको छ । बालुवाटारमा बिहीबार बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्नुहुनेछ । त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

अब के होला ?

प्रधानमन्त्री ओलीले अचानक संसद अधिवेशन अन्त्य गरेपछि ओली र प्रचण्डबीचको दुरी झनै बढेको छ । साथै वरिष्ठ नेताहरु माधवकुमार नेपाल बामदेव गौतम, झलनाथ खनाललगायत नेताहरु थप सशंकित र आक्रोशित छन् । यद्यपि पार्टीमा अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने दवावबीच ओलीले यस्तो निर्णय लिन बाध्य हुनुपरेको उनी निकट नेताहरु बताउँछन् ।

गत बैशाखमै ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष एक पद छाड्न विकल्प दिइएको थियो । त्यो बेलामा पनि आफ्नो पद धरापमा पर्न लागेको सुइको पाएपछि दल विभाजन सम्बन्धी अध्यादेश हतारमा ल्याएका थिए । चर्काे विवादपछि त्यो फिर्ता गरेका थिए । अझै पनि ओलीलाई दुबै पद छाड्नुपर्ने निर्णय पार्टीमा बहुमतले गराएमा अध्यादेश ल्याएर पार्टी विभाजन गराउने उनको तयारी देखिएको जानकारहरु बताउँछन् । तर त्यो अलोकप्रिय र खतरापूर्ण बाटोभन्दा आफूइतर पक्षलाई विश्वासमा लिन प्रयत्न गर्नुपर्ने विश्लेषकहरुको सुझाव छ ।

वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन् ‘प्रधानमन्त्रीसमक्ष पहिलो विकल्प भनेको गल्तीको क्षमायाचनासहित स्थायी कमिटी बैठकबाटै पार्टीलाई विश्वासमा लिने, पार्टीमा छलफलपछि मात्रै महत्वपूर्ण निर्णयहरु गर्ने प्रतिवद्धता जनाउने, यसो गर्दा पार्टीले उनलाई अन्तिम मौका दिनुपर्छ ।’

त्यसका लागि प्रधानमन्त्री सरकारको काममा मात्र केन्द्रित हुने पुरानै एजेन्डा पनि चर्चामा आइरहेको छ । प्रचण्डले पार्टी सञ्चालन गर्ने र सरकारका महत्वपूर्ण नियुक्ति तथा मन्त्री मुख्यमन्त्रीको हेरफेरमा माधवकुमार नेपालसमेतको सल्लाहमा गर्ने विकल्प कतिपय नेताहरुले सुझाउँदै आएका छन् ।

ओलीलाई पार्टी र सरकार दुवैको नेतृत्वबाट पाखा लगाउनेमा स्थायी कमिटीमा अध्यधिक बहुमतमा रहेको प्रचण्ड-नेपाल समूह पुगेको छ । ओली भने यतिबेला कम्तीमा एक पद सुरक्षित गराउन चाहन्छन् ।

ओलीलाई अन्तिम मौका एक पद मात्र 

ओलीलाई दुबै पदबाट हटाउन खोज्दा पछिल्लो परिस्थिति आएकोले उनलाई कुनै एक पदमा मात्र बस्न रोज्ने मौका दिनुपर्ने वरिष्ठ पत्रकार तथा विश्लेषक आनन्दराम पौडेल बताउँछन् । ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हट्न दबाव दिइएकाले ओलीले ससद स्थनसम्म गराए । दुबै पक्षको इगो बढाउनुभन्दा अध्यक्ष वा प्रधानमन्त्री माधव नेपाललाई सुम्पने अन्तिम अवसर दिनुपर्छ,’ पौडेल भन्छन् । प्रधानमन्त्री ओलीले यसअघि पनि पटक–पटक धोका दिइसकेकाले यसपटक वार कि पार गर्ने पक्षमा प्रचण्ड–माधव पक्षका नेताहरु देखिएका बताइन्छ । 

ओली कमीकमजोरीको क्षमायाचना गर्दै दुबै पद छाड्न तयार नभए विभाजनको अवस्थामा पार्टी पुग्ने नेता नेपाल निकट नेताहरुको चेतावनी  छ । नेता नेपाल निटक नेता झपड रावलले भने ‘एकतालाई मजबुत बनाउने सबैको कर्तव्य हो । ओलीज्यूले मान्नुभएन भने पार्टी जेठ ३ अघिको अवस्थामा पुग्छ । शीर्ष नेताहरुबीचको असमझदारी मिलाउन प्रधानमन्त्री लचिलो हुनैपर्छ ।’

तर पार्टीमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई निर्णय गरेर ओलीलाई हटाउन खोजेमा एकता भंग हुने ओली निटक नेताहरुको चेतावनी छ । ओली निटक एक नेता केशव बडाल भन्छन् ‘पार्टी बैठकमा प्रधानमन्त्रीविरुद्ध अमर्यादित शैलीमा होच्याउने, अपमान गर्ने भएर यो स्थिति आयो । प्रधानमन्त्रीको कार्यशैली सुधार गर्नुपर्छ भन्नेहरुले आफ्नो शैली पनि सुधार्नु पर्छ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि